ठूलो संख्यामा रूख कटान गर्नुपर्ने हल्ला निराधार साबित

बारा । जिल्लाको निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा ठूलो सङ्ख्यामा रूख कटान गर्नुपर्ने हल्ला निराधार साबित हुने देखिएको छ। विमानस्थल निर्माण आयोजनाको समन्वयमा डिभिजन वन कार्यालय बाराले दुईवटा प्लटमा काट्नुपर्ने रूखको नम्बरिङ गर्दा ३३ प्रतिशत मात्रै हुन सक्ने देखिएको छ। विमानस्थल निर्माणका लागि चाहिने कुल ११ हजार ८ सय ७५ बिघा क्षेत्रफलमध्ये पहिलो चरणमा १९ सय हेक्टर अर्थात् २ हजार ८५० बिघा वनक्षेत्रमा डिभिजन वन कार्यालय बाराले नम्बरिङ, ट्यागिङ शुरू गरेकोमा दुईवटा प्लट अर्थात् १९१ हेक्टर वनक्षेत्रका रूख र पोल आकारका समेत सबै बोटबिरुवा गणना गर्दा ५७ हजार ३५० वटा मात्रै पाइएको र सोमध्ये ३३ प्रतिशत मात्रै रूख आकारको रहेको डिभिजन वन बाराका प्रमुख मन्जुर अहमदले जानकारी दिएका छन्।

अब बाँकी १० वटा प्लटमा पनि कहींकतै केही थपघट हुन सक्ने तर सरदर यही अनुपातमा रूखको सङ्ख्या निस्कने उनको अनुमान छ। विमानस्थल निर्माण क्षेत्रमा यसअघि २४ लाखभन्दा बढी रूख कटान गर्नुपर्ने अफवाह फैलिएको थियो। सोही आधारमा वातावरण प्रेमीहरूले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दा अहिलेसम्म विचाराधीन छ।

सरकारले यकीन रूखको सङ्ख्या गणना गर्न रूखको नम्बरिङ, ट्यागिङ शुरू गरेको हो। विमानस्थल निर्माणअगाडि गर्नुपर्ने तयारीमध्येमा नम्बरी जमीनमा रहेको र मुआवजा लिइसकेका घरहरूमा प्रयोग भएका काठ अन्यत्र लान समस्या भएको बताइएको छ। घरसारी भनेर वन कार्यालयले इजाजत दिन पाउने कार्य केही वर्षदेखि सरकारले रोक लगाएको कारण लिखित आधारमा दिन नसकेको डिभिजन वन कार्यालयका प्रमुख अहमदले बताउनु भयो।

बस्ती स्थानान्तरण वा अधिग्रहणमा परेका क्षेत्रका घरसारबारे सङ्घीय, प्रदेश र स्थानीय तहले छुट्टै कार्यविधि बनाएर निकास दिनुपर्ने उनले सुझाएका छन्। काँटगाउँ, ककरीलगायतका ११० बिघा ३ कट्ठा नम्बरी जग्गामध्ये ४४ करोड मुआवजा दिई ६५ बिघा ३ कट्ठा १२ धुर जग्गा आयोजनाले आफ्नो स्वामित्वमा लिइसकेको र बाँकी जग्गाको प्रक्रिया चलिरहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना बाराका प्रमुख विजय यादवले जानकारी दिएका छन्।

लकडाउनको समयमा केही ढिलाइ भएपनि काम भने नरोकिएको उनले बताए । हालसम्म विमानस्थल निर्माण गरिनुपूर्व तयारी कार्यका लागि रु ६७ करोडभन्दा बढी खर्च भइसकेको छ। विमानस्थलको चार किल्ला घेर्न ६५ किलोमिटर लम्बाइ तारबार सम्पन्न गर्न ४ करोड ४३ लाख खर्च भइसकेको छ भने १८ करोड ६७ लाख ३७ हजार ३७ रुपैयाँ लागतमा निजगढस्थित बकैया खोलामा धमाधम तटबन्धको कार्य भइरहेको छ।

विमानस्थल निर्माणका लागि मुख्य समस्याको रूपमा रहेको वनक्षेत्रभित्र बसोवास रहेको टाँगियाबस्ती स्थानान्तरण रहेको बताउँदै यसका लागि पनि गृहकार्य अन्तिम चरणमा पुगिसकेकोले आफू आशावादी रहेको प्रमुख यादवले बताएका छन्। टाँगियाबस्तीमा ७३१ बिघा १४ कट्ठा वनको जमीनमा करीब ८ हजार जनसङ्ख्या बसोवास गर्दै आइरहेका छन्। सो क्षेत्रमा बसोबास घरधुरी सङ्ख्या १४ सय ७६ छ।

विमानस्थल निर्माणको हल्ला वर्षौंदेखि चलिरहेकाले अझै कैंयन वर्ष लाग्ने भन्दै टाँगियाबस्तीका बासिन्दाहरू स्थानान्तरणमा चासो देखाइरहेका छैनन्। विमानस्थल निर्माण यस क्षेत्रको भाग्य र भविष्य रहेको बताउँदै विमानस्थल निर्माणमा सबै पक्षले आआफ्नोतर्फबाट सक्दो सहयोग पुर्याउनुपर्ने र आवश्यकताभन्दा माथि कोही कसैले पनि अवरोध गर्ने र समस्या निम्त्याउन नहुने जिल्ला समन्वय समिति बाराका संयोजक नवलकिशोर सिंहले बताएका छन् ।

प्रतिक्रिया