सिन्दुरपोतेमै पतिलाई दागबत्ती दिने रेणुका सम्मानित

सिन्धुली । अखिल नेपाल महिला संघ सिन्धुलीले झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपाललाई सम्मान गरेको छ । पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दुर–पोतेसहित घर फर्किएकी नेपाललाई सम्मान गरिएको हो । आफ्नो पतिको निधनपश्चात् हिन्दू परम्पराअनुसार सिन्दुर, पोते, चुरा फाल्नुपर्ने प्रचलनलाई तोड्दै सिन्दुर, पोतेसहित पतिको मुत्यु संस्कार सम्पन्न गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

०३१ सालमा झापा बिर्तामोड नगरपालिका–८ नेपाल चोकका केशव नेपालसँग विवाह गरेकी रेणुकाले पतिको निधन पश्चात पनि आपूmले लगाउँदै आएको सिन्दुर चुरा, पोते त्याग गर्नुभन्दा यसलाई बरु पतिको प्रसाद संझिएर लगाएको बताइन् । ‘मेरा पतिले आपूmलाई ११ वर्षको कलिलो उमेरमै सजाइदिएका यी सामग्री मैले उहाँको प्रसादीको रूपमा लिएकी छु’, उनले भनिन्, ‘उहाँले म मरेपछि तिमीले सिन्दुर नपुछ्नु र पोते नफुकाउनु भन्नुभएको थियो ।’ आफूले गरेको यस निर्णयमा समाजका व्यक्तिले हरेक कुरा गर्ने गरेको उनले बताइन् । ‘कसैले केही नराम्रो भने पनि त्यसको प्रवाह गदिनँ’, उनले भनिन्, ‘महिलाहरू नि अबुझ छन् । पतिको निधनपश्चात् महिलाबाटै महिलाको सिन्दुर पुछिदिने, पोते चुडाउने, चुरा फुटाइदिन्छन् ।’

उनका पति केशव नेपालको मिर्गौला रोगका कारण ६१ वर्षको उमेरमा निधन भएको थियो । घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि उनको मिर्गौलामा समस्या थपिएको थियो । बिएन्डसी र नोबेल हस्पिटलमा उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नभएको उनको गत २० मंसिरमा निधन भएको नेपालले बताइन् । हिन्दू संस्कारअनुसार पतिको निधनपछि पत्नीले विवाहित हुनु वा पति हुनुको प्रमाण स्वरूप लगाइएका शृंगारका सामान सिंदुर पोते चुरा पतिको निधनपछि उनको चितामा नै फुकालेर चडाउने परम्परा छ ।

रेनुकाले समाज परिवर्तनका लागि साहसिक निर्णय लिएको र त्यसबाट अन्य दिदीबहिनीलाई समेत प्रेरणा मिल्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य उमा कोइरालाले बताइन् । रेनुकालगायत अन्य महिलाको हौसल्ला बढाउन सम्मान गरिएको कोइरालाको भनाइ छ । यस्तै कमलामाई नगरपालिका सिन्धुलीको उपप्रमुख मन्जु देवकोटाले रेनुकाले एक उदाहरणीय कार्य गरेको भन्दै अन्य महिलालाई समेत प्रेरणा मिल्ने बताइन् । उनको मनोबल बढाउन आपूmहरूले सम्मान गरेको उपमेयर देवकोटाले बताइन् । साथै उनले सम्पूर्ण महिला रेणुकाजस्तो साहसिक हुन आवश्यक रहेको बताइन् । यस्तै उपमेयरले रेणुको कदमलाई परिवर्तनको पहिलो कदमसमेत भएको बताइन् । नेकपा केन्द्रीय सदस्य उमा कोइराला, कमलामाई नगरपालिका उपप्रमुख मन्जु देवकोटा, अखिल नेपाल महिला संघ सिन्धुलीका सचिव पार्वती भट्टराई, सदस्यहरू रमा कार्की, रस्मिला देवकोटा, विष्णु बस्नेत, गंगा कार्कीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया