काठमाडौं । कहिलेकाँही मान्छेको सोचाई एउटा र गराई अर्को भइदिन्छ । अहिलेका व्यस्त सम्पादक, रंग संयोजक र भिएफएक्स मेकर भरत रेग्मीको जीवनमा त्यस्तै भइदियो । सानैदेखि मिडिया विशेषतः मनोरञ्जन क्षेत्रमा रुचि राख्ने भरत रेडियो र टेलिभिजनमा बोल्नकै लागि नवलपरासीबाट काठमाडौं आएका थिए । तर, उनी सम्पादन विधातर्फ मोडिए । उनले पत्रकार सुब्रत आचार्यमार्फत गायक दीपक बज्राचार्यसँग सम्बन्ध बढाए र दीपककै प्रोडक्सन हाउसमा कन्सर्टको भिडियो सम्पादन गरे । त्यसपछि उनी २००२ देखि च्यानल नेपालमा जागिर खाए । एक वर्षमात्र त्यहाँ काम गरेका उनले भिएफएक्स, ग्राफिक आर्टिस्ट र निर्देशक सिमोश सुनुवारसँग काम गर्न थाले । भरतले निमा रुम्वा, कमलमान सिंह, सुगम पोख्रेल, सञ्जिव सिंह, दिपेशकिशोर भट्टराई, नवीन के भट्टराई, जेम्स प्रधान लगायतका गायकको भिडियो सम्पादन गरिसकेका छन् ।
‘सम्पादन, रंग संयोजन र ग्राफिकको काम गर्नु चुनौतीसँगै आनन्दपूर्ण हुन्छ । निकै दिमाग लगाएर यो काम गर्नुपर्छ’, अहिलेका महंँगा यी सम्पादक भन्छन्, ‘त्यही राम्रो काम गर्नाले मलाई अहिले कामको कमी छैन ।’ आफ्नो विधामा व्यस्त भएकै कारण उनले कामको पारिश्रमिक पनि महंगो नै लिन्छन् । त्यसैले पनि उनी काममा सन्तुष्ट छन् । उनले सम्पादन गरेका भिडियोहरुमा ‘म हुँ प्रकृति’, ‘वनमा फूल्यो फूल’, ‘नौलो’, ‘सिन्धुलीगढी घुमेर हेर्दा’, ‘एक्छिन बरालिँदा’, ‘साईली’, ‘धेरै धेरै माया’, ‘मलाई माफ गर’, ‘जाउ समाउ’, ‘सुन्दरी ओह सुन्दर’, ‘तिम्रो मन त चक्कु छुरी’, ‘सुन सुन सनम्’, ‘किन दुख्छ’, ‘मैले माया’, ‘कान्छी रे’, ‘आगे आगे तोपैको गोला’, ‘मुसु मुसु’, ‘सुन र चाँदी’, ‘धानको बाला’, ट्राफिक जाम’ लगायत हिट छन् ।
गायक रामकृष्ण ढकाल र बलिउड गायिका लता मंगेशकरको गीत ‘बाचुञ्जेलीलाई’ र आशा भोश्लेको गीत ‘गुराँस फूल्यो’ मा पनि उनकै सम्पादन छ । उनले दीपक खरेल, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्यदेखि पछिल्लो पुस्ताका सबै गायकगायिकासँग सहकार्य गरिसकेका छन् । उनले इमेज अवार्ड, विन्ध्यवासिनी म्यूजिक अवार्ड, नेपाली म्युजिक भिडियो अवार्डलगायतका अवार्ड जितिसकेका छन् । उनले निर्देशन गरेको सर्ट फिल्म ‘एफेक्ट बाई डोमेस्टिक भायलेन्स’ ले अमेरिकामा भएको सिको इन्डिपेन्डेन्ट फिल्म फेस्टिबलमा पनि अवार्ड जितेको छ । उनले निर्देशक भुषण दाहालबाट पनि लामो समय सहकार्य गरेका छन् । भरतले सम्पादन गरेको वृत्तचित्र ‘सुनकली’ ले विभिन्न १८ वटा अवार्ड जितेको छ । भरतले ‘जर्नी टु द टप’, नेपाली सेनाको ‘द नेपाली सोल्जर’मा पनि काम गरेका छन् । कान्तिपुर टेलिभिजनमा १४ वर्ष काम गरेका उनले ‘कलिउड’, ‘ऋृतु’, ‘कथा काठमाडौं’, ‘सुश्री सम्पति’, ‘चौका दाउ’ लगायतका चलचित्रमा प्राविधिक विधामा काम गरिसकेका छन् ।
प्रतिक्रिया