‘भूपि पुरस्कार’ का लागि आह्वान

बागलुङ । नेपाली साहित्यमा विशिष्ट योगदान दिएका स्रष्टा भूपि शेरचनको नाममा स्थापित पुरस्कारका लागि कृति आह्वान गरिएको छ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’ का लागि स्रष्टासँग कृति आह्वान गरिएको हो । प्रतिष्ठानको सोमबार बसेको प्रबन्ध समितिको बैठकले यही २५ मंसिरभित्र कृति पठाउन आह्वान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई आलोपालो गरी बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानका अध्यक्ष काजी रोशनले यो वर्ष स्रष्टालाई पुरस्कृत गरिने जानकारी दिए । २५ हजार राशिको उक्त पुरस्कार आउँदो १० पुसमा भूपि जयन्तीका अवसरमा पुरस्कार प्रदान गरिने छ । अध्यक्ष रोशनका अनुसार कवि भूपिको व्यक्तित्व र कृतित्वमाथि लेखिएका विवेचनात्मक कृतिले पुरस्कारको मूल्यांकन प्रक्रियामा प्राथमिकता पाउने छन् ।

अनुसन्धानमूलक कृति ‘भूपिका कवितामा व्यङ्ग्यालङ्कार–चेतना’ का लागि विसं २०७५ को ‘भूपि पुरस्कार’ साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका तत्कालीन शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीलाई प्रदान गरिएको थियो । दोस्रो पुरस्कार संस्थागततर्फ गत वर्ष थकाली समाज बुटवलले प्रदान गरिएको थियो । समाज भूपिको स्मृतिमा प्रवेशद्वार, शालिक, पुस्तकालय, अक्षयकोष निर्माण लगायत भाषा, साहित्यको प्रवद्र्धनमा सक्रिय छ ।

भूपि जयन्तीकै अवसरमा प्रतिष्ठानले ‘धवलागिरि साहित्य सम्मान’ समेत प्रदान गर्दै आएको छ । यो वर्षदेखि ‘काजी रोशन युवा पुरस्कार’ समेत प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष रोशनले जानकारी दिए । २०७३ सालमा स्थापित पुरस्कार कोषमा हालसम्म सात लाखभन्दा बढी जम्मा भएको छ । जनस्तरबाट सहयोग जुटाएर पुरस्कार स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ । १९९० साल पुसमा मुस्ताङको थाक, टुकुचेमा जन्मिएका भूपि नेपाली साहित्यको विशिष्ट प्रतिभा हुन् ।

प्रतिक्रिया