राखी र रोशनीलाई सर्वोकृष्ट अवार्ड

काठमाडौं । गीतकार राखी गौचनले ‘नेसनल पावर न्युज म्युजिक अवार्ड २०२०’ को सर्वोकृष्ट अवार्ड हात पारेकी छन् । उनले ‘हे मन’ गीतमार्फत उक्त अवार्ड चुमेकी हुन् । सोही गीतका अर्का गायक शंकर थापा ‘स्माइल’ ले पनि उत्कृष्ट गायक आधुनिकतर्फको अवार्ड पाउन सफल भएका छन् । साहित्य र गीत संगीतमा सानैदेखि रुचि राख्ने कवयित्री तथा गीतकार गौचनले आफ्नो लगाव विशेष कविता लेखनमा रहेको बताइन् । उनले कक्षा ६ मा पढ्दा पहिलो पटक वाचन गरेको कविता ‘पर्दाभित्रको सुख र दुःख’ स्कुलमा प्रथम भएको समेत सुनाइन् । कविता सँगसँगै गीत लेखनमा पनि लागेर गौचनले ‘जानी नजानी तिमीसँग कुनै रात मागेँ भने,’ नामविना कति नाता,’ ‘म आगो फुकेर धुवाँ लुकाउँदै छु,’ ‘यो सुन्दरता पनि सुन्दरता होइन’, ‘भनौँ भने मेरो कथा’ लगायत दर्जनभन्दा बढी लेखिसकेकी छन् । जुन गीत नेपाली सांगीतिक क्षेत्रमा निकै सुनिएका छन् ।

एक दशकदेखि अमेरिकामा बस्दै आएकी गीतकार गौचनले नेपाली गीति लेखन र साहित्यमा पु¥याएको योगदानको सम्मानस्वरुप अवार्ड र सम्मानबाट आफूलाई थप उर्जा मिलेको सुनाइन् । उनले गीतकार संघले २०७५ मा उनलाई डायस्पोरा सम्मान, राप्ती म्युजिक अवार्ड, बोस्टर म्युजिक अवार्ड लगायतका थुप्रै अवार्डबाट सम्मानित भएकी छन् ।  यसपटक पनि कोरोना कहरका कारणले रोकिएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ‘नेसनल पावर न्युज म्युजिक अवार्ड २०२०’ को तेस्रो संस्करण यही पुस ११ गते सम्पन्न भएको हो । गतवर्ष चैत महिनामा सम्पन्न हुनुपर्ने उक्त अवार्ड कार्यक्रम कोरोनाका कारणले रोकिएको थियो ।


सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले सम्मानित स्रष्टालाई अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा राष्ट्रिय भाव, गजल, पप, आधुनिक, लोकदोहोरी लगायत विभिन्न भाषा–भाषी गरी जम्मा ५१ विधामा अवार्ड वितरण गरिएको थियो । निर्णायकको मत र भोटिङबाट उत्कृष्ट गीत, स्रष्टा छनोट गरी अवार्ड प्रदान गरिएको कार्यक्रमकी संयोजक कमला जोशीले जानकारी दिइन् ।  त्यस्तै, गीतकार तथा सञ्चारकर्मी किस्ना आचार्य रोशनीले वर्षको सर्वोकृष्ट शब्द रचना अवार्ड हात पारेकी छन् । उनले सर्वोत्कृष्ट शब्द रचना लोक दोहोरीमा गीत ‘जोगी’ बाट अवार्ड हात पारेकी हुन् । नेपाली साहित्य र गीत संगीतमा सानैदेखि रुचि राख्ने रोशनीले विशेष गजल लेखमा बढी लगाव राख्ने गरेको बताइन् । स्कुले जीवनदेखि नै गजल लेखन र वाचन गर्दा साथीबाट पाएको हौसला पाएको स्मरण गरिन् । उनका ‘संघर्ष’ गजल संग्रह र ‘च्यातिएको मन’ उपन्याससमेत प्रकाशित भइसकेका छन् ।

उनका सिर्जनामा अहिलेसम्म सालैजो, लोकदोहोरी, आधुनिक लगायतका गीत बजारमा आएका छन् । मोफसलमा रहँदै गीत, गजल र उपन्यास सार्वजनिक गरिसकेकी रोशनी करिब एक दशकदेखि काठमाडौंलाई कर्मथलो बनाएर लोकदोहोरी र पत्रकारितामा सक्रिय छन् । उनले विभिन्न कार्यक्रमबाट दिइने अवार्ड तथा सम्मानले आफ्नो सांगीतिक परिवेशमा थप उर्जा प्राप्त भएको प्रतिक्रिया दिइन् । रोशनीले नेसनल पावर म्युजिक अवार्ड २०७५ मा युवा पत्रकारिता सम्मान, इपिक म्युजिक अवार्ड २०७४ मा रंग पत्रकारिता सम्मान, नाट्यस्वर म्युजिक अवार्ड, २०७५ मा मौलिक सिर्जना सम्मान र म्युजिक खवर म्युजिक अवार्ड २०७६ मा उत्कृष्ट शब्द रचना विधामा अवार्ड प्राप्त गरिसकेको जानकारी दिइन् ।

प्रतिक्रिया