ग्यामिनी दिदी र नयाँ टोल

परिचय
हुन त उनको नाम शुकमाया ग्यामी मगर हो तर चिनेका धेरैले उनलाई ग्यामिनी दिदी नै भनेर बोलाउँछन् त्यसैले यो नाम नै उनको स्थापित नाम बन्न पुगेको छ ।
पछिल्लो पटक मैले उनलाई भेटेपछि ‘कति वर्ष हुनुभो दिदी ?’ भनेर सोधेँ ।
‘खै कति भयो भयो, भयो होला नी सत्तरी पचहत्तर वर्ष ।’
दिदीले यसो भनेपछि मैले विगतलाई सम्झेँ । मैले उनलाई सबैभन्दा पहिले ०३४ सालमा भेटेको हुँ, त्यतिबेला उनी २८/३० वर्षकी जस्ती देखिन्थिन्, त्यसैले दिदी यतिबेला ७२/७३ वर्षभन्दा बढी भएकी छैनन् भन्ने अनुमान गरेँ मैले ।

बोल्न नसक्ने, हिँड्दाखेरी पनि खुट्टा लर्बराएर हिँड्ने छोरी, ग्यामिनी दिदीको सन्तानको नाममा यत्ति एउटी छोरी हुन् । तिनको पनि २६/२७ वर्ष पहिले नै बिहे भयो । घरज्वाइँ भएर बसेका ज्वाइँ बाठै छन् । छोरीका दुई भाइ छोरा र एउटी छोरी गरी तीन सन्तान भए । नातिनीको बिहे भएर दुई सन्तान भए, उनी आफ्नै घरमा छन् । नाती जेठाको पनि विवाह भएर उनका पनि दुई सन्तान भइसकेका छन् । अहिले आपूm, छोरी, ज्वाइँ, दुई भाइ नाती, जेठा नातीकी श्रीमति (नातिनी बुहारी) र उनका दुई सन्तान (पनाती–पनातिनी) समेत गरी आठ जनाको परिवार छ ग्यामिनी दिदीको ।

पहिले खयरमारा पञ्चायत, वहुदल आएपछि खयरमारा गाविस र अहिले बर्दिबास नगरपालिका–११ बन्न पुगेको नयाँ टोलमा छ उनकोे घर । उब्जनी राम्रो भएमा आफ्नै खेतीले खान पुग्छ । कहिलेकाहीँ ज्वाइँ र नातीहरूले बाहिर काम गरी कमाएको कमाइले दुखजिलो लगाउन र अन्य खर्च पनि धानिएकै छ, त्यसैले उतिसारो दुःख छैन भन्छिन्, ग्यामिनी दिदी ।

जीवन भोगाइ
‘के को बिहे गर्नु नि त्यतिकै भगाएर ल्याको’
‘बिहा भएरै आउनु भएको त होला नि हैन दिदी ?’ भनेर सोध्दा त्यस्तो जवाफ दिएकी थिइन् ग्यामिनी दिदीले ।
भएको के रैछ भने खयरमारा नयाँ टोलका मानवहादुर ग्यामीकी जेठी श्रीमती तुलमायाबाट सन्तान नभएपछि नजिकै रहेको टुटेश्वर गाउँको थापा मगरकी छोरी शुकमायालाई मानबहादुरले भगाएर ल्याएका रहेछन् । शुकमाया गर्भिणी भएपछि मानबहादुर बिरामी परे, बिरामी निको हुन सकेन । आफू मात्रै २२ वर्ष उमेरकी र गर्भिणी रहेकै बखत मानबहादुर बिते, शुकमायाका लागि त्यो क्षण सबैभन्दा बढी पीडादायी बन्न पुग्यो । श्रीमान् बितेको केही महिनापछि छोरी जन्मिइन्, गर्भे टुहुरी भएकाले शुकमायाले छोरीको नाम नै ‘गर्भी’ राखिदिइन् ।

अब घरमा दिदी (सौता) तुलमाया, आफू र नाबालक छोरी गर्भीबाहेक अरू कोही थिएनन् । तुलमाया र शुकमाया सौता सौता भए पनि सहोदर दिदी बहिनीभन्दा बढी घनिष्ट भएर रहन थाले । दुवैले एकअर्कालाई असाध्यै माया र आदर गर्थे । श्रीमान बितेपछि शुकमायाभन्दा निकै जेठी तुलमायाको आँखा कमजोर हुँदै गयो । उनी राम्ररी कान पनि सुन्दैनथिन्, त्यसैले त्यस घरको मुख्य अभिभावकत्व शुकमायाले नै सम्हाल्न थालिन् । छोरी गर्भी १० वर्ष हुँदासमेत बोल्न र राम्ररी हिँड्न सक्ने नभएपछि छोरीको अवस्थामा सुधार आउला भन्ने आशा मर्यो ।

यस प्रकारको परिवारिक जिम्मेवारी सम्हालीरहेकी एक एकल युवतीले आजभन्दा लगभग ५० वर्ष पहिलेको जमानामा के कस्ता कठिनाई र जोखिमहरूको सामना गर्नुप¥यो होला ? तर कडा र साहसी स्वभाव तथा निकै बलियो जिउज्यान भएकी ग्यामिनी दिदीले यस्ता परिस्थिति र जोखिमहरूको डटेर सामना गरिन् । उनीमाथि कसैले गिद्दे नजर मात्रै लगायो भने त्यस्तालाई उनी थप्पड दिइहाल्थिन । रिस उठेपछि थप्पड लगाई हाल्ने उनको जब्बड स्वभावका बारेमा त्यता वरिपरिका धेरैले थाहा पाए । त्यसपछि त मै हुँ भन्ने दादाहरूले समेत ग्यामिनी दिदीमाथि कुदृष्टी लगाउने आँटसम्म पनि गर्न छाडे ।

तैपनि पुरुषप्रधान समाज एक्ली महिलालाई देखेपछि कतिपयले हेप्न, ठग्न, फकाइफुल्याइ गर्न त खोजी नै हाल्थे । उनले यस्ता अनेकौँ कठिनाइहरूको सामना गर्नु परे पनि कहिल्यै हरेस खाइनन्, डटेर सामना गर्दै आफूसहित तीन जनाको परिवारलाई पालनपोषण र संरक्षण गर्दै अगाडि बढिन् ।

अब भने निरक्षर शुकमायाको जीवनमा कठिन पढाइहरू सुरु भए । उनले बडा होसियारीपूर्वक जोगिएर आफू र आफूमा आश्रितहरूको जीवनलाई अगाडि बढाउने उपाय पढिन्, आफू बाँचेको समाजका अनेकौँ पीडाहरूलाई पढिन््, पुरुषको कुटपिट, गाली, हेपाइ र दासीको जस्तो व्यवहारलाई सहँदै दिनहुँजसो आँसुको घुट्को पिएर जीवन चलाउन विवस धेरै महिलाहरूको अवस्थालाई पढिन्, छुवाछुत, छिःछिः, दुरदुर, हेपाइ, अपहेलना र ठगाइ सहन विवश दलित तथा आदिवासी जनजातिहरूको पीडालाई पढिन्, बिहान घाम उदाएदेखि बेलुकी घाम अस्ताउँदासम्म मरीमरी काम गर्दा पनि दुई किलो भुस्या धानभन्दा बढी ज्याला नपाउने ज्यामीहरूको दुःख र अभावलाई पढिन्, एक सय रुपैयाँ ऋण दिए वापत १० कट्ठा जग्गा नै कब्जा गरिदिने साहुहरूको शोषण र ठगीलाई पढिन्, तरुनी चेलीहरूलाई बलात्कार गरेर गर्भिणी बनाएपछि बिचल्ली पारेर छाडिदिने बलत्कारी र व्यभिचारीहरूलाई पढिन् । आदिजस्ता अन्याय, अत्याचार, शोषण उत्पीडन्, जातीय र लैंगिक भेदभाव, जालझेल ठगी लगायतका अनेकौँ अमानवीय अपराधहरूलाई किताबमा पढेर हैन समाजलाई पढेर ज्ञान आर्जन् गरिन्, ग्यामिनी दिदीले ।

समाज भित्रका यस्ता अवस्थाहरूलाई देख्नुपर्दा उनलाई कहिलेकाहीँ त यस्तो अपराधीहरूलाई छपछपी छप्काइदिउँजस्तो पनि लाग्थ्यो उनी भन्छिन्, ‘तर यस्तो अन्याय अत्याचार सहेर बसेकोहरू डरले केही गर्ने आँट गर्दैनथ्यो, आफू एक्लो आइमाइ के गर्न सकिन्थ्यो र दारा किट्यो बस्यो ।’


क्रा.क.सं.को गठन र ग्यामिनी दिदीसँगको पहिलो सम्पर्क
चिनिया सांस्कृतिक क्रान्ति (ई. १९६६–१९७६), भारतको नक्सलबाडी किसान विद्रोह (ई. १९६७) र झापा विद्रोह (वि.सं.२०२८) बाट प्रभावित तर कुनै पनि कम्युनिस्ट दलमा संलग्न नरहेका जनकपुरका केही युवाहरूको समूहमा ०२९ सालतिर म पनि सहभागी हुन पुगेँ । विभिन्न प्रतिकूलताले झापाली विद्रोहीहरूसँग एकीकृत हुने अनुकूलता नमिलेपछि हाम्रो समूहको अगुवा हेमबहादुर विष्टको नेतृत्वमा ०३३ सालमा ‘क्रान्तिकारी कम्युनिष्ट संगठन, नेपाल’ (क्रा.क.सं.) गठन गरियो । त्यस संगठनले नेपालका अन्य विभिन्न जिल्लाहरूका साथै विशेषतः जनकपुर अञ्चलका सबै जिल्लाहरूमा आफ्ना सांगठनिक गतिविधिहरूलाई विस्तार गर्न थाल्यो । यसै क्रममा महोत्तरी जिल्लाको तत्कालीन खयरमारा गाउँपञ्चायतमा पनि स्थानीय किसानहरूलाई संगठित गर्ने कामलाई अगाडि बढाइयो । संगठनका एक अगुवा कमल देवकोटाले त्यस क्षेत्रको जिम्मेवारी सम्हालेका थिए ।

मेरो पनि ०३३ सालदेखि खयरमारामामा नै घरबास बनेकाले मेरा परिवार त्यहीँ नै थिए । म भने त्यतिबेला सिन्धुलीमा सरकारी जागिरे हुनुको साथै सोही जिल्लामा संगठनको जिम्मेवारी पनि सम्हालिरहेको थिएँ । त्यसैले बढिमा महिनाको एकपटक एक÷दुई दिनका लागि घर पुग्ने गरेको मैले आफ्नो टोलबाहेक अन्यत्र घुमफिर गर्ने अवसर पाएको थिइनँ र धेरै मानिसहरूसँग मेरो परिचय पनि थिएन ।

संभवतः ०३४ साल असोजको एक साँझ कमल देवकोटाको पत्र लिएर खयरमाराको एक जना साथी मकहाँ आइपुग्नुभयो । ‘कमरेड हरी (हेमवहादुर विष्ट) आउनुभएको छ, संगठनको जरुरी बैठक बस्नुपर्ने भएकाले पर्सी बेलुकासम्म जसरी पनि खयरमारा आइपुग्नु होला ।’ त्यो पत्र पाएपछि म पर्सीपल्ट बेलुकी ५ः३० बजेतिर खयरमारा आफ्नै घरमा पुगेँ । बेलुकी ६ः३० बजेतिर कमलजी मकहाँ आइपुगे । हामीले घरमै खाना खायौँ र हेमजी बसेको सेल्टरतिर लाग्यौँ ।

कमलजीले मलाई खयरमाराकै नयाँटोल गाउँको एउटा खपडाले छाएको घरमा पु¥याए । दैलैमा उभिएकी एकजना महिलाले हामीलाई मुट्ठी कसेर लालसलाम गरिन् र कसिलो गरी हात मिलाइन् । हामी भित्र पस्यौँ, टुकीको मधुरो उज्यालोमा उनी औसत महिलाभन्दा अलि ठूलै जिउडालकी र निकै दर्बिली जस्ती देखिइन् । घरभित्रको अँगेनमा अलि पाको उमेरकी अर्की महिला खाना बनाइरहेकी थिइन् अँगेनुसँग सटेको मझेरीमा सात÷आठ वर्षकी जस्ती लाग्ने एक बालिका घँुडा दोब्राएर बसिरहेकी थिइन् ।

हामीलाई स्वागत गर्ने महिलाले ‘तपाईंहरूलाई पनि खाना बनाउँ है कमरेड ?’ भनेर सोधेपछि कमलजीले ‘हामीले खाना खाएर आएकाले पर्दैन’ भनेर जानकारी गराएँ । त्यसपछि उनले घरभित्रै रहेको लिस्नोबाट हामीलाई माथ्लो तलामा पु¥याइन् । ठिंग उभिन नसकिने खपडाको छानामुनीको होचो माटे तलाको माझमा टुकी बालेर ओरीपरी विक्षाइएको गुन्द्रीमा पँलेटी मारेर चार जना युवाहरू बसेका थिए, जसमध्ये एक जना हरी अर्थात हेमवहादुर विष्ट र अरू तीन जना अन्य जिल्लामा संगठनको जिम्मेवारी सम्हाल्दै आएका कमरेडहरू थिए । आ–आफ्ना कोडनामबाट हामीले आपसमा परिचय गर्यौ ।

सेल्टरदाता महिलाले आफ्नो नाम वीरमाया (?) बताइन् । परिचय सकिएको केही समयपछि क.वीरमायाले चार जना साथीका लागि खाना लिएर आइन् । खाना खाइसकेपछि साथीहरूले त्यहीँ राखिएको बाटामा चुठे । त्यसपछि वीरमाया हामीबाट बिदा हँुदै थालहरू लगायतका भाँडाहरू लिएर तल झरिन् । हामी ६ जना साथीहरू ‘सांगठनिक कामलाई कसरी विस्तार गर्ने, व्यवस्थित र प्रभावकारी बनाउने भन्ने सम्बन्धमा छलफल गर्न बैठक बस्यौँ । राती नौ बजेबाट सुरु भएको हाम्रो बैठक राती दुई बजेसम्म जारी रह्यो । बैठक सकिएपछि हामी सबैजना त्यहीँ नै सुत्यौँ ।  पछि थाहा भयो क.वीरमाया नै ग्यामिनी दिदी थिइन्, खाना बनाउने महिला उनकी दिदी (सौता) तुलमाया र सानी बालिका ग्यामिनी दिदीकी छोरी गर्भी थिइन् ।


कम्युनिस्ट गतिविधिमा क्रियाशीलता
क्रान्तिकारी कम्युनिस्ट संगठनले ग्यामिनी दिदीलाई त्यस क्षेत्रका निम्ति एक जिम्मेवार महिला नेतृकै रूपमा विकास गराएको थियो । उनले महोत्तरी जिल्लाअन्तर्गत संगठनको सम्पर्क रहेका कतिपय ठाउँहरूमा पुगेर स्थानीय किसान महिलाहरूलाई संगठित गर्ने र आफूले जाने बुझेसम्म सचेतना कार्यक्रम सञ्चालन गर्ने गर्थिन् । उनले ठाउँठाउँमा संगठनको जरुरी सूचना पु¥याउने र ल्याउने जिम्मेवारी पनि बहन् गरेकी थिइन् । एकपटक त उनले संगठनको निर्देशनअनुसार सिन्धुलीको कुनै विकट ठाउँबाट पेस्तोल लुकाएर ल्याई संगठनको जिम्मेवार साथीलाई बुझाएकी थिइन् । साथै साथीहरूलाई आफ्नो घरमा राखेर खानपिनको व्यवस्था मिलाउने जिम्मेवारी पनि सम्हाली नै रहेकी थिइन् ।ग्यामिनी दिदी यसरी क्रियाशील रहँदारहँदै ०३७ सालमा क्रा.क.सं. पूर्व नेकपा (माले) मा एकीकृत भयो । त्यसपछि त दिदीको घर देशका विभिन्न ठाउँमा भूमिगत भई काम गर्ने कमरेडहरूका लागिसमेत भरपर्दाे आश्रयस्थल बन्न पुग्यो । दिदीको घरमा सरदर दुइ जना कमरेडहरू त अटुट रूपमै रहेका हुन्थे ।

क्रा.क.सं.पूर्व मालेमा एकीकृत भए लगत्तै ०३७ सालको पुसतिर हेमवहादुर विष्ट, कमल देवकोटा, म र अन्य एक जना साथीले उक्त पार्टीको पार्टी सदस्यता पनि ग्यामिनी दिदीकै घरमा लिएका थियौँ । हामीलाई सदस्यता प्रदान गरेर शपथ ग्रहण गराउने काम क. माधव नेपालले गरेका थिए । त्यसबखत त्यहाँ क. ईश्वर पोखरेलको पनि उपस्थिति रहेको थियो ।
शोषण, उत्पीडन, सामाजिक भेदभाव र अन्याय अत्याचारका विरुद्ध ज्यानको बाजी लगाउन पनि तत्पर रहेकी ग्यामिनी दिदीले नेकपा मालेका शीर्षस्त कमरेडहरूदेखि गाउँ कमिटीसम्मका कमरेडहरूलाई आश्रय दिइन्, आफूले आधा पेट खाएर पनि कमरेडहरूलाई सकेसम्म सन्तुष्ट हुने गरी खानपिन गराइन्, आफूले जोखिम मोलेर पनि सुरक्षा दिइन्, संगठनले दिएका अन्य जिम्मेवारीलाई दिलोज्यान लगाएर पुरा गर्दै आइन् । यसरी उनले पार्टीलाई दिइन मात्रै पार्टीबाट केही पनि लिइनन् ।


नयाँटोलको उत्साह
केही दलित र अधिकांश मगरहरूको बसोवास रहेको नयाँटोलका प्रायः सबै जनताहरू वर्गीय रूपमा गरिब किसान र भूमिहीन श्रमिक नै थिए । उनीहरू पार्टीको सम्पर्कमा रहेका मात्र नभई विभिन्न तहका कमिटीहरूमा संगठित भएर पार्टी काममा लागेका थिए । पार्टीका लागि त्यो गाउँ एउटा दरिलो आधार इलाका नै बनेको थियो । हाल एक सामाजिक अभियन्ता रहेका र ०३४÷३५ सालतिर बालरक्षक र ०३७÷३८ देखि युथ लिगको भूमिका निभाएका हरि बलम्पाकीका अनुसार त्यतिबेला नयाँ टोलको सुरक्षा प्रबन्ध यति गोप्य र व्यवस्थित हुन्थ्यो कि त्यहाँ हुने गतिविधका बारेमा बाहिर सायदै कसैले थाहा पाउन सक्थ्यो ।

नयाँ टोलमा कोही महिला, कोही पुरुष, कोही युवा, कोही पाको उमेरका थरीथरीका कमरेडहरू आइरहन्थे । तिनका मिजास, बोल्ने शैली, प्रस्तुत गर्ने विषयहरू पनि थरीथरीकै हुन्थे । कोही भाका मिलाएर मन छुने गीत गाउँथे, कोही कविता र मुक्तकहरू सुनाउँथे, कोही पेट मिचिमिचि हँसाउने खाले व्यंगहरू सुनाउँथे, कोही रसिला कथाहरू सुनाउँथे, कोही समाजमा भएका अन्याय अत्याचारका पीडाहरू सुनाउँथे, चिनियाँ क्रान्तिका कुरा, कम्युनिस्टहरूको उद्देश्य, माक्र्सवादका दार्शनिक कुरा, क्रान्तिकारी संघर्षको आवश्यकता आदिजस्ता चेतनामूलक, जोस जगाउने, मन रमाउने आदिजस्ता कुराहरू सुनाएर त्यहाँका जनताहरूलाई सचेत, जागरुक र उत्साही बनाइरहेका हुन्थे ।

प्रायःजसो दैनिक दुईदेखि तीन जनासम्म कमरेडहरू आउने र बस्ने गरेको त्यस गाउँमा यदि कुनै दिन कोही कमरेड आएनन् र बसेनन् भने त्यहाँका जनताहरू नरमाइलो र नियास्रो मान्थे । कमरेडहरूको आवतजावत र बेलुकी सात÷आठ बजेदेखि राती नौ , १० बजेसम्म जारीरहने चेतनामूलक र मनोरञ्जनात्मक गतिविधिका कारण त्यो गाउँ प्रायः सधैँभरी आनन्ददायक र रमाइलो बनिरहेको हुन्थ्यो । यस गाउँमा यस्तो उत्साहजनक ‘हरियाली’ ०४६ सालसम्म निरन्तर जारी रह्यो ।

उजाड वातावरण र खिन्न मनहरू
‘बहुदल आएपछि त बाहिरको साथीहरू त्यति आएनन् । पछि हाम्रै पार्टीको सरकार बन्यो अरे भन्ने थाहा पायो, अनि हाम्रै घरमा बसेकोे कमरेडहरू पनि ठूलठूलो मन्त्री भयो भन्ने पनि सुन्यो । खबर त अलिअलि सुन्नु पाउछ तर त्यस्तो कमरेडहरूलाई बहुदल आएपछि ऐलेसम्म देख्न भेट्न कोही पाको छैन ।’ ०५२ सालको हिउँदमा भेट्दा यसरी केही खिन्नता पोखेकी थिइन् ग्यामिनी दिदीले ।

म सरदर दुई वर्षको एकपटक नयाँ टोल पुग्ने गरेको छु । पछिल्लोपटक ०७६ सालमा पुगेको थिएँ । सबैभन्दा पहिले म ग्यामिनी दिदीको घरमा गएँ । वृद्ध अवस्थामा टेकिसकेकी दिदीको अनुहारमा कुनै उत्साह देखिन्नथ्यो । पहिलेको घरकै ठाउँमा अलिक फरक अर्काे घर ठडिएको थियो । खपडाको छानो, काठको खाँबोमा काठकै बाकल टाँसेर माटाले लिपेको तल्लो तलो, सानो बार्दली र काठका फलेकले बेराघेरा गरेको माथ्लो तलो, माटो र ढुंगा मिसाएर उठाइएको पिडी र काठका पिडी खाँवा, नयाँ घरको आकारप्रकार यस्तै नै थियो ।

‘सञ्चै छ भाइ ?’ आँगनमा किराले झुत्रो पारेको रहरी कुट्दै गरेकी दिदीले मतिर पुलुक्क हेरेर छेमकुशल सोधिन् । मैले पनि त्यसरी नै सोधपुछ गरेँ । तुलमाया दिदी दुई वर्ष पहिल्यै बितिसकिछन् । ग्यामिनी दिदीका पनि आँखा कमजोर भएछन् । ग्यास्ट्रिक बढेर पेट दुख्ने, जरकमरक काम बढी ग¥यो भने जिउ कटकटी खाने आदिजस्ता स्वास्थ्य समस्याले पनि दिदी पीडित बन्न थालिछन् । उत्साहविहीन लवजमा उनले आफ्नो अवस्था जानकारी गराइन् । त्यतिबेला ज्वाइँ र दुईभाइ नातिहरू मेलामा गएका रहेछन् । जेठी नातिनी बुहारी आफ्नो सानो बच्चालाई जाउलो खुवाउँदै थिइन् । सकिनसकी पिडी बढारी रहेकी छोरी गर्भी पनि बुढेसकाल लागेजस्तो देखिन थालिछन् ।

‘अनि आजकल कोही कमरेडहरू आउँछन् कि आउँदैनन्, दिदी ?’
‘कोही पनि आउँदैन भाइ, आब उनेरु ठूलठूलो मान्छे बन्यो हामीजस्तो गरिवसँग के काम हुन्छ र आउनु, फेरी भ्याउँदैन पनि त होला नी !’ यसरी वितिष्णायुक्त व्यंग पोखिन् दिदीले । यस्तै केही मुलाकातपछि म दिदीबाट बिदा भएर नयाँ टोलका अरू घरतिर लागेँ । गाउँ सुनसान र पंmुग उडेजस्तो लाग्यो । त्यता पहिले जस्तो कुनै रौनकता पाउन सकिनँ मैले । बुढेसकाल लागिसकेका पहिलेका केही युवायुवतीहरू भेटिए, उनीहरूको जीवनस्थितिमा खासै परिवर्तन देखिन्नथ्यो, उत्साहविहीन र खिन्नजस्ता देखिन्थे उनीहरू । सामान्य सोधपुछबाहेक उनीहरूले मसँग कुनै जिज्ञासा र चासो राखेनन् । मलाई लाग्यो, उनीहरूकानिम्ति म पनि उही ड्याङको मुला त हुँ नी, जसले आफ्नो स्वार्थ पूरा गर्नका लागि मात्र चेपारो घस्ने गर्छ । अलिक भारी र खल्लो मन लिएर म त्यहाँबाट निस्केँ । हिँड्दै गर्दा तरंगङ्गत बनेको मनले एउटा पुरानो हिन्दी फिल्म नजरानाको गाना गाउन प्रेरित गर्यो ।
अर्थात,
‘एक वो भी दिवाली थी, एक ये भी दिवाली है ।
उजड़ा हुआ गुलशन है, रोता हुआ माली है ।।’
म यही गाना गुनगुनाउँदै आफ्नो गन्तव्यतिर लागेँ ।

.

प्रतिक्रिया