अब्बल अभियान तर कमसल उपलब्धि

संगीता सुवेदी

नेपालमा लैंगिक हिंसा विरुद्धका कदमहरु अब्बल अभियान, चर्को नारा र फड्को मार्न नसकिने काल्नोको रुपमा रहेका छन् ।नाराले  स्वर घन्काइरहेको हुन्छ । अभियानले धुम मच्चाइरहेको हुन्छ । ठूलो रकम बग्दै गर्दा उपलब्धी भने जमिनमुनिको तरुल बनिरहेको छ ।

 प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विभिन्न कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउने गरिन्छ । ‘लैगिंक हिंसाको अन्त्यको प्रतिवद्धता : व्यक्ति,समाज र सबैको ऐक्यवद्धता’ भन्ने रार्ष्ट्रिय नाराका साथ यस वर्ष पनि देशभर विभिन्न कार्यक्रम गरी यो अभियान संचालन भइरहेको छ ।

कुनै पनि व्यक्तिलाई उसको लिंगको आधारमा गरिने असमान र असहज व्यवहार नै लैगिंक हिंसा हो । हिंसाको चपेटामा जो कोही पनि पर्न सक्छ । नेपालमा पुरुषमाथि हुने हिंसा तुलनात्मक रुपमा निकै कम देखिन्छन् । पुरुषमाथि हुने हिंसा कम देखिएको र बढी भोगिएको विषय हो भन्ने बहस पनि शरु भइसकेको छ । यद्यपि हालसम्म पनिनेपालमा लैंगिक हिंसालाई महिलामाथि हुने हिंसाको रुपमा नै बुझ्ने गरिन्छ ।

हामीले परिवार, समाज ,राज्य, कानुन धर्मलगायतका पक्षहरुलाई महिला हिंसाका कारणहरुको रुपमा चित्रित गर्दै आएका छौं । नेपालले लैगिंक हिंसाको विषयमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिबद्दता जनाएको छ । समयानुकूल कानूनहरु संशोधन पनि भएका छन् । महिला हक हितको लागि काम गर्ने संघ संस्थाहरुको संख्या पनि उल्लेखनीय  छ । स्थानीय सरकारहरुले समेत विभिन्न कार्य योजनाहरु बनाएकै छन् ।

तथापि महिला हिंसाका घटनाहरु दिनानु दिन बढ्दै गइरहेका छन् । महिलामाथि हुने असमान व्यवहारमा आशातीत सुधार आउन सकेको छैन । अभियानहरु संचालन हुनु न त नौलो कुरा हो न त नराम्रो नै । तर समय-समयमा चलाइने यस्ता अभियानले बिंडमात्र तताउने तर ताप्के तताउन नसकेको देखिन्छ।

रीमा कुमारी(नाम परिवर्तन)। उमेर १७ वर्ष ।

राष्ट्रिय भिटामिन ए कार्यक्रममा दुई वर्षौदे छोरीहरु च्यापेर लाइनमा उभिएकी एक किशोरी । १५  वर्षमै विवाह भयो । १७ वर्षमै दुई छोरीको आमा बनिन् । गुनासो गर्दै भन्छिन् ‘छोरी त शत्रुरका पनि नहुन् बरै । आफूले पनि दुख पाइयो । यिनीहरुले पनि दुख पाउने भए ।’ छोरा नजन्मदासम्म छोरी जन्माउने काम गरिरहनु पर्ने बाध्यता छ उनलाई । मेरो शरीर मेरो अधिकार भन्ने कुरो न त उनलाई थाहा छ न  थाहा पाउनुको कुनै अर्थ नै  छ ।

झुमा देवी (नाम परिवर्तन) । उमेर २५ वर्ष

गाउँमासंचालित स्थायी बन्ध्याकरण शिविरको लाभग्राही । घर पुगेर केही दिन आराम गर्छु भन्ने आँट उनमा छैन । उल्टै डर छ । घरमा यो कुरा थाहा हुने हो कि भन्ने । बन्ध्याकरण गरेर कमजोर भइन्छ भन्ने मात्र बुझेको छ उनको परिवारले । सबै जसो काम सम्हाल्ने जिम्मा उनैको हो । अतः स्वास्थ्य स्वयंसेविकाको सल्लाहमा उनले सुटुक्कै यो सेवा लिइन्। स्वास्थ्यको सामान्य मापदण्ड अनुसार  १५ दिन जति अराम चाहिने हो उनलाई । तर एक घन्टामै ज्यान थाक्ने गरी  काममा खटिनै पर्छ उनलाई ।

यि त केवल प्रतिनिधि पात्र मात्र हुन् । यसका अलावा दाइजोको नाममा कुटिने, छाउगोठमै बलात्कृत हुने, एसिड आक्रमणको शिकार बन्नेलगायतका विभिन्न तवरबाट चरम हिंसामा परेका महिलाहरुलाई यस्ता अभियानको बाछिटो सम्मले पनि छोला त ?

 

  पुष्प कुमार(नाम परिवर्तन) । उमेर ४७ वर्ष । समाजसेवी

 उहाँ यस्ता अभियानहरु प्रति खासै सकारात्मक देखिनु हुँदैन । ‘पहिले नै बोल्न सक्नेहरुलाई अनावश्यक चिच्याउन सक्ने भएका छन् । तर टिम्म परेका मुखहरु कहाँ खुल्न सकेका छन् र ?’ तालिम, गोष्ठी, छलफल, अन्तरकृया, -याली आदी नै यस्ता कार्यक्रमका मुख्य अश्त्र हुन् । यि कार्यक्रमहरु प्रायजसो कर्मकाण्डी नै हुने गर्दछन् । पहिलो चरणमा विभिन्न स्रोतबाट पैसा जुटाउने काम गरिन्छ । गतिलो प्रतिवेदन तयार गरेसँगै अभियान सकिन्छ।

यस्ता अभियान अन्तर्गत संचालन  हुने विविध कार्यक्रमहरुका आयोजक र श्रोत व्यक्तिहरु हरेक वर्ष एउटै हुन्छन् । यसलाई केही हदसम्म स्वभाविक मान्न सकिएला । तर अचम्म लाग्दो कुरो के छ भने  कार्यक्रमकका सहभागीहरु समेत सधैं उही अनुहारहरु हुने गर्दछन् ।

एक वर्गका सहभागी छन् -जो यस्ता अभियानका अम्मली नै बनेका छन्। तर वास्तविक पीडामा परेकाहरुले त्यसको गन्धसम्म पाउँदैनन् । सहभागीहरु चयनमा कुनै कसरत गरिदैंन । न त कुनै विश्लेषण नै ।अक्सरपहिले नै केही जानेका बुझेका र अवसर पाएकाहरुलाई नै चयन गरिन्छ । ताकि शून्य अवस्थाबाट त्यो चेतनाको  स्तरसम्म पुर्याइयो भनेर प्रचारबाजी गर्न सकियोस । अनि स्तरीय रिपोर्ट तयार गरी आफ्नो संस्था र अभियानको महिमा गाउन  पाइयोस् ।

 ती कार्यक्रममा अतिथिको रुपमा बोल्नेहरु मध्ये अधिकाँश जनप्रतिनिधि तिनै हुन्छन् ,जसले केही रकममै बलात्कारका घटनाहरु गुपचुप पार्छन् । दाइजो छोरीलाई दिइएको उपहार  हो भन्दै त्यसको पक्षमा वकालत गर्छन् ।अनि छोरीको विवाहको लागि न्यूनतम उमेर २० वर्ष तोकिएकोमा कानुनको विरोध गर्छन्।

आयोजकहरु पैसा माग्ने अवसर ठान्छन् । स्रोत व्यत्तिहरु पैसो कमाउने फोरम । अनि सहभागीहरु तलतल मेटाउने माध्यम । नेताहरु बुभेर पनि बुझ पचाएर बोल्न पाइने मंच । अनि कसरी उपलब्धीमूलक हुन्छन् त अभियानहरु ?

विरुवालाई हुर्काउन जरामै पुग्ने गरी पानी हाल्नु पर्छ । पात र डाँठलाई पानीले पखालेर मात्र कहाँ हुन्छ र ? अभियानहरु निरन्तर चलिरहने प्रकृया हुन् । गन्तब्य  होइनन् । अभियान अपिरहार्य छैन भन्ने पनि होइन । तर अभियान बालुवामा खनाएको पानी होइन , आवश्यकता अनुसार विरुवामा हालिने अर्ग्यानिक मल बन्नुपर्छ । अभियानहरु झांगिदै गर्दा उपलब्धी अंकुरित हुनैपर्छ ।

प्रतिक्रिया