खोजखबर

द्वन्द्वपीडित भन्छन् : कहाँ भेटिएलान् बेपत्ता आफन्त

सौर्य अनलाइन २०७७ मंसिर २१ गते ७:१० मा प्रकाशित

दार्चुला । भर्खरको कलिलै उमेर । जीवनमा केही गरौँ भन्ने सोचाइ थियो । निकै संघर्षशील उमेर थियो । पढ्दापढ्दै शिक्षक आयोगको प्राथमिक तहमा नाम निस्कियो । सशस्त्र द्वन्द्वको समय थियो । कैलालीबाट जागिरे जीवन सुरु गरेका थिए । जागिर भएपछि घरपरिवार सबै खुसी थिए, शैल्यशिखर नगरपालिका–६ घर भएका बिर्खसिंह धामी परिवार, तर त्यो खुसीको सीमा धेरै टिक्न सकेन । कैलालीको भृकुटी निमावि पदौनमा कार्यरत रहेको बेला ०५८ सालमा धामी बेपत्ता भए ।
१९ वर्ष पूरा भइसक्यो तर, अहिले पनि परिवारको आँखाभरि आँशु घटेको छैन । विद्यालयबाटै बेपत्ता भएका शिक्षक धामीका बारेमा विद्यालयले समेत परिवारलाई जानकारी नगराएकामा पीडित परिवारको गुनासो छ । पीडितका दाई राजेन्द्रसिंह धामी भन्छन्, ‘बेपत्ता भएपछि न त विद्यालयले जानकारी गरायो, न तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट नै जानकारी भयो ।’

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडितका आफन्तको कुरा सुनौँभन्दा धामीको गाला अबरुद्ध हुँदै थियो । आक्रोश त धेरै छन्, तर अहिलेसम्म भाइको अवस्था के हो ? कसैको रेकर्डमा छैन । राज्यबाट पाउनुपर्ने सेवासुविधा केही पाउन सकिएको छैन । मालिकार्जुनका नन्दा पार्कीको श्रीमान् दिलुराम पार्की गुमाएको पीडा पनि कम्ता छैन । आफ्नै अगाडि माओवादीले लिएर गएका पार्कीको अवस्था अज्ञात छ । घरबाटै अभियानमा हिँड भन्दै माओवादीले अपहरण गरिएका पार्की कहिल्यै घर फर्किएनन् । घर फर्किने आशामा दशकौँ बित्यो, तर न लास देख्न पाए, न त सास पाए ।

शैल्यशिखर नगरपालिका–९ का नरेन्द्र भण्डारी ०६२ सालमा बैतडीको पिपलकोटबाट बेपत्ता भए । गोकुलेश्वरमा राम्रै व्यापार फस्टाएको थियो । भर्खर बिहे गरेका थिए । बिहे गरेपछि घरजम राम्रै जमाउने इच्छा थियो भण्डारीको । तर पिपलकोट नजिकै तत्कालीन शाही सेनाको गस्ती आएको थाहा पायौँ, बेपत्ता भण्डारीका दाजु कर्णबहादुर भण्डारीले भने, ‘त्यही पिपलकोटबाट बेपत्ता भएका भाइको अवस्था थाहा छैन । भाइ बेपत्ता भएपछि उहाँकी श्रीमती दोस्रो बिहे गरेर गइन् ।’

भाइको अवस्थाबारे अहिलेसम्म आफुहरूलाई कुनै जानकारी नभएको बताए । ‘द्वन्द्वपीडित भनेर पनि कहीँ उल्लेख छैन । कम्तीमा भाइको मृत्यु भएको भनेर भनिदिए पनि परिवार ढुक्क हुने थियो । क्षतिपूर्ति त के माग्नु, लाश नै छैन भने’, उनले सुनाए । बेपत्ता आयोगका सामु उनले पूरै पीडा भन्ने हिम्मत नै गरेनन् । गाला अबरुद्ध भएपछि उनले भने, ‘भाइको अवस्था के हो जानकारी गराइदिनु ।’

देशको रक्षाका लागि लड्दालड्दै घाइते भएका रामदत्त विष्टको अहिले पनि घाइते हुँदा लागेको गोलीको घाउँ ताजै छ । ‘देशका लागि लडे, अपांग भएँ, तर राज्यले हामीजस्ता योद्धाका लागि केही हेरिदिएन’, उनले सुनाए । गोलीको घाउ ताजै छ, ०५८ सालमा सँगैका कैयौँ साथीको ज्यान गयो, आफू घाइते भएर बाँचे, परिवार १० वर्षसम्म विस्थापित भयो । घरमा रहेको धन सम्पत्ति बाहिर ल्याएर जलाइदियो । छोरालाई लुगामा बेरेर बचाइयो । देशको लागि यति संघर्ष गर्दा पनि राज्यले हामीजस्ता विस्थापित र द्वन्द्वपीडितका लागि केही गर्न नसकेकामा विष्टको आक्रोश छ ।

हाम्रो मर्म कसले बुझिदिन्छ, घाइते भएर अपांग भएपछि ३ हजार ८ सय २ रुपैयाँ लिएर अशक्त अवकाशमा घर फर्किएको हँु । त्यो बेलादेखि अहिले हामीले पाउनुपर्ने सेवा सुविधा पनि राज्यले घटाइदिएको प्रति उनले दुःखेसो गरे । द्वन्द्वपीडितले न्याय पाउनुपर्ने उनको माग छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अनुसार ०५२ देखि ०६३ सालसम्म दार्चुलाबाट २० जना बेपत्ता भएको भन्दै उजुरी परेको छ । आयोगका अध्यक्ष युवराज सुवेदीले अहिलेको सूची प्रारम्भिक मात्रै भएको भन्दै नामहरूमाथि सत्यतथ्य छानबिन भइरहेको बताए । उनले भने, ‘हामी आयोगमा परेका उजुरीमाथि विस्तृत अध्ययनको अन्तिम चरणमा पुगेका छाँै । सबै जिल्लामा पुगेर उनीहरूको अवस्था, नामबारे जानकारी लिने काम गरिरहेका छौँ ।’

छानबिनपछि उनीहरूको शव गाडिएको स्थल खोजी गरेर म्युजियम अथवा उनीहरूको शालिक बनाउन प्रेरित गरिने अध्यक्ष सुवेदीले बताए । ‘आयोगले निष्पक्ष भएर काम गरिरहेको छ’, उनले भने, ‘छानबिनको क्रममा जोसुकै पीडक देखिए पनि कारबाहीका लागि सिफारिस गरिन्छ ।’ राज्यले पीडितका लागि केही न केही गर्नैपर्ने बताउदै पीडितलाई अपहेलित नहुने गरी न्याय निरुपण गर्ने प्रतिवद्धतासमेत जनाए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय