काठमाडौं । कोरोना संक्रमण फैलिने त्रासका बीच अनलाइन नाटक प्रतियोगिता हुने भएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को आयोजनामा ‘अनलाइन एकल नाटक प्रतियोगिता’ हुन लागेको हो । ‘अब घर–घरमा रंगमञ्च’ भन्ने नाराका साथ देश विदेशका प्रतिभावान कलाकारको खोजी गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको संस्थानले जनाएको छ । संस्थानका अनुसार प्रतियोगितामा नेपाली वा मातृभाषा प्रयोग गर्न सकिने छ ।
त्यस्तै, नाटकको अवधि १५ देखी २० मिनेटको हुनुपर्ने र प्रतियोगितामा सहभागी हुन चाहनेले नाटकको पाण्डुलिपिसहित सोहीअनुसार नाटकको भिडियो खिचेर २०७७ माघ मसान्तभित्र पठाउनुपर्ने संस्थानले जनाएको छ । त्यसैगरी, कलाकारको एकल प्रस्तुति हुनुपर्ने, नाटकको भिडियो एक सर्टको मात्र हुनुपर्ने प्रावधान राखिएको छ । देशको सार्वभौम अखण्डतामाथि आँच आउने, सामाजिक एवं धार्मिक सद्भाव खल्बलिने, कोही व्यक्ति वा समुदायको मानमर्दन हुने, मित्रराष्ट्रप्रति नकारात्मक टिप्पणी गर्ने, राजनीतिक दल वा विचार झल्कने विषय मान्य नहुने जनाइएको छ । संस्थानका अनुसार त्यस्ता नाटकलाई प्रतियोगितामा समावेश गरिने छैन ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले प्रतियोगिताका लागि प्राप्त नाटकमध्ये पहिलो चरणमा निर्णायकले उत्कृष्ट २५ नाटक छनोट गर्ने जनाकारी दिए । उनले उत्कृष्ट २५ नाटकलाई सांस्कृतिक संस्थानको सबै अनलाइन पोर्टलबाट प्रसारण गरिने बताए । उनले भने, ‘प्रसारण भएको एक महिनाको अवधि अनलाइन अडियन्स जजिङका रूपमा रहनेछ । यस अवधिमा सर्वाधिक लाइक र सेयर भएका नाटकलाई निर्णायक मण्डलले बढीमा थप १५ अंकसम्म र छनोट चरणमा प्राप्त १०० मध्ये प्राप्त गरेको अंक मिलाई उत्कृष्ट ५ नाटक छनोट हुने छन् ।’
यस्तै, प्रतियोगिताका ५ उत्कृष्ट नाटकलाई सांस्कृतिक संस्थानको मञ्चमार्फत लाइभ प्रस्तुति गरी बिजेता छनोट गरिनेछ । महाप्रबन्धक राईका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रोलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार एवं दुई जनालाई सान्त्वना पुरस्कार स्वरुप १५, १५ हजार पाउने छन् । उत्कृष्ट ५ मा परेका राजधानी बाहिरका प्रतियोगीलाई काठमाडौं आउने, जाने, बस्ने, खाने सबै व्यवस्था संस्थानले गर्ने जनाइएको छ । तर देशबाहिर रहेका कुनै प्रतियोगी छनोट भएमा नेपाल आउने जाने खर्च प्रतियोगी स्वयंले व्यहोर्नुपर्ने र खाने, बस्ने व्यवस्था भने संस्थानले गर्ने भएको छ ।
प्रतिक्रिया