लकडाउनको सदुपयोग गर्दै कृषिकर्ममा शिक्षक

स्याङ्जा । बुढापाकाले गाउँघरतिर आफ्नो छोरा नातिलाई भन्ने एउटा उखान प्रचलित छ, ‘नपढे हलो जोत्लास् ।’ यस्तै संस्कारको कारण पढेलेखेका मानिसहरू केही गर्न हुँदैन भन्ने मानसिकतामा हाम्रो समाज रुमलिएको छ । तर, स्याङ्जाको एक विद्यालयका शिक्षकले नै सामूहिक पशुपालनसहित तरकारी खेती गरेका छन् । लक डाउनसँगै विद्यालय बन्द भएपछि गल्याङ नगरपालिका–११ स्थित श्री बज्रे भञ्ज्याङ माध्यमिक विद्यालयका शिक्षक सामूहिक कृषि पेसातर्फ आकर्षित भएका हुन् । यहाँ अध्यापन गराउँदै आएका ६ जना शिक्षकले १५ वटा टनेलमा मौसमी बेमौसमी तरकारी, पशुपालनअन्तर्गत लोकल तथा बोइलर कुखुरा र बंगुरपालन गर्न थालेका छन् ।

गत ११ चैतबाट देशभर लक डाउन भएसँगै विद्यालयसमेत बन्द भएपछि फुर्सदिलो बनेका शिक्षकहरूले लक डाउनको समय सदुपयोग गरेका छन् । उनीहरूले वैशाखदेखि २५ लाखको लागतमा बतासकोट नमुना कृषि तथा पशुपालन फर्म सञ्चालनमा ल्याएका हुन् । शिक्षकहरूले पनि कृषि कर्म गर्न हुन्छ भन्ने सन्देशले स्थानीयवासी पनि कृषि पेसातर्फ उत्साहित भएको फर्मका संयोजक नेत्रप्रसाद गैरेको भनाइ छ ।

उनी भन्छन्, ‘पढेलेखेकाले पनि कुटो कोदालो गर्नहुन्छ भन्ने सन्देश दिन खोजेका हौँ । उच्चतम प्रविधिको प्रयोग गरेर थोरै जग्गामा धेरै आम्दानी कसरी लिने भनेर अवलोकन गर्न आउने विद्यार्थी, स्थानीयवासी र अभिभावक यो फर्म देखेर उत्साहित हुनुहुन्छ ।’

अहिले यो फर्ममा १५ वटा टनेलमा बेमौसमी र मौसमी तरकारी खेती गरिएको छ । टनेलभित्र उत्पादन भएको टमाटर, बन्दा, काउली, खुर्सानी लगायतका तरकारीजन्य बस्तु स्थानीय बजारमा खपत भइरहेको छ । यहाँ तरकारीको अतिरिक्त पशुपालनसमेत गरिएको छ । कुखुरा र बंगुरपालन गरेका शिक्षकहरूले वार्षिक २० लाख आम्दानी गर्ने लक्ष्य लिएका छन् । दैनिक शिक्षण पेसामा व्यस्त हुने शिक्षक लक डाउनपछि दिन काट्न मुस्किल भएको बताउँदै शिक्षक रेशमबहादुर राना भन्छन्, ‘अहिले समयको सदुपयोग मात्र होइन आम्दानी पनि भएको छ । टोल शिक्षामा अध्यापन पढाउन जान्छौँ, अतिरिक्त समय सबै शिक्षक टनेल भित्र कुटो कोदालो गर्छौं ।’

यहाँ उत्पादन भएको कृषि उपज बिक्रीको लागि स्थानीय बजार गल्याङ र वालिङमा खपत हुँदै आएको छ । पढेलेखेकाले कृषि कर्म गर्न हुँदैन भन्ने मानसिकतालाई यहाँका शिक्षकले गतिलो उदाहरण दिएपछि स्थानीयवासीसमेत कृषि क्षेत्रमा आकर्षित भएका छन् ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया