वाग्मती किनारका मापदण्डविपरीत बनेका संरचना हटाइने

काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती र यसका सहायक नदी किनारमा मापदण्डविपरीत बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । समितिले यही पुस ८ गते सार्वजनिक सूचना प्रकाशन गरी वाग्मती र यसका सहायक नदी किनारमा बनेका मापदण्ड विपरीतका संरचना हटाउन आह्वान गरेको हो । मन्त्रिपरिषद्ले ०६५ मंसिर १ गते निर्णय गरी नदी किनारमा मापदण्डविपरीत संरचना बनाउन नदिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार समितिले पटकपटक सूचना जारी गरी मापदण्ड विपरीतका संरचना हटाउन भने पनि कार्यान्वयन हुन सकेको थिएन जसका कारण एसियाली विकास बैंकको ऋण सहयोगमा सुरु भएको वाग्मती नदी सौन्दर्यीकरण कार्यक्रमसमेत प्रभावित भइरहेको छ । यसपटक भने वाग्मती र यसका सहायक नदीलाई छुने स्थानीय तहका वडा अध्यक्षको बैठक राखी निर्णय गरेर सूचना जारी गरिएको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए । उपत्यकाका ११ स्थानीय तहका ३५ वडा अध्यक्षले पनि मापदण्डविपरीत बनेका सबै संरचना हटाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोअनुसार काठमाडौं महानगरपालिका–९ र ३१ स्थित सिनामंगल क्षेत्रको नदी किनारमा बनेका मापदण्ड विपरीतका सात घर भत्काएर नदी सौन्दर्यीकरणका लागि पर्खाल निर्माण सुरु भएको जानकारी पनि उनले दिए । समितिले नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं उपत्यका विकास प्राधिकरण र ११ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई समेत राखेर बैठक गरी मापदण्ड विपरीतका संरचना हटाउने विषयमा छलफलसहित निर्णय गरेको छ ।

तोकिएको ३५ दिने अवधिभित्र संरचना नभत्काए समितिले आफैँ भत्काउने सूचनामा उल्लेख छ । वाग्मती किनारको सिनामंगल, थापाथली, बल्खुलगायत क्षेत्रका नदी किनारमा मापदण्ड विपरीतका धेरै संरचना निर्माण गरिएको छ जसका कारण नदीमा फोहरसमेत बढेको छ । नदी किनारमा बसेकाका लागि इचंगुमा आवास निर्माण गरिए पनि त्यहाँ स्थानान्तरण हुन सकेको छैन ।

प्रतिक्रिया