सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल र खनाल समुहका नेता तथा कार्यकर्ताहरुले ओली सरकार विरुद्ध सर्लाहीको सदरमुकाम मलंगवामा मंगलवार भव्य बिरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओलीले चालेको संसद विघटन जस्तो असंवैधानिक कदमको विरुद्धमा देश नै प्रदर्शनमा होमिएको नेकपाका युवा नेता तथा चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादवले बताए ।
मलंगवाको पब्लिक स्कुलबाट निस्केको बिरोध जुलुस मुख्य बजारको परिक्रमा गरी सहिद चोकमा पुगेर बिरोधसभामा परिणत भएको थियो । बिरोध प्रदर्शन कार्यक्रममा प्रचण्ड–नेपाल र खनाल पक्षका जिल्ला, प्रदेश तथा केन्द्रिय तहका नेता एवं कार्यकर्ताहरुको भब्य उपस्थिति रहेको थियोे ।
गाँउ–गाँउबाट आएका नेता तथा कार्यकर्ताहरुले कालो ब्यानर सहित बिरोध प्रर्दशनमा उत्रिएका थिए । दशौं हजारको संख्यामा रहेका नेता तथा कार्यकर्ताहरुले ओलि सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए । केपी ओली मुर्दाबाद, बिद्या भण्डारी मुर्दाबाद, प्रतिगामी षडयन्त्र मुर्दाबाद, असंबैधानिक कु खारेज गर, संंसद बिघटन गर्न पाईदैन जस्ता नारा लगाएका थिए ।
नेकपाका जिल्ला सचिव कमल बुढाथोकीले सञ्चालन गरेको बिरोध सभालाई पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य रामेश्वर राय यादव, केन्द्रीय सदस्य एवं पार्टीका जिल्ला इन्चार्ज डाचाराज वाग्ले र पार्टीका जिल्ला अध्यक्ष रेवती पन्तले सम्बोधन गरेका थिए ।
बिरोध सभामा सहभागी भएका नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै क्रमशः तिनै जना वक्ताहरुले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमको विरुद्धमा चर्को बिरोध गरेका थिए ।
प्रतिक्रिया