रोगले सुन्तला बगैँचा खाली हुँदै

सल्यान । सल्यानमा सुन्तलाका बोटहरू धमाधम सुक्न थालेका छन् । उपचार नै नभएको ग्रिनिङ रोग फैलिन थालेपछि सुन्तलाका बगैंचाहरू समेत खाली हुने अवस्थामा पुग्न थालेका छन् । व्यावसायिक रूपमा सुन्तला खेती गरिरहेका वागचौर नगरपालिका–८ मा रहेका अधिकांश कृषकहरूका सुन्तलाका बोटहरू सुक्न थालेका छन् । आम्दानीको राम्रो स्रोतको रूपमा रहेका सुन्तलाका बोटहरू नै धमाधम सुक्न थालेपछि उनीहरूको व्यवसाय नै संकटमा पर्न थालेको छ ।

१५ वर्ष अघिदेखि सुन्तला खेती गर्दै आएकी वागचौर नगरपालिका–८ की कृषक पवित्रा योगीका अनुसार बगैँचामा सुन्तलाका बोटहरूका हाँगाहरू सुक्ने, फल नलाग्ने तथा लागेको फल पनि स्वस्थ्य नहुने समस्या देखिएको बताइन् । ‘पोहोर साल १७ लाखभन्दा बढी मूल्यको सुन्तला बिक्री भएको हो तर यो वर्ष तीन लाख हुनु अवस्था छैन फलेको सुन्तला पनि अहिलेसम्म पाकेको छैन’, पवित्राले भनिन् ।

जिल्लाकै ठूला सुन्तला उत्पादन व्यवसाय गर्दै आएका भरतनाथ योगीका बगैँचामा समेत सुन्तलाका बोटहरू सुक्न थालेका छन् । उत्पादन लिने समयमा बोटहरू नै मर्न थालेपछि आपूmहरू चिन्तित भएको कृषक भरतनाथ योगीले बताए । ‘बगँैचामा सुन्तलाका दुई हजारभन्दा बढी बोट छन् अहिले ग्रिनिङका कारण १ सय ५० भन्दा बढी बोट सुकेका छन् यो रोग छिटो फैलिने हँुदा पनि उत्पादन लिने बेला चिन्तित बनाउन थाल्यो’, उनले भने । उनका अनुसार गत वर्ष २७ लाख बढीका सुन्तला बिक्री गरेकोमा यो वर्ष सात लाख ननाघ्ने अवस्था रहेको छ ।

सिंगो गाउँमा नै व्यावसायिक सुन्तलाखेती गर्दै आएका कृषकहरू सुन्तलाका बोट नै सुक्न थालेपछि निराश हुन थालेको बागचौर नगरपालिका–८ का प्रकाश डाँगीले जानकारी दिए । उनले भने, ‘जलवायु परिवर्तनको कारणले पनि होला सुन्तलाहरू तलतिर सुक्दै जान थालेका यसले सुन्तला उत्पादन घट्न थालेको छ ।’ जिल्लाका सुन्तला पकेट क्षेत्रको रूपमा रहेका धेरै स्थानहरूमा ग्रिनिङ रोगको समस्या देखिन थालेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । सुन्तलाको क्यान्सरको रूपमा चिनिने यो रोग हावाका माध्यमबाट फैलिने भएकोले छिटै सुन्तलाका बोटहरूमा समस्या देखिने कृषि विकास कार्र्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए ।

‘सुन्तलामा यो रोग देखापरेपछि गत आर्थिक वर्षको तुलनामा २५ प्रतिशतसम्म सुन्तला उत्पादनमा कमी आएको छ’, बस्नेतले भने । यो रोगको उपचार नहुने भएकोले पनि ठूलो समस्याको रूपमा रहेको उनको भनाइ छ । ‘जलवायु परिवर्तनका कारण अहिले सुन्तला तल्लो क्षेत्रतिर बिस्तारै यो रोगको कारण सुक्दै गएको र अलि चिसो क्षेत्रतिर भने सुन्तला राम्रो हँुदै गएको छ, यो रोगको उपचार नहुने भएकोले पनि समस्या छ’, बस्नेतले भने ।

यो रोगका कारण सुन्तलाका हाँगाहरू सुक्ने, जरा कुहिने तथा फलहरू समेत राम्रो र उत्पादन दिन नसक्ने भएकोले उत्पादन घटने कार्यालयको भनाइ छ । सल्यानमा १ हजार ५ सय बढी हेक्टरमा सुन्तला खेती गरिँदै आएको छ । गत आर्थिक वर्षमा मात्रै सल्यानबाट १० हजार ६ सय ९० मेट्रिक टन सुन्तला निर्यात भएको कार्यालयले जनाएको छ । गत वर्ष जिल्लाबाट ५ करोड ४० लाख बढीको सुन्तला निर्यात भएकोमा यो वर्ष भने उत्पादनमा कमी आउने देखिएको छ ।

‘असोज महिनामा बढी पानी परेका कारण सुन्तलामा रस बढी भएका कारणले पाक्न ढिला भएको र बजारमा भारतीय सुन्तलाहरू आइसकेको हुनाले यो वर्ष सुन्तलाले त्यति मूल्य पाउन नसक्ने अवस्था छ’, सूचना अधिकारी बस्नेतले भने । गत वर्ष औसतमा ५१ रुपैयाँ प्रतिकेजी मूल्य रहेकोमा यो वर्ष ४० रुपैयाँ प्रतिकेजीसम्म आउने उनको भनाइ छ ।

सल्यानका वागचौर नगरपालिकाको ८ र ९, छत्रेश्वरी गाउँपालिकाको १ र २ र त्रिवेणी गाउँपालिकाको ३ नम्बर वडामा करिब ७ सय ५० कृषकहरूले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । लटरम्म पाकेर पहेँलै भएका सुन्तलाका बगँैचाहरू अब यो रोगको नियन्त्रणको उपाय अपनाउन नसकिए केही समयमै उजाड बाँझो वस्तीहरूमा परिणत हुने निश्चित छ ।

प्रतिक्रिया