संक्रमित बालबालिकालाई पढाईमा समस्या

कैलाली । लम्कीचुहाकी १४ वर्षीया बालिकालाई विद्यालय जान मन लाग्दैन । कक्षा ६ मा अध्ययनरत उनलाई विद्यालयमा साथीहरुले एचआइभी संक्रमित भएकै कारण छुट्टै व्यवहार गर्छन् । लामो समय बिरामी भएर बालिकाका बुवाको निधन भयो ।  बुवाको निधनपछि आमा र बालिकाको स्वास्थ्य परीक्षण गर्दा एचआइभी संक्रमण पुष्टि भयो । आमाछोरी दुवैले टीकापुर अस्पतालबाट एआरटी सेवन गरिरहेका छन् । लम्कीकै एक सामुदायिक विद्यालयमा अध्ययनरत बालिकासँग अन्य बालबालिका बस्न, खेल्न, सँगै खाजा खान मान्दैनन् । ‘मसँग साथीहरु नजिक आउनै मान्दैनन्, मलाई अपराधीजस्तो गर्छन’, बालिकाले दुखेसो पोखिन्, ‘म चार वर्षको हुँदा संक्रमण पुष्टि भयो । म त पेटमै संक्रमित भएर जन्मिएकी रहेछु भन्ने पछि थाहा भयो । संक्रमित हुनुमा मेरो के दोष ?’

विद्यालयमा गरिने विभेदका कारण पढाइमा रुचि नजागेको बालिका बताउछिन् । ‘म नियमित विद्यालय जादिनँ, आमाले पढ्नुपर्छ भन्नुहुन्छ’, बालिका भन्छिन्, ‘हामी चार भाइबहिनी छौँ, हामीलाई हुर्काउन आमालाई निकै दुःख भएको छ । पढेर जागिर खाएर आमा पाल्न मन छ तर विद्यालय जाँदा निकै तनाव हुन्छ ।’

जोशीपुरका १३ वर्षीया बालक ४ कक्षामा पढ्छन् । बालकका बुबाआमा दुवैको निधन भइसकेको छ । ज्येष्ठ नागरिक हजुरबुवाको संरक्षणमा रहेका बालकलाई पनि विद्यालयमा गरिने विभेदले असह्य हुन्छ । ‘म पढाइमा राम्रो छु । सधैँ कक्षामा तृतीय स्थान ल्याउँछु, विद्यालयमा मेरा कोही साथी छैनन’, बालकले भने, ‘मेरो नजिक कोही आउनै मान्दैनन्, अनि मलाई पनि कक्षामा बस्न मन लाग्दैन । म नियमित विद्यालय जान्नँ । नियमित पढेको भए म प्रथम हुन्थेँजस्तो लाग्छ ।’
एचआइभी एड्सको प्रभावकारी रोकथाम, हेरचाह तथा उपचार सेवासम्बन्धी जनचेतना जगाउने उद्देश्यले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिए पनि संक्रमितले अहिले पनि विभेद भोगिरहेको नवजीवन एकता समाजका अध्यक्ष जगत् भण्डारी बताउछन् ।

‘हामीले संक्रमित बालबालिकाको शिक्षा आर्जन सहज गराउन लामो समयदेखि काम गरिरहेका छौँ, तर समस्या समाधान भएको देखिँदैन’, भण्डारी भन्छन्, ‘संक्रमित अभिभावकका बालबालिका र स्वयं संक्रमित बालबालिकाको निःशुल्क शिक्षाका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा पहल गरेका छौँ । उनीहरुलाई आवश्यक कापी किताब, पोशाकका लागि पनि सक्दो सहयोग गरिरहेका छौँ ।’

कैलालीको टीकापुर अस्पतालबाट ५१६ जनाले एआरटी सेवन गरिरहेका छन् । तीमध्ये २९० महिला, १८४ पुरुष र ४२ बालबालिका छन् । एएचएफ नेपालका मदन परियार संक्रमितमा महिलाको संख्या धेरै रहेको बताउछन् । ‘श्रीमान् बितेपछि एकल भएका महिला तथा तीनका बच्चा संक्रमित हुँदा उनीहरुको जीविकोपार्जनमा समस्या भएको छ’, परियार भन्छन्, ‘एकल भएका संक्रमित महिलालाई खानकै समस्या छ ।’ – रासस

प्रतिक्रिया