जागरण गीत गाउने पौडेलको निधन

चितवन । प्रजातान्त्रिक आन्दोलनमा जागरण गीत गाएका गायक खडानन्द पौडेलको निधन भएको छ । २०१५ सालमा नेपाली कांग्रेसका नेता बिपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुट्ेका उनको ९३ वर्षको उमेरमा मंगलबार निधन भएको हो । रत्ननगर नगरपालिका–१, बकुलहर निवासी पौडेलले ‘इन्क्लाब दाजुभाइ जिन्दावाद भनन, तिमी पनि दाजुभाइ कांग्रेसै बनन’ भन्ने गीत गाएका थिए । कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाले पौडेलले २०१५ सालको निर्वाचनमा बिपीसँगै गीत गाएको जानकारी दिए । उनले भने, ‘खडानन्द ‘इन्क्लाब दाजुभाइ जिन्दावाद भनन, तिमी पनि दाजुभाइ कांग्रेसै बनन’ भन्ने गीत गाउँदै चर्चामा आउनुभएको थियो ।’

१९८५ साल ३० वैशाखमा बाग्लुङको बिनामारेमा जन्मिएका पौडेलले भारतको वनारसबाट शास्त्री अध्ययन गरेका थिए । उनले प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरी १० महिना कारागार जीवन बिताएका थिए । २०३६ सालको जनमतसंग्रहमा रत्ननगरका पार्टी उपाध्यक्ष, २०४६ सालको आन्दोलनमा कांग्रेस र संयुक्त जनमोर्चाका रत्ननगर संयोजक र २०४४ सालदेखि २०५६ सालसम्म कांग्रेस रत्ननगरका सभापति रहेको कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।

आफ्ना पिताको चुनावमा समेत खटिएका पौडेलको पार्थिव शरीरमा बिपी पुत्र एवं काग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । पौडेलका हाल तीन छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया