सल्यानमा वन्यजन्तु उद्धार केन्द्र स्थापना

सल्यान । जिल्लामा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको छ । घाइते भएका तथा अशक्त वन्यजन्तुको संरक्षणका लागि आपतकालीन उपचार तथा हेरचाह गर्ने उद्देश्यले उद्धार केन्द्र निर्माण गरिएको हो । डिभिजन वन कार्यालय सल्यानको परिसर भित्रमा उद्धार केन्द्रमा घाइते जनावरको उपचार गर्ने, अशक्त जनावरलाई खाना खुवाइने तथा ती सबै जनावरको पालनपोषण व्यवस्थित ढंगले गर्ने र निको भएपछि पुनः वासस्थानमा छोड्ने गरी व्यवस्था गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । डिभिजनले वन अधिकृत रमेशकुमार गिरीले वन्यजन्तुको समग्र पारिस्थितिकीय प्रणालीलाई संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने उद्देश्यले वन्यजन्तु उद्धार केन्द्रको स्थापना गरिएको जानकारी दिए । उनले जिल्लामा नै पहिलोपटक वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको जानकारी दिए ।

‘जिल्लामा विभिन्न कारणले वन्यजन्तुहरू घाइते हुने गरेको र उनीहरूको उपचारका लागि उचित व्यवस्था नहँुदा समस्या हँुदै आएको थियो, उद्धार केन्द्र नहुँदा घाइते जीवजन्तुहरूलाई प्राथमिक उपचार गरी जंगलमा नै छोड्दा समस्या भएको थियो अब त्यो समस्या हटेको छ’, गिरीले भने ।  ‘नागरिकको नियन्त्रणमा रहेका तथा वन्यजन्तुका साथै कुकुरको आक्रमणमा परेर घाइते भएका र सवारी साधनले ठक्कर दिएर घाइते भएका वन्यजन्तुको उद्धार गरेर राखिनेछ, उपचारपश्चात फेरी सोही स्थानमा छोडिनेछ’, उनले भने । घाइते अवस्थामा रहेका वन्यजन्तुहरूलाई त्यसै छोड्दा मर्न सक्ने र लोप भएर जाने सम्भावना भएकाले वन्यजन्तुको संरक्षणका लागि यो कोसेढुंगा सावित हुने उनको भनाइ छ ।

डिभिजन वन कार्यालयका अनुसार गत वर्षमा मात्रै झण्डै दुई दर्जन वन्यजन्तुको उद्धार गरिएको थियो । कार्यालयका सूचना अधिकारी मनोज शर्मा लम्सालले गत आर्थिक वर्षमा १४ वटा रतुवा, पाँच वटा घोरल, एक वटा हाइना गरी २० वटा वन्यजन्तु उद्धार गरिएको जानकारी दिए । यस्तै चालु आर्थिक वर्षको साउन महिनायता एक वटा घोरल र एक वटा वनबिरालो गरी दुई वन्यजन्तुको उद्धार गरिएको उनको भनाइ छ ।
‘जिल्लामा अहिलेसम्म वन्यजन्तु उद्धार केन्द्र थिएन, हामीले पहिलोपटक केन्द्र स्थापना गरेका छौँ’, उनले भने, ‘पहिले राख्ने ठाउँ नहुँदा समस्या हुन्थ्यो, घाइते वन्यजन्तु ल्याएर एउटा कोठामा राख्नुपथ्र्यो, अहिले उद्धार केन्द्र स्थापना गरेका छौँ, अबका दिनमा सहजता हुनेछ ।’ मान्छेलाई देख्दा वन्यजन्तु तर्सिने भएकोले रुख विरुवाको बीचमा उद्धार केन्द्र राखिएको उनको भनाइ छ । घाइते वन्यजन्तुको जंगलबाट उद्धार गरेर पशु सेवा कार्यालयको सहयोगमा औषधि उपचार गर्ने र निको भएपछि उसको प्राकृतिक वासस्थानमा लगेर छोडिदिने गरेको डिभिजन वन कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रतिक्रिया