सडक निर्माणसँगै सर्वसाधारणलाई सहज महसुस

स्याङ्जा । भूगोलको हिसाबले निकै दुर्गम मानिने स्याङ्जाको हरिनास गाउँपालिकामा सडक निर्माणले तीव्रता पाएसँगै सर्वसाधारणले सहज महसुस गर्न थालेका छन् । पालिकामा पहिलोपटक १ हजार ३ सय मिटर सडक कालोपत्रे भएको छ भने विभिन्न सडक खण्डअन्तर्गत ४५ किलोमिटर सडक कालोपत्रेको तयारी भइरहेको छ । तनहुँको भीमाददेखि राम्चेसम्म १८ किलोमिटर पुनर्निर्माणको बजेटबाट कालोपत्रेको तयारी भइरहेको छ ।

चित्रेदेखि राम्चेसम्म १ हजार ३ सय मि. कालोपत्रे अन्तिम चरणमा पुगेको छ । यसैगरी साँखेदेखि गाउँपालिका केन्द्रसम्म १७ किलोमिटर र रातेपहरादेखि गिरकोटसम्मको १० किलोमिटर प्रदेश सरकारको कार्यक्रमअन्तर्गत कालोपत्रे गर्ने तयारी भइरहेको छ । यसरी धमाधम सडक निर्माणले तीव्रता पाएसँगै हरिनासवासीले वर्षातको समयमा सवारी साधन धकेल्नुपर्ने समस्याको अन्त्य हुने गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धर बताउँछन् ।

उनी भन्छन् , ‘विकासको पहिलो पूर्वाधार नै सडक रहेछ । त्यसैले स्थानीय सरकार र प्रदेश सरकारको साझेदारीमा पहिलोपटक पालिकामा कालोपत्रे सडक निर्माण गरेका छौँ ।’ प्रत्येक शनिबार जनतासँग अध्यक्ष कार्यक्रम लिएर जनताको घरआँगनमा पुग्ने गरेका मानन्धरले पहिला जनताको समस्या बुझ्ने र समाधान गर्ने नौलो अभ्याससमेत गरेका छन् । जनताको पहिलो माग सडक नै भएको बताउँदै सडकलाई प्राथमिकतामा राखिएको वडा–४ का वडाध्यक्ष चिन्तामणि शर्माले बताए ।

यस क्षेत्रको किनमेल गर्ने प्रमुख बजार भीमाद र पोखरा भएको कारण सहज खाद्यान्न ओसारपसार गर्न र यहाँ उत्पादन भएको कृषि उपज निर्यात गर्नसमेत टेवा पुग्ने शर्मा बताउँछन् । शिक्षा र स्वास्थ्य सेवा लिन पनि कास्की तनहुँ सहज हुने उनले बताए । सडक सञ्चाल जोडिएसँगै हरिनासका जनता खुसी भएका छन् । हरिनास–४ का ५८ वर्षीय लिल ब.थापा भन्छन्, ‘गत वर्ष तनहुँको भीमादमा रासन किनमेल गर्न जाँदा बाटोमा जिप धकेल्नु परेको थियो । सडक संजालले हरिनास नजोडिएको कारण हामी धेरै दुर्गममा थियौँ । अहिले धेरै सुख भएको छ ।’ केन्द्रको सिंहदरबार गाउँघरसम्म आएको महसुस गरेका सर्वसाधारण अब उच्चतम सडकको प्रयोग गर्दै स्थानीय उत्पादनमा पनि वृद्धि गर्नसके गाउँवासी आर्थिक समृद्धिसँग पनि जोडिने देखिन्छ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया