सिन्धुली । जिल्लामा नेपाल कम्युनिस्ट (नेकपा) को दुई पक्षका प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड–नेपाल समूहको छुट्टाछुट्टै भेला सम्पन्न भएको छ । नेकपाको ओली समूहले जिल्लाका नौ वटै स्थानीय तहमा भेला गरेको छ भने, प्रचण्ड–नेपाल समूह पक्षले पनि सिन्धुलीमाढीमा जिल्ला भेला गरेको छ । पालिका स्थरमा भेला गरेर पार्टीभित्र देखिएको अन्योल र पार्टी विभाजन हुनुको कारणबारे छलफल भएको प्रधानमन्त्री ओली पक्षका बागमती प्रदेश सांसद विनोदकुमार खड्काले बताए । उनले पार्टीको अबका रणनीतिबारे पनि भेलामा छलफल गरिएको बताए ।
यस्तै नेकपाको जिल्ला पार्टी कार्यालय सिन्धुलीको भवन निमार्णमा सहयोग नगर्नेहरूले पार्टी कार्यालयमा हक जमाउने गरेको कमलामाई नगरपालिकाका नगर कमिटी इन्चार्ज महेन्द्रदेव श्रेष्ठले बताए । आइतबार कमलामाई नगरपालिकास्तरीय प्रधानमन्त्री ओली पक्ष समूहको भेलामा उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओली सरकारले राम्रो काम गर्दागर्दै आफ्नै पार्टीका समकक्षी साथीले घेराबन्दी गरी काम गर्न नदिएकाले संसद् विघटन गर्न सरकार बाध्य भएको बताए । साथै उनले बहुमतको सरकार हुदाँ विभिन्न कारणले सरकारलाई काम गर्न उपयुक्त वातावरण नभएमा सरकारले संसद् विघटन तथा मध्यावधि चुनाव गर्न पाउने व्यवस्था संविधानमा उल्लेख भएको जानकारी दिए ।
प्रतिक्रिया