पर्वतीय खेलकुद महासंघले तय गर्यो कार्यक्रम

काठमाडौं । पर्वतीय खेलकुद महासंघ नेपालको चौँथो साधारण सभा सम्पन्न भएको छ । कोरोना भाईरसको महामारीबीच महासंघले जुम मार्फत भर्चुअल साधारण सभा आयोजना गरेको हो । साधारण सभामा १५ सदस्य संघका प्रतिनिधिहरु, सातवटै प्रदेशका पदाधिकारीहरु, खेलकुद र दीगो पर्यटनका विज्ञ तथा खेलाडी र अफिसियलको सहभागिता रहेको थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश कुमार सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले विभिन्न निर्णयहरु गरेको छ ।

साधारण सभाले खेलाडी तथा प्रशिक्षकको डाटाबेस सिस्टम, संघ÷क्लब तथा इभेन्टलाई आवद्धता, पर्वतीय खेलकुद महोत्सवको आयोजना, विश्व वातावरण तथा विश्व पर्यटन दिवस, हेटौडा रन लगायतको कार्यक्रम पारित गरेको छ । त्यस्तै इन्द्रसरोवर वाटर फेस्टिभल, पर्यटकीय खेलको अध्ययन, रारा फेस्टिभल, हेरिटेज साइकल र्याली, पोखरामा रणनीतिक कार्यशाला तथा दिगो पर्यटनको लागि पोलिसी तहमा लबिङ्ग गर्ने समेत निर्णय समेत गरिएको छ ।

प्रदेश र संघ स्तरिय कार्यक्रमहरु, ब्राण्डिङ्ग तथा अफिस व्यवस्थापन, प्रदेश स्तरिय महासंघ गठन र अन्तराष्ट्रिय आवद्धता तथा कार्यक्रम, प्राविधिक तालिम सदस्य संघको सुदृढीकारण, रणनीतिक साझेदारको खोजि गर्ने जस्ता निर्णय समेत गरिएको संघले जनाएको छ । संघले सचिवालय गठन, विधान संसोधन समिति, पर्वतीय खेलकुद महोत्सव व्यवस्थापन टिम, पोलिसी र प्लानिङ्ग कमिटि, संगठन तथा प्रशासनिक व्यवस्थापन, ट्रेनिंग टिम, इथ्नोस्पोर्ट्स र चिल्ड्रेन गेमको अध्ययन टिम, अन्तराष्ट्रिय परम्परागत आर्चरी प्रतियोगिता व्यवस्थापन टिम तथा मिडिया ओरियन्टेसनको लागि जिम्मेवारी बाँडफाड गरिएको समेत जनाएको छ ।

साधारण सभामा महासंघका महासचिव संजिव कुमार पाण्डेले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । यस्तै, अध्यक्ष गोविन्द भट्टराईले आगामी कार्यक्रम र कोषाध्यक्ष किसन अग्रवालले सो कार्यक्रमको लागि बजेट प्रस्तुत गर्नु गरेका थिए । साधारण सभाको उद्घाटनमा राखेपका सदस्यसचिव सिलवालले नेपाल शाहसिक तथा पर्यटकीय खेलको विश्व कै केन्द्र बन्ने सम्भावना रहेको हुँदा महासंघले त्यस तर्फ ध्यान दिनु पर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया