‘खराब नेतालाई गाँउमै तह लगाउ’

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका खराब तत्वहरुलाई गाँउमै तल लगाउन अपिल गरेका छन् । निर्वाचन नै नेता तह लगाउने ठाउँ भएकाले त्यस्तालाई मत नहालेर गाँउमै तह लगाउन अपिल गरेका हुन् । धनगढीमा शुक्रबार आयोजित नेकपा सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काम गर्ने नेता चुनेर पठाउन आग्रह समेत गरे । खरावतत्वले जितेर गए केन्द्रमा हैरान पार्ने भन्दै त्यस्ता तत्वलाई चिनेर मुहानमै ठेगान लगाउनुपर्नेमा जोड दिए । ‘खरावतत्वहरुलाई तपाईहरुले गाउँमै ठेगान लगाउनुपर्छ, उम्केर गए भने माथि हैरान पार्छन् । तलैबाट ठेगान लगाएर पठाउनुहोस्’, उनले भने, ‘तपाईहरुलाई आग्रह गर्न चाहान्छु, तपाईहरुलाई हात जोडेर भन्न चाहान्छु । भ्रष्ट, देशद्रोही, विदेशीका लागि विदेशीको इशारामा काम गर्ने त्यस्ता तत्वहरुलाई गाउँ गाउँबाटै ठेगान लगाउनुहोस् । तपाईले अरु केही गर्नुपर्दैन, तिनलाई भोट नहाले पुग्छ ।’

प्रधानमन्त्री ओलीले देशका लागि लड्ने, देशका लागि मर्न तयार हुने, जनताका लागि काम गर्ने, विकासका लागि काम गर्ने त्यस्ताहरुलाई जिताएर पठाउनु आग्रह समेत गरे । ‘एउटा कुरामा ध्यान दिनुभए हुन्छ । मैले हस्ताक्षर गरेर उठाएको उम्मेदवार त्यसको जिम्मा म लिन्छु । त्यस्तो उम्मेदवारलाई जिताएर पठाइदिनुहोस्, देशको विकासको जिम्मा म लिन्छु’, उनले भने । पार्टीको अर्को समुह पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भगौडाको संज्ञा दिदै उनिहरुको भनाईका पछाडी नलाग्न आग्रह गरे । दाहाल–नेपालतर्फ लक्षित गर्दै ओलीले नेकपा सम्धी, छोरी, ज्वाइँ, भतिजा, भाइ, बुहारी र सालोवाला पार्टी नभएको प्रष्ट पारे । ‘उहाँहरुले ठूलाठूला कुरा गर्नु भएको छ । पार्टी उहाँहरुको अरे ! जसलाई छोरीको मतलब छ । जसलाई बुहारीको मतलब छ । जसलाई जनताको मतलब छैन । जसलाई आफन्तको मतलब छ । तिनको पार्टी हो कि तपाईंहरुको पार्टी हो यो ? यो पार्टी सम्धीवाला होइन’, प्रधानमन्त्री ओलीले भने, ‘यो पार्टी छोरी–बुहारीवाला पार्टी होइन । यो पार्टी भाइ भतिजावाला पार्टी होइन । यो पार्टी तपाईंहरुको पार्टी हो । देश बनाउने पार्टी हो । यो जनताको पार्टी हो । त्यसकारण उहाँहरुले निरर्थक गफ नगरे हुन्छ ।’

उनले नेकपा आफ्नो भन्न पहिला उनीहरुले मन र मानसिकता परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनीहरुको मन आफन्ततिरबाट देशतिर लगाउनुपर्ने ओलीको भनाइ छ । दाहाल र नेपालको आँखा कमाउनेतर्फ भएको भन्दै ओलीले उनीहरुको चर्को आलोचना गरे । साथै उनले संसद पुनःस्थापना हुन नसक्ने भन्दै एकपटक संविधान पढ्न समेत आग्रह गरे । ‘प्रतिनिधिसभाको विघटन असंवैधानिक भनेर हल्ला चलाइरहेका छन् । म तिनीहरुलाई संविधान पढ्न आग्रह गर्छु’, ओलीले भने, ‘६४ प्रतिशतको प्रतिनिधित्व गर्ने म सर्वसम्मत देशको प्रधानमन्त्री हुँ । मैले विघटनको सिफारिस गरिसकेपछि प्रतिनिधिसभामा अर्को विकल्प छैन । फेरि प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने कुरा कुनै हिसाबले पनि ठिक छैन । अब प्रतिनिधिसभा चुनाव गरेर आउँछ ।’

प्रधानमन्त्री ओलीले मध्यावधि चुनाव वैशाख १७ र २७ गते नै हुने दाबी गरेका छन् । ‘चुनावका लागि दुईटा मिति सिफारिस गरेको छु । त्यसको तयारीमा निर्वाचन आयोग लागिपरेको छ । वैशाख १७ गते शुक्रबार र वैशाख २७ गते सोमबार चुनाव हुन्छ हुन्छ । ढुक्क हुनुहोस्’, ओलीले भने । प्रतिनिधिसभा विघटन भएपछि ओली पहिलो पटक राजधानी बाहिरको आमसभामा सहभागी भएका हुन् ।

प्रतिक्रिया