सम्हालिँदै सेयर बजार

काठमाडौं । केही दिन यता लगातार उछाल आइरहेको सेयर बजारमा नियामक नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराएपछि बजार मंगलबार सम्हालिएको छ । धितोपत्र बोर्डले सोमबार बजारमा तीव्र उछाल आइरहेकोले लगानीकर्तालाई सचेत भएर लगानी गर्न आग्रह गरेको थियो । जस्को कारण बजार बढने क्रममा ब्रेक लागेको हो । तैपनि मंगलबार नेप्से ३ दशमलव ३५ अंकले बढेर दुई हजार अंकमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । प्रि ओपनिङ सेसनमा १२ अंकले बढेको बजार कारोबार भएको १५ मिनेटमै ३० अंकले घटेको थियो ।

त्यसपछि पुनः बजार बढ्दै २५ अंकसम्मले बढेको थियो । पुनः झरेको नेप्से कारोबार अन्तिम समयतिर पुनः फर्कंदै तीन अंकले पोजेटिभ भएर रोकिएको हो । मंगलबार बैंकिङ, विकास बैंक र होटल समूहमा दोहोरो अंकको गिरावट आयो भने उत्पादनमूलक समूह १ सय ७ अंक बढीले तल झरेको छ । जीबन बीमा समूहमा सबैभन्दा उच्च २ सय १६ अंकको वृद्धि आयो भने टेलिकम सूचीकृत अन्य समूहमा पनि १ सय ७ अंकको वृद्धि आयो । यस्तै उत्पादनमूलक समूह ९९ अंकले बढ्दा जलविद्युत् समूहमा पनि साढे ३८ अंकको वृद्धि आएको थियो । निर्जीवन समूहमा ३४ अंकको गिरावट आउँदा वित्त समूहमा सात अंकको गिरावट आएको थियो भने म्युचुअल फण्ड पनि ऋणात्मक रहेको छ ।

सोमबारको तुलनामा मंगलबार कारोबार रकममा गिरावट आएको छ । यो दिन १ सय ९७ कम्पनीको १८ लाख ७६ हजार कित्ता सेयर ७ अर्ब ४० करोड रुपैयाँमा खरिद बिक्री भएको छ । नेपाल लाइफ इन्स्यारेन्सको सबैभन्दा बढी ३८ करोड ४८ लाख रुपैयाँका सेयर कारोबार भयो । त्यस्तै नेपाल पुनर्बिमा कम्पनीको ३७ करोड ३४ लाख र प्रभु बैंकको ३६ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भयो । नेपाल पुनर्बिमा कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको करिब १० प्रतिशतले सेयर मूल्य बढ्यो भने माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, र सान्जेन जलविद्युत् कम्पनीको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ

प्रतिक्रिया