पर्दामा ‘नदेखिएको जात’

काठमाडौं । अन्तरजातीय विवाहका कारण भोग्नुपरेका पीडादायक दिन र संघर्षलाई समेटेर चलचित्र ‘नदेखिएको जात’ निर्माण भएको छ । झापा, अर्जुनधाराकी निलम सुनाम दर्जीसँग प्रेमविवाह गरेका वेदप्रसाद भुर्तेलको कहालीलाग्दो जीवनकथालाई उक्त चलचित्रमा उधिनिएको छ ।

समाजमा रहेको अन्धविश्वासको पर्खाल तोडनुपर्छ भन्ने सोचले २०६८ पुसमा अन्तरजातीय विवाह गरेका भुर्तेल अहिले परिवार र समाजसँग मात्र होइन, कानुन बनाएर लागु गर्न नसक्नेहरुसँग समेत एक्लै लडिरहेका छन् । यो अवधिमा परिवारबाट अलग भएर समाज परिवर्तनको संघर्षमा निरन्तर लागिपरेका उनीहरुले भोगेका पीडादायक दिन र संघर्षले सिकाएका विविध कष्टकर क्षणलाई समेटेर ‘नदेखिएको जात’ निर्माण गरिएको छ । अन्तरजातीय विवाहसम्बन्धलाई समाजले अभैm स्वीकार्न सकिरहेको छैन । कानुनीरुपमा देशमा धर्मनिरपेक्ष र छुवाछुतको अन्त्य भएको यतिका वर्ष बितिसक्दा पनि यो कुसंस्कार हट्न सकेको छैन ।

उनीहरुको विवाहदर्ता गरेको केही महिनामा नै जिल्ला अदालत विराटनगरबाट सम्बन्धविच्छेद भएको थियो । कानुनीरुपमा सम्बन्धविच्छेद भए पनि निलम र भुर्तेलको सम्बन्ध चाँहि कायमै थियो । उनीहरुको ५ वर्षे एक छोरा छन् जसको जन्मदर्तासमेत भइसकेको छ । घरपरिवारले अहिलेसम्म यो जोडीलाई घर भित्र्याएको भने छैन । हाम्रो समाज बाहिरबाट हेर्दा जति सरलजस्तो देखिएता पनि भित्र कत्ति जर्जर र अन्धविश्वासमा बाँचिरहेका छौ भन्ने कुरा निलम र वेदप्रसादको घटना एक उदाहरण मात्रै हो । प्रेमविवाह गरेकै कारण यो ढोंगी समाजबाट भागीभागी हिँड्नुपरेको वास्तविकतालाई चलचित्रमा यथार्थ रुपमा देखाउन खोजिएको छ । अन्तरजातीय यो घट्नालाई पर्दामा उतारेका छन् निर्देशक वेदप्रसाद भुर्तेलले ।

चलचित्रमा वास्तविक जोडी वेदप्रसाद र निलम लगायत संजोग राणा, जाहान्वी बस्नेत, लय संग्रौला, विशाल पहाडी, अनिता केसी, रुकु विष्ट, किरण थापा, चन्द्रमान स्याङ्तान, विष्णु गिरी, विकास नेपाल, बिपिन्द्र थापा लगायतका कलाकारको अभिनय छ । ‘नदेखिएको जात’ चाँडै नै दर्शकमाझ आउने छ र समाजमा संकुुचित भावनाबाट ग्रसितहरुको चेतना बृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास निर्माण पक्षको छ । त्यस्तै, राज्यले यो चलचित्र सहरदेखि ग्रामीण बस्तीसम्म प्रदर्शनमा विशेष पहल गर्नुपर्ने माग उनीहरुले गरेका छन् । निर्देशक भुर्तेलले देशभरिका विद्यालयका विद्यार्थीमाझ प्रदर्शन गर्न राज्य स्तरबाट सहयोग हुनुपर्ने र यो चलचित्रले समाज परिवर्तनमा केही न केही मद्दत गर्ने विश्वास लिएको बताए । भुर्तेलले यसअघि कुर्बान, इन्काउन्टर, सञ्जोग, फेरी भेटौँला, अफिसर, बुलेट लगायतका चलचित्र निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया