काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले कविशिरोमणि लेखनाथ पौड्यालको १३७औँ जन्मजयन्ती विविध साहित्यिक कार्यक्रम गरेर मनाएको छ । कमलादिस्थित प्रज्ञा भवनको परिसरमा रहेको कविशिरोमणिको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेर मनाइयो । कार्यक्रममा कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली कविता साहित्यको श्रीवृद्धिमा कविशिरोमणि पौड्यालले महत्वपूर्ण भूमिका रहेको बताए । कुलपति उप्रेतीले भने, ‘नेपाली कविता साहित्यको आधुनिकीकरण गर्ने कार्यमा कविशिरोमणि पौड्यालको विशिष्ट योागदान छ । जीवनलाई प्रकृतिसँग जोड्ने कार्य उहाँले कवितामार्फत् गर्नुभयो । यसकारण नेपाली कविताका क्षेत्रमा उहाँको योगदान अतुलनीय छ ।’
उपकुलपति डा. जगमान गुरुङले कविशिरोमणि पौड्याल र उनकी धर्मपत्नी सत्यदेवी सापकोटा पौड्यालको नाममा उनको जन्मस्थल कास्कीमा एक प्रतिष्ठान स्थापना गर्नुपर्ने बताए । उनले लेखनाथको योगदानलाई जीवन्त राख्नुपर्ने आवश्यकता औँल्याउँदै कला, साहित्य तथा संस्कृतिको विकासमा प्रतिष्ठानले काम गरिरहेको जिकिर गरे । कार्यक्रममा कुलपति र उपकुलपतिलाई कविशिरोमणि पौड्यालकी कान्छी छोरीपट्टिकी नातिनी डा. प्रतिमा पाण्डेले पौड्यालकी धर्मपत्नी सत्यदेवीको तस्बिर हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्राज्ञ डा.देवी नेपालले कविशिरोमणि पौड्यालका कविता तरुण तपसी र कालमहिमा पाठ गरेका थिए । सो अवसरमा कलाकार विकासनाथ योगी, सुरेशराज बज्राचार्य र रमेश अधिकारीले मंगलधुन प्रस्तुत गरे । वि.सं. १९४१ पुस १५ गते कास्की जिल्लाको अर्घौंअर्चलेमा पौष शुक्ल एकादशीका दिन जन्मिएका पौड्यालको निधन २०२२ साल फागुन ७ गते ८१ वर्षको उमेरमा चितवनको देवघाटमा भएको थियो । उनका ऋतुविचार (खण्डकाव्य), वुद्धिविनोद (कविताकृति), सत्यकलि संवाद (कविताकृति), सत्यस्मृति, मेरो राम, त्याग र उदयको सन्देश, गीताञ्जली (कविताकृति), तरुण तपसी (नव्यकाव्य), लक्ष्मीपूजा (नाटक), गौरीगौरव (नाटक), लालित्य (कविता कृति दुई भागसम्म) आदि प्रकाशित छन् ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले नेपाली वाङ्मयका क्षेत्रमा कविशिरोमणि पौड्यालले विशिष्ट योगदान दिएको बताए । उनले नेपाली साहित्य भण्डारलाई पौड्यालले समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको विचार गरे । सो कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. गोपिन्द्र पौडेल, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, लक्ष्मी माली र डा. देवी नेपाल, प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, साझा प्रकाशनका अध्यक्ष, नेपाल बैँक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारी लगायतका स्रष्टाको उपस्थित रहेको थियो ।
प्रतिक्रिया