खोटाङ । तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दुरीको महुरे–फोक्सिङटार सडक कालोपत्रको काममा ठेकेदार कम्पनीको ढिलासुस्ती देखिएको छ । सगरमाथा राजमार्गमा पर्ने दिक्तेल–गाईघाट सडकअन्तर्गत महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काममा निर्माण कम्पनी भारत कन्ट्रक्सन सिद्धी शाही जेभी र देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीको ढिलासुस्ती देखिएको हो । यसअघि नै कालोपत्रको काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने सडकमा ठेकेदारको ढिलासुस्तीका कारण अझै पनि हिउँदमा धुलो र वर्षामा हिलाम्मे हुने गरेको छ । महुरे–फोक्सिङटार सडक खण्डअन्तरगत महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) सडक खण्डको काम देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले गरिरहेको छ । सम्झौता मिति सकिएको लामो समय बितिसक्दासमेत सडक कालोपत्रको काम पुरा नहुँदा जिल्लावासी असन्तुष्ट बनेका छन् । भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले ०७७ असार २९ गते सम्पन्न गर्ने सर्तमा ०७३ साल असार ३० गते सडक विभागसँग योजनाको सम्झौता गरेको थियो ।
४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इञ्जिनियर गोपाल खकुरेलले बताएका छन् । प्रमुख इञ्जिनियर खकुरेलका अनुसार देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले जिम्मा लिएको सिम्पानी भञ्ज्याङ–फोक्सिङटार सडक खण्ड काम करिब ५९ प्रतिशत भौतिक प्रगति भएको छ ।
५५ करोड ८७ लाखमा ०७७ साउन १० गतेभित्र कालोपत्र पूरा गर्ने सर्तमा ०७३ साउन ११ गते सो खण्डको सम्झौता गरिएको थियो । तराईका जिल्लाबाट दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा समेत सोही मार्ग प्रयोग गरिने उक्त सडक खण्ड कालोपत्रको काम दसैँतिहार यता काम ठप्प छ ।
काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पटकपटक आफ्नो साइड इञ्चार्ज परिवर्तन गरेको स्थानीय मिलन राईले बताए । ‘प्रतिनिधिलाई फिल्डमा पठाएर मुख्य ठेकेदार सम्पर्कविहीन बनेर बस्ने गरेका छन्’, उनले भने, ‘ठेकेदार कम्पनीको लापरवाहीले सडक कालोपत्रमा भइरहेको ढिलासुस्तीका बारेमा जनप्रतिनिधि र दलका नेतासमेत चुपचाप बस्ने गरेका छन् ।’ भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीका साइड इञ्चार्ज नवीन मैनालीले महुरे–राजापानी सिम्पानी सडक खण्डमा गत कातिक २९ गतेसम्म काम गर्दा ५५ प्रतिशत भौतिक प्रगति भएकोे दाबी गरे । महुरे–फोक्सिङटार सडक कालोपत्रको काममा गुणस्तरको विषयमा समेत आवाज उठ्ने गरेको छ । महुरे–सिम्पानी (राजापानी) खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले ०७६ पुस २३ गते करिब ३० मिटर ड्रेन भत्काइदिएका थिए । सडकको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र कार्यरत कामदारले वर्षौंसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीय बासिन्दाले ०७६ पुस २० गतेदेखि महिना दिन सडकको काम ठप्प बनाएका थिए ।
प्रतिक्रिया