उदयपुर । उदयपुरमा बालविवाह दर घटेर न्यून भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विगतमा उदयपुरमा प्रहरीमा बालविवाहसम्बन्धी निकै उजुरी आउने गरेको तर दुई वर्षदेखि घटेर यस वर्ष दुई वटा मात्र उजुरी परेको छ । बालविवाह कानुनीरूपमा पनि दण्डनीय छ । प्रहरीमा निवेदन आएपछि कानुनी कारबाही गर्ने र बालविवाह गर्न लागेकालाई र यसमा संलग्नलाई सम्झाइबुझाइ पठाउने गरेपछि प्रहरीमा सो सम्बन्धी उजुरी घट्दै गएर झण्डै शून्यमा झरेको छ । उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालका अनुसार गत वर्षहरूको तुलनामा यस वर्ष बालविवाहको उजुरी घटेर तल झरेको र दुई वटा निवेदन मात्र प्रहरीमा परेको छ ।
जिल्ला बालसंगठन तथा बालकल्याण समितिका अध्यक्ष भुवन दाहालका अनुसार विगतको तुलनामा अहिले जिल्लामा बालविवाहका दर निरन्तर घटेर झण्डै शून्यमा पुगेको छ । अध्यक्ष दाहाल भन्छन्, ‘०७२ सालमा जिल्लामा बालविवाहको घटना १२, ०७४ मा नौ र यस वर्ष दुईमा झरेको छ ।’ गाउँगाउँमा बालसंगठन तथा बाल कल्याण समितिका अभियान, विभिन्न सामाजिक संघसंस्थाको जनचेतनामूलक कार्यक्रम र प्रहरीको कारवाहीका कारण बालविवाह दर घटेको अध्यक्ष दाहाल बताउँछन् ।
सामाजिक अभियन्ता तथा महिला रक्षक सञ्जाल उदयपुरका पूर्वअध्यक्ष महेश्वरी राई विगतमा बालविवाह हुने गाउँ क्षेत्रमा अभिभावक र गाउँलेमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि भित्रभित्रै हुने बालविवाह नियन्त्रण हुँदै गएको बताउँछन् । त्रियुगा नगरपालिका क्षेत्रमा भित्रभित्रै सबैभन्दा धेरै बालविवाह हुने राजावास, चुहाडे, जोगिदह क्षेत्रमा समेत अहिले बालविवाह शून्यमा झरेको बालविवाहविरुद्धका सामाजिक अभियन्ता माया भण्डारी बताउँछिन् । लिम्चुङबुङ गाउँपालिकाभित्र विगतमा भित्रभित्रै अभिभावकको मिलेमतोमा नै बालविवाह हुने गरेको भए पनि अब गाउँघरमा जनचेतना जागरण वृद्धि भएको, बालविवाहसम्बन्धी स्थानीय जनतामा कानुनी ज्ञान हुन थालेको कारण र बालविवाहविरुद्धको अभियानले अहिले बालविवाह शून्यमा झरेको सो गाउँपालिकाकी उपाध्यक्ष रमिला राईले बताइन् ।
प्रतिक्रिया