‘परदेशी २’ को छायांकन सुरु

काठमाडौं । नारायण रायमाझीको निर्देशनमा चलचित्र ‘परदेशी २’ को छायांकन सुरु गरिएको छ । पाल्पाको माथागढीबाट चलचित्रको छायांकन सुरु गरिएको हो । दशैंलगत्तै चलचित्रको छायांकन सुरु गर्ने बताइए कोरोना तथा अन्य विविध कारणले छठपछि मात्र छायांकन सुरु भएको हो ।

चलचित्रमा गायक तथा मोडल प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटी, अभिनेता दीलिप रायमाझी लगायतका कलाकारको मुख्य भूमिका छ । पाल्पामा अभिनेता दिलिप रायमाझीको दृश्य खिचिएको छ । यस्तै, शनिबारबाट प्रकाश सपुत, केकी अधिकारी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु लगायतको दृश्य खिचिएको छ ।

१७ मंसिरसम्म पाल्पाका विभिन्न स्थानमा चलचित्रको छायांकन हुने बताइएको छ । निर्देशक रायमाझीले लकडाउन अगाडि ७० प्रतिशत छायांकन सकिएको जानकारी दिए ।

उनले चलचित्रमा अमेरिकाको दृश्यसमेत देखाउनुपर्ने जानकारी दिए । तर, बन्दाबन्दी र कोरोना संक्रमणका कारण तत्काल अमेरिकाको दृश्य खिच्न सम्भव नभएपछि निर्माण पक्षले नेपालमै क्रोमा गरेर दृश्य खिच्न लागेको जनाएको छ ।

अभिनेता दिलिपले चलचित्रको कथावस्तु मनछुने खालको भएको भन्दै दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । रमेश बिजीले लेखेको कथामा निर्माण भइरहेको चलचित्रमा राजेश वंशल र नारायण रायमाझीको लगानी छ ।

प्रतिक्रिया