सार्वजनिक सवारीसाधनमा भाडादर नटाँसे कारवाही

बागलुङ । सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ । तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा सवारीसाधनलाई कारवाही गरिने समितिले जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐनले पनि सवारीसाधनमा भाडादर राख्नुपर्ने व्यवस्था गरेको छ । समितिले सडकको अवस्था, यातायात व्यवसायीको लगानी र समस्या, उपभोक्ताको क्रमशक्ति आदिलाई मध्यनजर गरी साविककै भाडादर कायम गर्ने निर्णय गरेको समितिका सदस्य सचिव एवं यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारिसिङ्ग थापामगरले जानकारी दिए ।

‘सवारीसाधनमा भाडादर टाँस्नुपर्ने नियम पहिल्यै आएको भएपनि कार्यान्वयनमा आउन सकिरहेको थिएन, अब अनुगमन बढाउँछौँ’, उनले भने, ‘अनुगमनमा कमजोरी भेटिएमा कानून अनुसार कारवाही हुन्छ ।’ यातायात समिति र व्यवसायीलाई पनि राखेर भाडादरबारे उठेका गुनासा समाधानका लागि पहल र समन्वय गरिने प्रमुख थापामगरले बताए ।

समितिले कोरोना संक्रमणको जाखिमलाई ध्यानमा राखी सवारीसाधनमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न–गराउनसमेत सरोकार भएका सबै पक्षलाई अनुरोध गरेको छ । यातायात व्यवस्था कार्यालय, जिल्ला ट्राफिक कार्यालयलगायतका सरोकार भएका निकाय मिलेर स्वास्थ्य मापदण्ड पालना भए–नभएकोबारे अनुगमन गर्ने भएका छन् ।

प्रतिक्रिया