लोकदोहोरीमा राजेन्द्रको छलाङ

काठमाडौं । गायक राजेन्द्र कँडेल, नेपाली लोकदोहोरी क्षेत्रमा चिनिएको नाम हो । उनको गायकीलाई पछिल्लो समय स्रोताले निकै रुचाइएको पाइन्छ । ३० वर्षको उमेरमा झण्डै एक हजारको हाराहारीमा लोकगीत गाइसकेका कँडेल र लोकगायिका विष्णु माझीको कुनै समय गायनजोडी निकै जमेको थियो । अहिले पनि त्यो जोडी कायमै छ ।  सुपारी म्युजिक प्रालिका सञ्चालक उनी स्याङजाको चापाकोटमा जन्मिएका हुन् । औपचारिक अध्ययन प्लसटुसम्म गरेका उनले संगीतको अध्ययनसमेत गरेका छन् । सानैदेखि गायनमा रुचि राख्ने राजेन्द्रले गाउँमै रहँदा हजुरबा–हजुरआमासँग भजन–कीर्तन गाउने र विद्यालयको सांगीतिक प्रतियोगितामा भाग लिन्थे । त्यहाँ उनले थुप्रै पुरस्कार हात पारेको बताउँदै त्यसले आफूलाई लोकगायनमा डो¥याउन मद्दत गरेको सुनाए । उनले रोधीमा पनि सहभागिता जनाएको सुनाउँदै उनले भने, ‘त्यहीदेखि ममा कलाकार हुने भुत सवार भएको हो ।’

गायक कँडेलले आफूले बारम्बार अग्रजका गीतहरु रेडियोबाट सुनेको र रेडियो नेपाललाई नै आफनो साथी बनाएको सुनाए । उनले गायनको सुरुवातीका दिनमा आफूले निकै संघर्ष र दुःख गर्नुपरेको बताए । त्यसबेला अग्रजहरुको समेत अलिकति हेलाहा गर्ने प्रवृत्ति पाएको गुनासो गरे । हिजो आफूले रेकर्डिङका क्रममा गरेको दुःख सम्झेर पनि नयाँ आउने कलाकारलाई सहयोग गर्ने गरेको सुनाए । पैसा पनि नहुने कारण स्टुडियोबाट कोठासम्म रातीराती हिँडेर जाने गरेको सम्झँदै उनले भने, ‘धेरै दुख गरियो, ती दिन सम्झँदा रुन मन लाग्छ ।’

उनी गायनको रहर मेटाउने र अध्ययन गर्ने उद्देश्यका साथ ०६२ सालमा काठमाडौं छिरे । त्यसपछि उनले औपचारिक रुपमै गायन पेशा अँगाले । उनको पहिलो गीत ‘कुहिरोले डाँडै छायो’ ले निकै चर्चा कमायो । सो गीत उनले गायिका विष्णु माझीसँगै गाएका थिए । त्यसलगत्तै गायिका माझी र उनकै स्वरमा ‘एकोहोरो माया जहिले नी, साँच्चै माया मारेकी हौ भने, तिमीलाई भुल्न सक्छु मैले नी’ बजारमा आयो । सो गीतले लोकदोहोरीको शैली नै बदलेको उनले जिकिर गरे ।

उनको ‘कपाल कोर्ने काइँयो’ बोलको लोकगीत पनि उत्तिकै रुचाइयो । सो गीत आएपछि त आफनो चर्चा नै चुलिएको उनी सुनाउँछन् । उनले त्यसपछि ‘सम्झी सम्झी रुनु पर्नेछ’ बोलको गीत पनि दर्शकस्रोताले उत्तिकै मनपराएको बताए । उनी भन्छन्, ‘खासगरी गायिका विष्णु माझीको सुरिलो आवाज र हाइस्केलमा गाउनसक्ने र मेरो पनि त्यस्तै खालको भएकाले पनि हाम्रो जोडी जमेजस्तो लाग्छ ।’ ०६९ सालतिर उनले गाएको स्याङजाको प्रख्यात ख्याली भाकाको रोइला गीत ‘बुन्न नजानेर डोको भयो कोर्को झै, छैनौ माया र्पोको झै’ ले निकै रुचाइयो । त्यो गीत नेपालमा हुने अधिकांश मेला, महोत्सव, प्रतियोगितामा गुञ्जने गरेको उनी सुनाउँछन् ।

त्यसैगरी विष्णु माझी र उनले गाएको ‘तिम्रो सम्झनामा’, देवी घर्तिमगर र उनले गाएको ‘शंका मात्रै गर्छौ किन’ लगायत गीतले चर्चा कमाएको उनले सुनाए । पछिल्लो समयमा उनको तिज गीत ‘टिकटक काण्ड’, दशैं गीत ‘अभागी परदेशी’ ‘दालमा चिनी’ ‘क्यारी हाँसौं’, ‘धर्ती छोडेर,’ ‘म त दुखी मान्छे’ जस्ता गीत चर्चामा छन् । पूर्वदेखि पश्चिमसम्म हुने मेला, महोत्सव तथा सांगीतिक कार्यक्रममा उनले दर्जनौं प्रस्तुति दिएका छन् । मौलिक भाकामा गाउने गायकको रुपमा उनले आफनो परिचय बनाएका छन । गायन यात्राको दौरानमा दर्जनौं सम्मान तथा पुरस्कार पाएका छन् । त्यस्तै, उनले आफूले पनि धेरै संघ संस्थालाई सहयोग गरेको जनाए ।

प्रतिक्रिया