सहकारीद्वारा कृषकलाई आलुको वीउ वितरण

पाँचथर । हातेमालो कृषि सहकारी संस्था फिदिमले कृषकहरुलाई आलुको वीउ वितरण गरेको छ । शुक्रबार फिदम नगरपालिका– ३ का किसानहरुका ३० परिवारमा ३० मन आलुको वीउ वितरण गरिएको हो । वडाको एक लाख आर्थिक सहयोग र हातेमालो संसस्थाको ५० हजार सहयोगमा निलो रातो, लोकल जातको आलुको वीउ बितरण गरिएको छ ।

प्रत्यक कृषकहरुलाई २० केजीका दरले ७५ प्रतिशत अनुदानमा फिदिम नगरप्रमुख ओनाहाङ नेम्वाङले वितरण गरेका हुन् । हातेमालो संस्थाका अध्यक्ष देबिप्रसाद अधिकारीको अध्यक्षतामा वीउ वितरण सम्पन्न भएको छ ।

कार्यक्रममा हातेमालोका सल्लाहकारहरु मित्र प्रसाद काफ्ले, रुपनारायण जवेगु, नरेन्द्र प्रसाद अधिकारी, कृषि ज्ञान केन्द्रका अधिकृत भुवन सिंह बुढाथोकी, वडाध्यक्ष नरेन्द्र गुरुङ, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष लवदेव ढुंगाना, पूर्व सभापति कृष्ण ओझा लगायतको सहभागीता रहेको थियो ।

हातेमालो संस्थाको आफ्नै ३ रोपनी जग्गामा चिस्यान केन्द्रको भवन पनि बनेको छ । उक्त भवनमा आलु र किबि भण्डारण गरिएको छ । आलु वितरण गर्दै नगरप्रमुख नेम्वाङले किसानहरुले कृषिमा जोड दिएर आत्मनिर्भर हुन आग्रह गरे ।

फिदिम नगरपालिका– ३ भाग्यमानी रहेको जनाउँदै उनले लालिखर्कमा प्रदेश सरकारबाट प्राविधिक शिक्षामा लगानी भइसकेको र अन्य विषयमा नगरको शसक्त अनुदानबाट सहयोगको प्राथमिकता रहने बताए ।

नेम्वाङले हातेमालो सहकारी लगायत सहकारीहरुलाइ नगरको आव ७८–७९ को बजेटबाट राहात दिन सक्ने बचनसमेत दिएका छन् । कार्यक्रममा बोल्दै हातेमालो कृषि सहकारी संस्थाका अध्यक्ष देविप्रसाद अधिकारीले शेयर सदस्य तथा कृषकहरुलाई व्यवसाय हेरेर प्रत्यक व्यक्तिलाई १० लाख ऋण उपलब्ध गराउने जानकारी दिए ।

वीउ वितरण समारोहलाई संस्थाका उपाध्यक्ष सूर्यकुमार निरौलाले सञ्चालन गर्ने क्रममा संस्थाले कृषकहरुलाई २५ प्रतिशत अनुदानमा कृषि सामग्री घाँस काट्ने चाप्टर, मिनिमिल, हाते ट्याक्टर आदि दिँदै आएको र आगामी दिनमा पनि दिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया