अर्थतन्त्र उकास्न सरकार र निजी क्षेत्रको सहयोग आवश्यक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट थलिएको अर्थतन्त्रलाई उकास्न सरकार र निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभाको ‘भर्चुअल’ उदघाटनको क्रममा उनले सबैको साझा प्रयासबाट अर्थतन्त्रलाई पुरानै गतिमा फर्काउन सम्भव रहेको बताएका हुन ।  उनले सरकारले राज्यको क्षमता अनुसार कोरोना महामारी प्रभावित उद्यम तथा व्यवसायलाई सहयोग गरीरहेको र गर्ने बताउदै भने,‘ राज्यसँग नभएको क्षमता अनुसारको सहयोग अपेक्षा नगर्नोस ’ । उनले भने, ‘निजी क्षेत्रका मित्रहरुलाई लाग्दो हो, अन्य विकसित मुलुकले कोभिड–१९ बाट प्रभावित उद्योगव्यवसायलाई पुनस्थापना गराउन सहयोग गरिरहेका छन । हाम्रो सरकारले केही गरेन वा गर्दैन भन्ने होइन, क्षमता अनुसार हामी सहयोग गरिरहेका छौं र आगामी दिनमा पनि गर्नेछौं ’ ।

उनका अनुसार गत आवमा आर्थिक वृद्धिदर ८ दशलमव ५ प्रतिशतले हुने अनुमान गरिएकोमा करिब शून्य प्रतिशत को हाराहारीमा पुगेको भन्दै प्रधानमन्त्री ओलीले ठूला उद्योग, व्यवसाय आफैं पुनस्थापना हुनसक्ने भन्दै साना उद्यम, व्यवसायलाई सहयोग गर्ने बताए । यद्यपि उनले राहत र प्रोत्साहन माग्दा सरकारको स्रोतसाधन र क्षमता हेर्न सरकारलाई सुझाए ।

प्रधानमन्त्रीले महासंघको साधारणसभामा कोभिड–१९ र अर्थतन्त्रको सन्दर्भमा गहन छलफल हुनुपर्ने उल्लेख गरे । छलफलबाट प्राप्त निष्कर्षले उद्योगव्यवसायीको समस्या समाधानमा सहयोग पुग्ने उनको भनाई थियो । प्रधानमन्त्री ओलीले कोरोनाबाट निजी क्षेत्र र सरकार दुवै पक्षले साझा समस्या झेलिरहेकाले संयुक्त प्रयासबाट मात्रै समाधान निकाल्न सकिने बताए । ‘हामी साझा समस्या भोगिरहेका छौं, संयुक्त प्रयासबाटै हल गर्न सक्छौं । स्थानीय, प्रदेश सरकार, संघ र निजी क्षेत्रका विभिन्न तहको साझा प्रयासबाट सम्भव छ,’ उनले भने ।

देशको अर्थतन्त्र उठाउन निजी क्षेत्रको भूमिकामा नीति निर्माण र व्यवहारिक तहमा उद्योग वाणिज्य महासंघको भुमिका प्रशंसायोग्य रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । महासंघको साधरणसभाका प्रमुख अतिथि प्रधानमन्त्री ओलीले सरकारले दलाल पुँजीवादलाई बढावा दिएको आरोपको पनि खण्डन गरे । ‘सरकारले दलाल पुँजीवादलाई प्रशय दियो भन्ने भ्रमपूर्ण र त्रसित बनाउने अभिव्यक्ति सुनेर निजी क्षेत्र सशंकित हुनुपर्ने छैन । सरकारलाई कुनै उद्योगी व्यवसायी मेरो–तेरो भन्ने छैन’ प्रधानमन्त्रीले भने, ‘सबै उद्यमी राष्ट्रका समान सम्पत्ति हुन ।’ ओलीले उत्पादन र रोजगारीका लागि स्वदेशी सँगै विदेशी पुँजी परिचालन गर्न आवश्यक रहेको बताए । उनले व्यवसायीले सामान बेच्न डिपार्टमेन्टल स्टोर खोले पनि देशको उत्पादन केही नभएको हुदा मुलुकमै उत्पादनको बलियो आधार बनाउन सके मात्रै समृद्धि हासिल गर्न सकिनेमा पनि जोड दिए ।

पर्यटन क्षेत्र बढि प्रभावित
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कोभिडले सबै क्षेत्र प्रभावित भएको बताउँदै पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताएकी छिन । महासंघको ५४औं साधारणसभामा उनले पर्यटन क्षेत्र पूरानै लयमा फर्किन चार वर्ष लाग्ने बताएकी हुन । ‘लकडाउनको समयमै चार प्रतिशत मात्रै उद्योग चलेका थिए । ३५ प्रतिशत आंशिक मात्रै चलेका थिए । बाँकी सबै बन्द थिए’ उनले भनिन,‘कोभिडले १६ देखि २० लाखसम्म बेरोजगार हुनसक्ने अनुमान छ भने जीडीपीमा दुई खर्बको असर परेको छ।’

राणाले एमसीसी राष्ट्रिय सहमतिका आधारमा पास गर्नुपर्ने निजी क्षेत्रको धारणा रहेको बताउँदै विजुली र सडक पूर्वाधारसँग सम्वन्धित रहेका आयोजनाले रोजगारीको अवसर दिने बताईन । उनले कोरोनाको समयमा पनि सरकारसँग सहकार्य गरेर धमनीका रुपमा काम गरिरहेको बताउँदै कठिन अवस्थामा समेत अत्यावश्यक वस्तुहरुका उद्योग निरन्तर संचालनमा राखेर अभाव हुन नदिएको दाबी गरिन ।

प्रतिक्रिया