नांगो समनाता

विन्दुकान्त घिमिरे

एउटा औँला नभएको अपांगसँग शतप्रतिशत अर्काको सहारा चाहिने अपांगले प्रतिस्पर्धा गर्नुपर्ने गरी कानुन बनाइएको छ । यो कानुन आफैंमा अपांग हो । यसै गरी एउटा औँला नभएको अपांग र शतप्रतिशत अर्काको सहारा चाहिने अपांगका लागि मासिक रूपमा प्रदान गरिने सामाजिक सुरक्षा भत्ताको रकम बराबर छ । पूर्ण अपांगता भएकाहरूलाई कम्तिमा पनि अरूले पाउनेभन्दा दोब्बर सामाजिक सुरक्षा भत्ता दिने परिपाटी डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला सुरु गरिएको थियो । तर त्यसपछि बनेको एमाले–कांग्रेस गठबन्धन सरकारले समानताका नाममा बराबरी गर्यो ।

 

कोरोना संक्रमणको कहर नभएको भए आज धुमधामका साथ अपांगता दिवस मनाइने थियो । अपांगता भएकाहरूका लागि भए गरेका कामहरूको बखान गर्दै मन्त्रीहरूले भाषण छाट्ने थिए । अपांगता भएकाहरूका नाममा थप आरक्षणको व्यवस्था गर्नुपर्ने भन्दै ब्यानर बोकेर नारा लगाउँदै सडकमा ¥याली निस्कन्थ्यो । तर, कोरोना संक्रमण फैलन नदिनका लागि भौतिक दुरी कायम गर्न परेका कारण विश्व अपांगता दिवस समारोह मिडियामा मात्रै सीमित हुन पुगेको छ ।

अपांगता भएकाहरूको सहज जीवनयापनप्रति संबन्धित परिवारको मात्रै नभएर समाज र राज्यको समेत अहं भूमिकालाई मध्यनजर राख्दै संयुक्त राष्ट्र संघको आह्वानमा विश्व अपांगता दिवस मनाउने गरिन्छ । सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ का दिन विश्व अपांगता दिवस मनाउने गरिन्छ । शरीरका अंगहरूको कमजोरीका कारण जसले सहजरूपमा दैनिक क्रियाकलाप गर्न सक्दैन उसलाई अपांगता भएको भनिन्छ । अपांगताको अर्थ अंग कमजोर हुनु भन्ने बुझिन्छ । शरीरका कुनै न कुनै अंगहरू कमजोर हुने समस्या आममानिसहरूले भोगेका हुन्छन्, उमेर बढ्दै गएपछि यो समस्या पनि थपिँदै जान्छ । तर, जन्मजात तथा युवा उमेरमै जीवनयापनमा समस्या हुने गरी शरीरका अंग कमजोर हुनेहरूको संख्या भने खासै धेरै छैन । एक तथ्यांकअनुसार १० प्रतिशत मानिसमा यो समस्या देखिएको छ । यी १० प्रतिशत मध्ये कसैले कान सुन्दैन, कसैले आँखा देख्दैन, कसैको गोडा चल्दैनन्, कसैका हात चल्दैनन्, कसैको मस्तिस्कले इन्द्रियहरूलाई नियन्त्रण गर्न सक्दैन । अपांगता भएकाहरू अधिकांशलाई जीवनयापनका लागि अर्काको सहारा चाहिन्छ । कसैलाई थोरै सहारा भए हुन्छ, कसैलाई धेरै नै सहारा चाहिन्छ । त्यसैले अपांगता भएकाहरूले भोग्नुपर्ने समस्यालाई एउटै डालोमा राखेर विश्लेषण गर्न सकिन्न । जीवनयापनका लागि दिनुपर्ने सहारालाई पनि एउटै डालोमा राखेर विश्लेषण गर्न सकिन्न । कोही कोहीले सामान्य सहारा पाउनासाथ सांगहरूले भन्दा पनि महत्वपूर्ण काम गर्न सक्छन् ।

अपांगताको प्रकृति हेरेर सहारा दिने, पूर्वाधार निर्माण गर्ने काम सभ्य मुलुकहरूले गर्दै आएका छन् । उदाहरणका लागि ह्विलचियर गुड्ने सडक तथा उक्लिने भ¥याङको मात्रै व्यवस्था हुने हो भने गोडा नटेकिने समस्या हुनेहरूले सहजै सांग व्यक्तिसरह जीवनयापन गर्न सक्छन् । कान नसुन्ने तथा आँखा नदेख्नेहरूका लागि पनि विशेष व्यवस्था गर्न सकिन्छ । यस्तो व्यवस्था हुँदै आएको पनि छ । थोरै सहारा पाउनासाथ धेरै उन्नती गर्ने अपांगता भएकाहरूको संख्या धेरै छ । जसलाई विशेष क्षमता पनि भन्ने गरिन्छ । खासगरी कान नसुन्ने र आँखा नदेख्नेहरूको स्मरण क्षमता बेजोड हुने गरेको पाइन्छ । उनीहरूको यो स्मरण क्षमता उपयोग हुने वातावरण तयार गरिदिनासाथ परिवार, समाज तथा राष्ट्रलाई धेरै फाइदा हुन्छ । यस्ता उदाहरण धेरै छन् । केही वर्ष अघि दृष्टिविहीन किशोरी सृष्टि केसीले त्रिभुवन विश्वविद्यालयको स्तानकोत्तर तहमा सबैलाई उछिनेकी थिइन् । यतिबेला चर्चामा आएका रमेश प्रसाईं पनि दृष्टिविहीन हुन् । सुप्रसिद्ध साहित्यकार झमककुमारी घिमिरेकै उदाहरण लिउँ । उनका दुवै हात आफ्नो नियन्त्रणमा छैनन्, दुवै गोडा आफ्नो नियन्त्रणमा छैनन् । केवल एउटा गोडाका दुई वटा औँला मात्रै नियन्त्रणमा छन् । यिनै दुई वटा औँलाले कलम च्यापेर उनले थुप्रै साहित्यिक कृति सिर्जना गरेकी छन् । मुलुककै सबैभन्दा ठूलो साहित्यिक सम्मान मदन पुरस्कारसमेत उनले प्राप्त गरिसकेकी छन् । थोरै सहारा पाउँदा पनि उनले मुलुकका लागि धेरै योगदान गरेकी छन् ।

मानिसमा रहेको विशेष क्षमता पहिचान गरी त्यो क्षमता परिवार, समाज र मुलुकका लागि उपयोग हुनसक्ने वातावरण बनाउनु राज्यको कर्तव्य हो । हुन त राज्यको मुख्य कर्तव्य भनेको जनतालाई सहारा दिनु हो । यसरी सहरा दिँदा प्राथमिकतामा अशक्त–अपांग पर्नुपर्छ भन्ने कुरामा कुनै द्विविधा छैन । तर, माथि नै उल्लेख गरियो कि, अपांग तथा अशक्तहरू पनि एउटै कोटीमा छैनन् । कसैलाई पाँच प्रतिशत मात्रै सहारा भयो भने पनि काफी हुन्छ । कसैलाई शतप्रतिशत सहारा दिनुपर्छ । शतप्रतिशत सहारा चाहिनेहरूलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने हुन्छ । विकसित मुलुकहरूले राखेका पनि छन्, तर नेपालका सन्दिर्भमा भने ठूलै विकृति छ । पाँच प्रतिशत मात्रै सहारा भए पुग्नेहरूले शतप्रतिशत सहारा चाहिनेहरूको भाग खोसिरहेका छन्, चर्को स्वर यिनीहरूकै छ । राज्यले आरक्षणको व्यवस्था त गरेको छ तर यो आरक्षण गोडाको एउटा औंला नभएको प्रमाण अघि सार्नेहरूले ज्युट्याएका छन् । शतप्रतिशत सहयोग चाहिने अपांग तथा उनीहरूको परिवारले अहिले पनि ठूलो कष्ट साध्य जीवन जिउनु परिरहेको छ ।

शतप्रतिशत अर्काको सहारा चाहिने अपंगहरूका लागि मुलकको कानुनले नै विभेद गरेको छ । उदाहरणका लागि कर्मचारीका छोराछोरीले अस्थायी बसोवास गरेकै जिल्लाबाट नागरिकता प्रमाण पत्र पाउँछन्, तर शतप्रतिशत अर्काको सहारा चाहिने अपांगता भएकाहरूका लागि यो व्यवस्था छैन । उनीहरू जिल्ला सदरमुकामसम्म जान संभव छैन । काठमाडौंमा अस्थायी बसोवास गर्ने पूर्ण अपांग व्यक्ति नागरिकताको प्रमाणपत्रका लागि हुम्ला जान कसरी संभव होला ? त्यति मात्रै होइन । राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र चाहिने नै भयो । तर पूर्ण अपंगता भएकाहरूका लागि यस्तो परिचयपत्र बनाउन नै धौधौ छ । नागरिकता प्रमाण पत्र तथा अपांगता परिचय पत्र बनाउन नसकेकै कारण पूर्ण अपांगता भएका धेरै व्यक्ति सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित छन् ।

अर्को कुरा एउटा औंला नभएको अपांगसँग शतप्रतिशत अर्काको सहरा चाहिने अपांगले प्रतिस्पर्धा गर्नुपर्ने गरी कानुन बनाइएको छ । यो कानुन आपैmँमा अपांग हो । यसै गरी एउटा औँला नभएको अपांग र शतप्रतिशत अर्काको सहारा चाहिने अपांगका लागि मासिक रूपमा प्रदान गरिने सामाजिक सुरक्षा भत्ताको रकम बराबर छ । पूर्ण अपांगता भएकाहरूलाई कम्तिमा पनि अरूले पाउनेभन्दा दोब्बर सामाजिक सुरक्षा भत्ता दिने परिपाटी डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला सुरु गरिएको थियो । तर, त्यसपछि बनेको एमाले–कांग्रेस गठबन्धन सरकारले समानताका नाममा बराबरी ग¥यो । जसलाई नांगो समानता भन्न सकिन्छ । नांगो समानता अर्थहीन हुन्छ । यस्ता अपांग कानुन र नांगो समानतालाई सत्काल संशोधन गर्नुपर्छ ।

समाजलाई र संसारलाई अपांगमैत्री बनाउने हो भने धेरै कुरा गर्न बाँकी छ । समावेशी भनेको भाषा, संस्कृति, भू–भागको प्रतिनिधित्व मात्रै होइन । अपांगता भएकाहरूको पनि प्रतिनिधित्व हो । तर, अपंगता भित्रको विविधतालाई एउटै डालोमा राख्नु भनेको गल्ती मात्रै होइन धेरै ठूलो अपराध हो । माथि उल्लेख गरियो कि अपांगता भएकालाई समान अवसरले सकारात्मक वातावरणकाबीचमा राख्नसके सांग झै भन्दा धेरै व्यवस्थित ढंगले कुनै पनि चुनौतीको सामना गर्न सक्दछन् । चाहे ती साहित्यकार झमककुमारीजस्ता पात्र हुन् या हेलेन केलर या स्टेफेन हक्वीनस् नै किन नहुन । खाने मुखलाई जुँगाले छेकेको छैन ।

प्रतिक्रिया