‘सुनन’ मा दयाहाङ र लक्ष्मी

काठमाडौं । गायक तथा संगीतकार हरि लम्साल र मेलिना राईको आवाज रहेको गीत ‘सुनन’ को भिडियो सार्वजनिक भएको छ । प्रलाद शाहको शब्द रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन् ।  ‘परानै दिन्छुको भाग–२’ को रुपमा तयार पारिएको ‘सुनन’ को भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय छ । गाउँघर, उकाली ओराली गर्दै मिलको रुपमा रहेको पानीघट्टमा अन्न लिएर पिस्न जाँदा दुई युवायुवती एक अर्काप्रति आकर्षित भएको कथालाई भिडियोमा देखाइएको छ ।

निकेश खड्काले निर्देशन गरेको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् । विकास धमलाले सम्पादन गरेको भिडियोमा मिक्सिङ तथा मास्टरिङ प्रकाश मिश्रको रहेको छ । काभ्रेको कुशादेवीमा छायांकन गरिएको भिडियोमा नेपाली ग्रामीण परिवेशमा जिन्दगी जिउँदै प्रेमसम्बन्धमा रमाउनेको कथामा दया र लक्ष्मीलाई प्रस्तुत गरिएको निर्देशक खड्काले बताए ।

प्रतिक्रिया