पक्राउपछि कांग्रेसका वरिष्ठ नेता पौडेल रिहा

काठमाडौं । प्रहरीले पक्राउ गरेको तीन घण्टापछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । पुल उद्घाटन गर्ने भन्दै प्रशासनले लगाएको निषेधाज्ञा तोडेको आरोपमा उनलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको थियो । नेता पौडेलाई पक्राउ गरेपछि विभिन्न कांग्रेसमा नेताहरुले सरकारको विरोध गर्दै चेतावनी दिएका छन् ।

तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका उनिहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको प्रहरीले जनाएको छ । पौडेलको रिहाइको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिर प्रदर्शन गरेको थियो । सरकारको विरोध र टायर बाल्दै रिहाई मागमा प्रदर्शन गर्दै केही समय पृथ्वी राजमार्गसमेत अवरुद्ध गरेको थियो ।

प्रतिक्रिया