गुल्मीमा निर्माणाधीन विद्यालय भवन तोडफोड

गुल्मी । गुल्मीमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण शिक्षाबाट बन्दै गरेको विद्यालय भवनमा तोडफोड भएको छ। मालिका गाउँपालिका वडा नं ७ घमिरको देवीस्थान माध्यमिक विद्यालयको निर्माणाधीन भवनमा गएराति अज्ञात समूहले तोडफोड गरेको विद्यालयका प्रधानाध्यापक खिमबहादुर बुढाथोकीले जानकारी दिए।

निर्माणाधीन विद्यालयको भवनमा तोडफोड भएको र घटनास्थलको मुचुल्का तयार पारी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षाबाट निर्माणाधीन ४ कोठे विद्यालय भवनको दुईवटा कोठा, ४ वटा झ्याल र भौतिक संरचनामा तोडफोड भएको बुढाथोकीले जानकारी दिए।

निर्माणाधीन भवनको हाल सम्म ३५ प्रतिशत काम सम्पन्न भएको राष्ट्रिय पुनस्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, शिक्षा इकाइका प्रमुख पीताम्बर पन्थीले जानकारी दिए। त्यस क्षेत्रमा यस अगाडी पनि वडा कार्यालय तोडफोड गरी नगद र ल्यापटप पनि चोरी भएको थियो। कसले चोरी गरेको भन्ने बारेमा अहिलेसम्म खुल्न सकेको छैन। ती घटनाबारे पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया