गीतकार राखी गौचनलाई सर्वोकृष्ट अवार्ड

काठमाडौं । गीतकार राखी गौचनले ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ बाट सर्वोकृष्ट अवार्ड चुमेकी छन् । भर्खरै सम्पन एक समारोहकाबीच उनले ‘हे मन’ गीतमार्फत उक्त अवार्ड चुमेकी हुन् । सोही गीतका अर्का गायक शंकर थापा ‘स्माइल’ ले पनि उत्कृष्ट गायक आधुनिक तर्फको अवार्ड हात पारेका छ्न् ।

साहित्य र गीत संगीतमा सानैदेखि रुचि राख्ने कवयित्री तथा गीतकार गौचनले आफ्नो लगाव विशेष कविता लेखनमा रहेको जानकारी दिइन् । कक्षा ६ मा पढ्दा पहिलोपटक वाचन गरेको कविता ‘पर्दाभित्रको सुख र दुःख’ स्कुलमा प्रथम भएको समेत उनले सुनाइन् ।

कविता सँगसँगै गीत लेखनमा पनि लागेर गौचनले ‘जानी नजानी तिमिसंग कुनै रात मागेँ भने,’ नामविना कति नाता,’ ‘म आगो फुकेर धुवाँ लुकाउँदै छु,’ ‘यो सुन्दरता पनि सुन्दरता होइन’, ‘भनौँ भने मेरो कथा’ लगायत दर्जनभन्दा बढी उनका गीतहरु सार्वजनिक भइसकेका छन् ।

उनी हाल अमेरिकामा एक दशकदेखि बसोबास गर्दै आएकी छन् । गीतकार गौचनले नेपाली गीति लेखन र साहित्यमा पुर्याएको योगदानको कदरस्वरुप नेपाल तथा विदेशमा गरिने विभिन्न अवार्ड र सम्मानबाट थप उर्जा मिलेको सुनाइन् । उनले गीतकार संघले २०७५ मा उनलाइ डायस्पोरा सम्मान, राप्ती म्युजिक अवार्ड, बोस्टर म्युजिक अवार्डलगायत थुप्रै अवार्डहरुबाट सर्वोत्कृष्ट गीतकार विधामा अवार्ड प्राप्त भइसकेको पनि जानकारी दिइन् ।

यसपटक पनि कोरोनाको कहरका कारणले रोकिएको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ को तेस्रो संस्करण यही पुष ११ गते सम्पन्न भएको हो । गतवर्ष चैत्र महिनामा सम्पन्न हुनुपर्ने उक्त अवार्ड कार्यक्रम कोरोनाका कारणले रोकिएको थियो ।

सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय भाव, गजल, पप, आधुनिक, लोकदोहोरी लगायत विभिन्न भाषा–भाषी गरी जम्मा ५१ विधामा अवार्ड वितरण गरिएको छ । निर्णायकको मत र भोटिङबाट उत्कृष्ट गीत, श्रष्टा एवं सर्जकहरुलाई छनोट गरिएको र उत्कृष्टमा परेका श्रृजना, सर्जक एवं श्रष्टाहरुलाई अवार्ड प्रदान गरिएको कार्यक्रमकी संयोजक कमला जोशीले जानकारी दिइन् ।

प्रतिक्रिया