सिन्धुली । कमलामाई नगरपालिका–११ धमिलेमा ९० हेक्टर जमिनलाई सिँचाई पुर्याउन धमिले फाँट सिँचाई योजना सुरु गरिएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशको ३ करोड १२ लाख ६९ हजार कुल लागतमा धमिले फाँट सिँचाइ योजना सुरु भएको हो । आज बागमती प्रदेशसभा सांसद विनोदकुमार खड्काले एक औपचारिक कार्यक्रमको बीच शिलान्यास गर्नुभएको छ । उक्त योजना २९ दशमलव २४ प्रतिशत भ्याट घटी १ करोड ६० लाख २८ रुपैयाँ ७८ पैसामा सिनामंगल काठमाडौ मैनावली कँुवर जेभीले ठेक्कामार्फत निर्माण कार्य गर्ने जनाइएको छ ।
यस्तै, १६ लाख ११ हजार ७ सय ४० रुपैयाँमा उपभोक्ता समितिमार्फत सिँचाइ योजना निर्माण कार्य हुनेछ भने, १२ लाख ४ हजार ३ सय १३ रुपैयाँ लागतमा जनसहभागितामार्फत श्रमदान हुने जनाइएको छ । ०७८ कार्तिक २४ गते सम्ममा निर्माण सम्पन्न हुने उक्त योजनाले ९० हेक्टर क्षेत्रफलको बाली र १ सय २७ घरधुरीका ६ सय ५२ नागरिक लाभान्वित हुनेछन् । सिँचाइ आयोजना शिलान्यास गर्दै सांसद खड्काले निर्माण सामग्री गुणस्तर हुने विश्वास रहेको बताए । उनले उपभोक्ता समितिलाई निर्माण व्यवसायीलाई गरेको काम नराम्रो भए खबरदारी गर्ने आग्रह गरे । साथै उपभोक्ता समितिसँग समन्वय गरेका काम गर्न निर्माण व्यवसायीलाई उनले अनुरोध गरे ।
धमिले फाँट सिँचाइ योजना निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीको तर्फका चन्द्रदीप कोइरालाले योजनाको काम आर्थिक ०७७÷७८ को ज्येष्ठ महिनासम्म सम्पन्न गरिसक्ने बताए । उनले निर्माण कार्यमा देखिएका कमीकमजोरीलाई खबरदारी गरिदिन उपभोक्ता समितिलाई आग्रह गरे । साथै गुणस्तर सामानको प्रयोग गर्न बताए ।
कार्यक्रममा बागमती प्रदेश सभा सांसद विनोदकुमार खड्का, कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा, सिँचाइ डिभिजन कार्यलय सिन्धुलीका प्रमुख घनश्याम कार्की, धमिले फाँट सिँचाइ योजना जल उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर बस्नेत, कमलामाई नगरपालिका–११ का वडाध्यक्ष लगायतको स्थानीयको उपस्थति रहेको थियो ।
प्रतिक्रिया