लघुकथा सम्मेलन

काठमाडौं । भर्चुअल माध्यमबाट नेपाल–भारत लघुकथा सम्मेलन सम्पन्न भएको छ । लघुकथा समाज, नेपालको आयोजनामा शनिबार गरिएको सम्मेलनको उद्घाटन गर्दै नेपाल प्र्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल–भारत सम्बन्ध भावनात्मक सम्बन्ध भएको विचार व्यक्त गरे । सो अवसरमा उनले प्रज्ञा प्रतिष्ठान एवं भारतको साहित्य एकेडेमीको सहकार्यमा भएका अनेक कार्यको समेत चर्चा गरे । कुलपति उप्रेतीले भने, ‘लघुकथा समाजद्वारा आयोजित यस कार्यक्रमले नेपाल भारतबीचमा साहित्यिक–सांस्कृतिक सम्बन्ध अरु प्रगाढ बनाउने विश्वास लिएको छु ।’

नेपाल–भारत लघुकथा सम्मेलनका संयोजक डा. पुष्करराज भट्टले दुई देशका लघुकथाका क्षेत्रमा गरिएका विविध कार्यका बारेमा परिचर्चा गरे । उनले सम्मेलनमा सहभागी लघुकथाकारहरूको संक्षिप्त परिचयसमेत प्रस्तुत गरेका थिए । भारतका तर्फबाट सहभागी लघुकथाकार डा. सत्यवीर मानवले भारतमा लघुकथाको विकासका लागि भएका कार्यको चर्चा गरे । कार्यक्रमका विशिष्ट अतिथि डा. रामनिवास मानवले नेपाल–भारत लघुकथाको क्षेत्रमा भएका कार्यको चर्चाका साथै मनुमुक्त मानव मेमोरियल ट्रष्टद्वारा अन्तर्राष्टिय स्तरमा गरिएका कार्यको जानकारी दिए ।

सम्मेलनको प्रारम्भमा समारोहका अध्यक्ष एवं लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले समाजको स्थापनाको बाह्र वर्षमा भएका कार्यका बारेमा जानकारी दिए । उनले लघुकथा गोष्ठी, प्रशिक्षण, अध्ययन–अनुसन्धान, पुरस्कार वितरणका क्षेत्रमा गरिएका कार्यको चर्चा गर्दै यसको प्रभावकारिता बढ्दै गएको जिकिर गरे । लघुकथा सम्मेलनमा भारतका तर्फबाट डा. रामनिवास मानव, डा.सत्यवीर मानव (समीक्षक), डा.हुँदराज बलवाणी, डा. सन्ध्या तिवारी, राकेश भ्रमर, सागर सूद सञ्जय, प्रबोधकुमार गोविल, डा. योगेन्द्रनाथ शुक्ल, भगवतीप्रसाद द्विवेदी, डा. जीतेन्द्र भारद्वाज सहभागी थिए । त्यस्तै, नेपालबाट लघुकथा वाचन गर्ने लघुकथाकारमा प्रा.डा. कपिल लामिछाने, सरुभक्त, अशेष मल्ल, नवराज रिजाल, हरिप्रसाद भण्डारी, ध्रुव मधिकर्मी, सुमन सौरभ, कृष्ण बजगाईँ, सुषमा मानन्धर एवं सिन्धु गौतम रहेका थिए ।

प्रतिक्रिया