‘आइ लभ यु बुढी, गुड नाइट’ अभियान

वालिङ । मानसिक तनाव भएन भने जुनसुकै क्षेत्रको कार्यसम्पादन उच्च हुन्छ । तर अधिकांश प्रहरीलाई घरपरिवारको चिन्ताले सताउने गर्दछ । यही समस्या समाधान गर्न स्याङ्जाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले नौलो अभ्यासको थालनी गरेका छन् । जनताको सेवामा खटिने प्रहरीहरू ले परिवारलाई भन्दा जनताको सेवामा नै धेरै समय दिने कारण प्रहरीलाई मानसिक तनाव भएको बताउँदै ‘आइ लभ यु बुढी, गुड नाइट’ को अभियान सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख बोगटीले यो अभियान सुरु गरेसँगै अहिले जिल्लाभरका प्रहरीले राती सुत्ने समयमा घरपरिवारलाई फोनमार्फत समय दिन थालेका छन् । पारिवारिक सम्बन्ध सुमधुर हुनसके प्रहरीको कार्य सम्पादन पनि गुणस्तरीय हुने प्रहरी उपरीक्षक बोगटीले बताए । सुन्दा ‘आइ लभ यु बुढी’ भन्ने शब्द अलिक अभद्र लागे पनि यसको दीर्घकालीन असर निकै संवेदनशील रहेको बताउँदै बोगटी भन्छन्, ‘यति वाक्यले धेरै प्रहरीको पारिवारिक सम्बन्ध मजबुत हुन्छ, अन्यत्र सम्बन्ध हुँदैन र समाज सुधार्न ठूलो भूमिका खेल्छ ।’

‘यो जिल्लाभित्रका प्रहरीको सभ्यता हुनेछ’, बोगटी भन्छन्, ‘म तिमीलाई माया गर्छु भनेर सुत्दा प्रहरी आनन्दसँग मुस्कानसहित निदाउँछ र त्यो प्रहरीले कार्यालय समयमा उच्च कार्यसम्पादन गर्नेछ ।’ पछिल्लो समय प्रहरीले आफ्नो परिवारलाई समय दिन नसक्दा बहुविवाह, भैmझगडा, मादकपदार्थ सेवनजस्तो समस्या प्रहरीमा पनि बढेको छ । लामो समयदेखि घर जान नपाएका र गृह जिल्लाभन्दा टाढा कार्यक्षेत्र भएका प्रहरीलाई यो अभियान निकै प्रभावकारी रहेको प्रहरीहरू बताउँछन् । प्रहरी नायब निरीक्षक महेन्द्र काफ्ले भन्छन्, ‘पहिलेभन्दा परिवारसँग निकै गाढा सम्बन्ध हुन थालेको छ । अरूबेला जनताको सेवा मात्र ड्युटी सम्झिन्थ्यो, अहिले घरपरिवारलाई फोन गर्ने पनि साँझको ड्युटी हो भन्ने भएको छ ।’

स्याङ्जा जिल्लाभर २५ वटा युनिटमा कार्यरत ४ सय ५० जना प्रहरीले अनिवार्य सुत्ने बेलामा ‘गुड नाइट’ भन्ने ड्युटी नै महसुस गरेका छन् । दैनिक जनताको सेवामा तत्पर प्रहरीलाई घरको मानसिक तनावबाट मुक्त बनाउन सके मात्र प्रभावकारी सेवा प्रदान गर्न सकिन्छ भन्ने यो अभियान सबै प्रहरीमा लागू हुन आवश्यक छ । प्रहरीहरूले हरेक दिन पत्नीलाई फोन गरेर आइ लभ यु बुढी गुडनाइट भन्नुपर्नेछ भने पत्नी नहुनेले घरपरिवारका सदस्यलाई फोन गर्नेछन् । लामो समयदेखि घर जान नपाएका र गृह जिल्लाभन्दा टाढा कार्यक्षेत्र भएका प्रहरीलाई यो अभियान निकै प्रभावकारी रहेको प्रहरीहरू बताउँछन् ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया