काभ्रे । जिल्लाको व्यस्त सडकको रूपमा रहेको बनेपा–पनौती सडक खण्ड कालोपत्रे हुने भएपछि सडक आसपासका बासिन्दा र सडक प्रयोगकर्ताहरू खु्सी भएका छन् । सडक कालोपत्रेका लागि बजेट विनियोजन भएसँगै वर्षौंदेखि जीर्ण बन्न पुगेको उक्त सडक खण्ड कालोपत्रे हुनेपछि सर्वसाधारण खुसी भएका हुन् । पनौतीका स्थानीयबासी रामकुमार बस्नेतले वर्षौंदेखि जीर्ण अवस्थामा पुगेको बनेपा–पनौती सडक कालोपत्रे हुने खबर पाएको भन्दै खुसी व्यक्त गरे । उनले सडकमा नाली बनाउने, सडक बिस्तार गर्ने, कल्भर्ट राख्ने क्रममा सडक बिग्रिएको र केही दिनअघि सडक कालोपत्रे हुने खबर सुन्दा खुसी भएको बताए । ‘सडकमा वर्षामा हिलो र हिउँदमा धुलो हुँदा सडक प्रयोगकर्ता र सडक आसपासका सर्वसाधारणमा आजित थिए, अब कालोपत्रे हुने भएपछि सबै खुसी हुनुभएको छ’, बस्नेतले थपे । उनले सडक कालोपत्रे भएपछि यात्रा गर्न सहज हुनुको साथै सडक आसपासका घरमा पुग्ने धुलो कम हुने बताए ।
पनौती नगरपालिका–४ का विशाल तिमल्सिनाले सडक कालोपत्रे भएसँगै सडकमा यात्रा गर्न सहज हुने बताए । ‘सडक कालोपत्रे नहुँदा हिलो र धुलोको धेरै समस्या थियो, कालोपत्रे भएपछि अब यो समस्या समाधान हुनेछ’, उनले थपे । उनले सडक कालोपत्रे भएसँगै पनौतीबाट बनेपा, धुलिखेल तथा काठमाडौं काम गर्न जानेहरूलाई समेत समयको वचत हुने बताए । काभ्रेको पनौती नगरपालिकाका नगरप्रमु्ख भीमप्रसाद न्यौपानेले सडक कालोपत्रे गर्नका लागि सरकारले बजेट विनियोजन गरेको बताए । उनले बजेट विनियोजन भएसँगै वर्षौंदेखि बिग्रिएको उक्त सडक कालोपत्रे हुने बताए । ‘केही वर्षअघि कालोपत्रे गरिएको सडक जीर्ण बन्दा सडकमा यात्रा गर्ने यात्रुहरू तथा चालक तथा सडक आसपास रहेका स्थानीयबासी पीडित हुनुभएको थियो, अब सडक कालोपत्रे भएपछि यी सबै समस्याको समाधान हुने विश्वास लिएको छु’, नगरप्रमुख न्यौपानेले बताए । उनले बनेपा–पनौती सडक खण्ड कालोपत्रे गर्नका लागि १६ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको बताए ।
सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर जयराम अधिकारीले बनेपा–पनौती सडक खण्डको कालोपत्रे हुने अनौपचारिक जानकारी प्राप्त भए पनि कार्यालयलाई सडक कालोपत्रे गर्ने औपचारिक कुनै पत्र नआएको बताए । ‘बनेपा–पनौती सडक कालोपत्रे गर्नका लागि बजेट विनियोजन भएको कुरा आएको छ, कार्यालयमा निर्णयको पत्र आएको छैन, सडक कालोपत्रे गर्ने विषयमा डिजाइन गर्नका लागि बुधबार डिजाइन टोली जाँदै छ’, उनले भने । उनले असार मसान्तसम्म सडक कालोपत्रे गरिसकिने बताए । अधिकारीले पिचको थिकनेश कति राख्दा सडक बलियो हुन्छ भन्ने विषयमा डिजाइन टोलीले अध्ययन गर्ने बताए ।
उनले बनेपा–पनौती सडक खण्डको ६ किलोमिटर दुरीको सडकमा पक्की नाली, रिटेनिङ वाल र विभिन्न स्थानमा ड्रेन बनाउन काम र सडक बिस्तार गरिएको स्थानहरूमा ग्राभेलिङ गर्ने काम सकिएको बताए । इन्जिनियर अधिकारीले उक्त सडकमा सब–बेस हाल्ने, बेस हालेर कालोपत्रे गर्ने काम बाँकी रहेको बताए । उनले नेपाल विद्युत् प्राधिकरणले सडकमा रहेका बिद्युत्का पोल हटाउने कामसमेत सुरु गरेको बताए । उक्त सडक अहिले ११ मिटरको छ । उक्त सडकमा दैनिक रूपमा सयौँ मालवाहक ट्रिपरहरू ओहोरदोहोर गर्ने भएकोले उक्त सडक कालोपत्रे गरेको केही वर्षमा नै बिग्रने गरेको छ । सडक डिभिजन कार्यालयले सडकमा गुड्ने मालवाहक सवारी साधनलाई लक्षित गर्दै त्यही अनुरुप कालोपत्रे गर्ने सोच बनाएको इन्जिनियर अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया