अस्पताल निर्माण भएको वर्षदिन बित्दासमेत सञ्चालनमा आएन

दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिका–३ को सान्तडामा १५ शय्याको अस्पताल र हेलिप्याड निर्माण भएको करिब एक वर्ष पुगेको छ । अस्पताल निर्माण भएपछि भगवतीमाई गाउँपालिकामा कुनै पनि बिरामी अकालमा मृत्यु नहुने आँकलन गरिरहेका गाउँपालिकावासी यति बेला अस्पताल सञ्चालन नभएका कारण निराश भएका छन् । गाउँपालिका स्थापना भएपछि विकासमा फट्को मारेको गाउँपालिकामा निर्माण भएको १५ शय्याको अस्पताल अहिलेसम्म सञ्चालनमा आउन नसकेका कारण आमनागरिकहरू भवन मात्र निर्माण भएर अस्पताल सञ्चालन नभएकोमा गाउँपालिका अस्पतालतर्फ गम्भीर नभएको चिन्ता व्यक्त गरेका छन् ।

गाउँपालिकाभित्र पर्ने कुनै व्यक्ति स्वास्थ्य सेवा नपाई मृत्युवरण हुने छैन भन्ने उद्देश्यले भगवतीमाई गाउँपालिकाको सान्तडामा अस्पताल निर्माण गरे पनि हाल अस्पताल सञ्चालन नहुँदा गाउँपालिकावासी सहरका महँगा अस्पतालमा जान बाध्य भएका छन् । गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण भएको छ तर भवन मात्र निर्माण भएको र आफू जस्तै गाउँपालिका भित्रका धेरै बिरामीहरू सुर्खेत तथा नेपालगञ्ज हदै काठमाडौं जाने र धेरै शुल्क तिरेर उपचार गराउन बाध्य भएको भगवतीमाई गाउँपालिका–४ की देविसरा अधिकारी बताउँछिन् ।

स्थानीय सरकार गठन भएको एक वर्षको अवधिमा गाउँपालिकाका सबै राजनीतिक दल नागरिक समाज र सरोकारवाला निकायसँग समन्वय गरी अस्पताल निर्माणका लागि उपयुक्त स्थान भगवतीमाई गाउँपालिका–३ को सान्तडा छनोट गरी अस्पताल निर्माण गरे पनि अहिलेसम्म अस्पताल सञ्चालनमा आउन सकेको छैन ।

भगवतीमाई गाउँपालिकाले तेस्रो गाउँ सभाबाट १५ शय्याको अस्पताल निर्माणका लागि ६७ लाख रुपैयाँ विनियोजन र कर्णाली प्रदेश सरकार आर्थिक तथा योजना मन्त्रालयबाट एक करोड रकम विनियोजन गरी भगवतीमाई गाउँपालिका स्थानीयको स्वास्थ्यलाई ख्याल राखी दैलेख क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्य धर्मराज रेग्मीलगायत वडा–३ का स्थानीयहरूले १५ रोपनी निःशुल्क दान दिएको जग्गामा आर्थिक वर्ष ०७५/७६ को पुस मसान्तमा निर्माण कार्य सम्पन्न भएको १५ शयाको अस्पताल सञ्चालन हुन सकेको छैन ।

अस्पताल नजिकै करिब आठ सय जनसंख्या लाभान्वित हुने गरी आठ लाख रुपैयाँ खर्च गरेर हेलिप्याड निर्माण गरिएको छ । अस्पताल सञ्चालन नभएपछि हेलिप्याडसमेत सञ्चालनमा आउन सकेको छैन । यता गाउँपालिकाले भने अस्पतालबाट विशेषज्ञ डाक्टर सहितको सेवा दिने उद्देश्यले काम भइरहकोे बताउँदै पालिकासँग अस्पताल सञ्चालन गर्ने आर्थिक स्रोत नभएको र सामाजिक विकास मन्त्रालयमार्फत अस्पताल सञ्चालनका लागि कुनै डकुमेन्ट नआएका कारण अस्पताल सञ्चालनमा ढिला भए पनि अब अस्पताल सञ्चालनका लागि सबैसँग पहल भएको र छिट्टै सञ्चालनमा आउने गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए ।

प्रतिक्रिया