जुम्ला । जिल्लाको सदरमुकाम खलंगा बजार अर्थात् चन्दननाथ नगरपालिकामा सातामा ९४ घण्टा विद्युत्भार कटौती हुने गरेको छ । घुघुत्ती साना जलविद्युत् आयोजनाको दुवै मेसिन बिग्रेपछि चर्काे लोडसिडङको मार खेप्नुपरेको हो । नगरपालिकावासी दुई महिनादेखि अँध्यारोमा बस्न बाध्य छन् । यहाँका नागरिक अँध्यारोमा बस्न थालेको अहिले मात्र भने होइन । हप्ता, महिना हुँदै वर्ष दिनसम्म पनि अँध्यारो खेपिरहेका नागरिकलाई अहिलेको अँध्यारो नौलो लाग्न छाडिसकेको छ ।
घुघुत्ती विद्युत्गृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलंगा बजारसहित सिंगो चन्दननाथ नगरपालिका गएको कात्तिक दोस्रो सातादेखि अन्धकार छ । वैकल्पिक व्यवस्थाका लागि ल्याइएका डिजेल प्लान्ट पनि इन्धन अभावले एक दिनमा ६ घण्टा मात्र चलाउने गरिएको छ । एक वर्षअघि सांसद गजेन्द्रबहादुर महतको पहलमा विद्युत् प्राधिकरणले एक करोड रुपैयाँको लगानीमा तीन सय केभीको डिजेल प्लान्ट जुम्ला पठाएको थियो । विद्युत्गृहका उपकरण बिग्रिएपछि र इन्धन अभावमा प्लान्ट सञ्चालन हुन सकेन । त्यसयता खलंगा अन्धकार छ ।
०४० मा घुघुत्तीमा उत्पादित विद्युत् गृहको मेसिन जीर्ण भएपछि चार वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको २ करोड ६३ लाख ७७ हजार र थप तत्कालीन जिल्ला विकास समितिबाट थप रकम गरी ३ करोड ९ लाख रुपैयाँ बजेटबाट नयाँ मेसिन जडान भयो । नक्कली नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटकपटक बिग्रिने गरेपछि यहाँका नागरिकले अँध्यारोमै बस्नुपरेको हो ।
दुईवटै टर्वाइन मेसिन बिग्रिएपछि विद्युत् आपूर्ति ठप्प भएको वितरण केन्द्रका निमित्त प्रमुख हेमन्त साहुले बताए । ‘एउटा मेसिनमा क्वाइल जलेर समस्या आएको छ’, उनले भने, ‘अर्कोमा बेरिङ भाँचिएको छ ।’ मेसिन मर्मतका लागि कार्य थालनी गरिएको छ । डिजेल प्लान्ट सञ्चालनका लागि तेलको व्यवस्था नभएकाले प्राधिकरणसँग अनुरोध गरिएको निमित्त प्रमुख साहुले बताए । ‘मेसिन मर्मत हुन धेरै समय लाग्ने भएकाले तत्कालका लागि डिजेल प्लान्ट सञ्चालन गर्न माग गरेका छौँ’, उनले भने, ‘अहिले दैनिक ६ घण्टा मात्र डिजेल प्लान्ट सञ्चालनमा छ ।’
नागरिक समाजमा अगुवा राजबहादुर महतका अनुसार ‘भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौँ’, उनले भने, ‘एक त लोडसेडिङको चर्को मार छ, त्यसमा पनि महीनौँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार नयाँ मेसिन जडान भएपछि प्रत्येक महिना बिग्रिरहेको छ ।
जिल्लामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले अवरुद्ध बिजुली आपूर्ति गर्नका लागि दैनिक ६ घण्टाबाट १२ घण्टा डिजेल प्लान्ट सञ्चालन गर्न विद्युत् प्राधिकरण जुम्लासँग पहल गर्ने निर्णय भए पनि सञ्चालनमा आएन । त्यसैगरी जुम्ला ल्याउन लागिएको ३३ केभी मेसिन छिटो पु¥याउन ध्यानाकर्षण गराए पनि राज्यको ध्यान नपुगेको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले बताए ।
जवानदीबाट पाँच मेगावाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन भइसकेको र आव ०७२/७३ मा सरकारको नीति तथा कार्यक्रममा परेको हो । तर सरकारले कार्यान्वयन नगरपछि सर्वाेच्च अदालतमा रिट परेको पूर्वसांसद ललितजंग शाहीले बताए । उनले भने, ‘रिट परेपछि सर्वाेच्च अदालतले पाँच मेगावाट बिजुली उत्पादनको काम गर्नु÷गराउनु भनी परमादेशसहितको आदेश गर्दा पनि सरकारले कार्यान्वयन गरेन । यस्ता प्रकारका गतिविधिले पनि यहाँका नागरिक अँध्यारोमा बस्नुपरेको हो । नगरपालिकाभित्र ४ हजार २ सय ७१ घरधुरी र २० हजार ८ सय ८४ जनसंख्या छ ।’
लामो समयदेखि बिजुली आपूर्ति नहुँदा यहाँका सञ्चार गृह प्रभावित भएका छन् । खलंगामा सञ्चालित सञ्चारगृह रेडियो, छापा र सरकारी तथा गैरसरकारी कार्यालयका काम प्रभावित भएका हुन् । नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरमबहादुर महतका अनुसार दुई महिनादेखि उपभोक्ता बिजुलीविहीन छन् । सञ्चारगृह बन्द छन् । मोबाइलसमेत चार्ज गर्न नपाएर एकअर्कामा खबर आदानप्रदान बन्द भएको छ ।
प्रतिक्रिया