नारायणी र राप्ती नदीमा जलपंक्षी गणना सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा नारायणी र राप्ती नदीमा जलपंक्षी गणना सुरु गरिएको छ । विश्वभर जनवरी ५ देखि जलपंक्षी गणना गरिने भएपनि चितवन निकुञ्जमा भने विशेष कारणले १० जनवरीबाट गणना सुरु गरिएको हो ।

बर्ड एजुकेशन सोसाइटीको अगुवाइमा भएको चरा गणनामा चितवनको भण्डारादेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को त्रिवेणीसम्मका विभिन्न सिमसारहरुमा जलपछी गणना गरिँदैछ ।

बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरीले विभिन्न नौजना चरा विज्ञलाई टोली नेताका रुपमा चयन गरेर ५० भन्दा बढी गणकहरु चरा गणनामा सहभागी भएको बताए । विश्वव्यापीरुपमा गरिएको चरा गणनाको नेतृत्व ‘वेटल्यान्ड इन्टरनेशन’ले गर्ने भन्दै चौधरीले २७ देशका ६ हजार १०० स्थानमा एकैसाथ जलपछी गणना भइरहेको जानकारी दिए ।

विश्वमा पाइने १७५ प्रजातिका जलपछीमध्ये नेपालका सिमसार क्षेत्रमा १६० प्रजाति गणना गरिएको अध्यक्ष चौधरीले बताए । ‘जलपंछीको विभिन्न १२ वटा प्रजाति सङ्कटापन्नको सूचीमा परेका छन्’, उनले भने, ‘नेपालमा सारससहित तीनवटा प्रजाति संरक्षणको सूचीमा छन् ।’ जलकौवा, चखेवालगायत हाँस प्रजातिहरु नारायणी र राप्ती नदीमा बढी मात्रामा भेटिने गरेको भएपनि यस वर्ष यिनीहरुको सङ्ख्यामा समेत कमी आएको उनको भनाइ छ ।

बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं चराविज्ञ वासु विडारीले नदीका जलाधार क्षेत्रहरुमा प्रदूषण बढ्दै जाँदा जलपछीको सङ्ख्यामा कमी आएको बताए ।

‘शहरीकरणसँगै हाम्रा नदीहरु प्रदूषित बन्दै गइरहेका छन्’, उनले भने, ‘जसको प्रत्यक्ष असर जलपछीहरुमा परेको छ ।’ नदीहरुमा बढ्दै गएको प्रदूषण न्यूनीकरण गर्न नसकेको अवस्थामा नेपालबाटै जलपछीहरु लोप हुने खतरा बढ्दै गएको भन्दै विडारीले बेलैमा सचेत हुनुपर्ने बताए ।

चितवन राष्ट्रिय निकुञ्ज र यसको सिमसार क्षेत्रमा गणना भएका चराहरुको तथ्यांकलाई यस वर्षदेखि स्थानीयरुपमा समेत सार्वजनिक गर्ने गरी काम भइरहेको चराविज्ञ टीका गिरीले बताए ।

अघिल्लो वर्षहरुमा हुने गणनाको रिपोर्ट एकमुष्ट निस्कने गरेको भए पनि यस वर्षदेखि चितवन र यस वरपरको क्षेत्रको तथ्यांक बर्ड एजुकेशन सोसाइटीले समेत सार्वजनिक गर्ने उनको भनाइ छ ।

नारायणी र निकुञ्ज क्षेत्रमा पाइएका चराहरु, यिनीहरुको बासस्थानको अवस्था, संरक्षणका प्रयासबारे सरोकार पक्षसँग अन्तरक्रिया गर्दै संरक्षणमा सबैको साथ लिएर अगाडि बढ्ने तयारी भइरहेको चराविज्ञ गिरीले बताए ।

निकुञ्जले बनाउने घाँसेमैदान एकै प्रकृतिको भएको, चरा विज्ञहरुसँग कुनै पनि छलफल नगरी निर्माण गरिँदा जलमा आश्रित पंछीहरुको बासस्थानमा समस्या हुँदा सङ्ख्या घटेको उनको भनाइ छ ।

आइतबार र सोमबार गरिएको जलपछी गणनामा चखेवा, जलकौवा, गडवाल, कुट, किङफिसर, बकुल्ला, गरुड, भुँडीफोर गरुड, कालो गरुड, स्युइरो ठुँडे हाँस आदि प्रजाति भेटिएको चराविज्ञ गिरीले बताए । विश्वव्यापीरुपमा गरिने गणनानुसार आउने तथ्यांकले जलपंक्षीको संरक्षणका लागि रणनीति तयार गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

प्रतिक्रिया