कोरोना खोप कहिले आउँछ ?

काठमाडौं । कोरोनाभाइरस विरुद्धको खोप आममानिसको प्रयोगका लागि कहिले उपलब्ध हुन्छ ? यो प्रश्नको उत्तर अहिले विश्वभर सबैले खोजिरहेका छन् । विश्वका चार कम्पनीले खोप तयारीको अन्तिम चरणमा पुगेको र अबको केही समयमा यो उपलब्ध हुने दावी गरिरहेका छन् ।  अमेरिकी कम्पनी फाइजरले जर्मन बायोएनटेकसँग मिलेर विकास गरेको खोप ९५ प्रतिशत, अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको खोप ‘एमआरएनए–१२७३’ ९४.५ प्रतिशत र अक्सफोर्ड विश्वविद्यालयले एक्ट्राजेनेकासँग मिलेर विकास गरेको खोप पनि ७० प्रतिशत प्रभावकारी भएको सम्बन्धित कम्पनीहरुको दाबी छ । रुसी खोप स्पुतनिक–भी पनि ९२ प्रतिशत प्रभावकारी देखिएको दाबी छ ।

तर, यी खोपहरु अहिले पनि बजारमा आएका छैनन् । अन्य उपचारको अभावमा खोप नै कोरोनाभाइरस महामारीबाट सामान्य जीवनमा फर्काउन सक्ने उपायका रूपमा हेरिएको छ । यद्यपी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले खोप आएपनि कोरोनाबाट जोगिन अहिले अपनाइएका स्वास्थ्य सुरक्षाका प्रावधानलाई यथावत राख्नुपर्ने बताएको छ ।

वैज्ञानिकहरूले यो वर्षको सुरुमा मात्रै अध्ययन आरम्भ गरे पनि तुरुन्तै खोप विकास गर्न लागिपरेका छन् । खोपको विकास भएपनि तत्काल गरिबीको रेखा र त्यसमुनि रहेका देशले पाउने सम्भावना कम देखिएको छ । विश्वको जनसंख्या मध्ये धनी मानिएका देशको १३ प्रतिशत रहेको छ । तर, खोपको ५० भन्दा बढि प्रतिशत प्रि–बुकिङ यी देशले गरिसकेका छन् । त्यसैले खोप आईहाले पनि अहिले नै त्यसको सबैले उपभोग गर्न पाउछन् भन्ने निश्चित हुन सकेको छैन ।

अमेरिकाले सबैभन्दा धेरै २ हजार ४ सय मिलियन, युरोपेली युनियनले २ हजार ६५ मिलियन, बेलायतले ३८० मिलियन, क्यानडाले ३३८ मिलियन, इन्डोनेसियाले ३२८ मिलियन, चीनले ३ सय मिलियन र जापानले २९० मिलियन डोजको प्रि–बुकिङ गरेका छन् । गरीब देशले भने ३ हजार २ सय मिलियन डोज बुकिङ गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

अहिलेसम्म विकास भएका खोपको दुई डोजले मात्र एक व्यक्तिलाई निको बनाउन सक्ने बताएका छन् । तर, धनी मुलुकहरुले प्रतिव्यक्ति पाँच डोजसम्म बुकिङ गरेका छन् । बेलायतले पाँच, अमेरिकाले ४.८८, युरोपेली युनियनले ३.३३ डोज बुकिङ गरेका छन् । खोप आउने मिति अहिलेसम्म तय भएको छैन । खोपको मुल्यपनि कम्पनीअनुसार फरक फरक देखिएका छन् । मोडर्ना इंकले यसको एक खोपको मुल्य २५ देखि ३७ डलर हुन सक्ने बताएको छ । सो कम्पनीका सीईओ स्टीफेन बैन्सेलले महामारीको गम्भिरतालाई मध्यनजर गर्दै यसको मुल्य २५ डलरदेखी ३७ डलरसम्म उचित हुने बताए ।

फाइजर एंव बायोएनटेकको सयुक्त खोपको मुल्य १९.५० डलर तोकिएको छ । यो खोप लगाइएमा यसको मुल्य एक व्यक्ति बराबर ३९ डलर हुनेछ । यता, रुसी कम्पनीले भने आफुले उत्पादन गरेको स्पूतनिक–वि को मुल्य निक्कै सस्तो हुने घोषणा गरेको छ । स्पूतनिक–वि ले परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी काम गरेको थियो ।

खोपको उद्देश्य हाम्रो प्रतिरक्षा प्रणालीलाई नोक्सान नगरेर कोरोना भाइरसको केही अंगलाई क्षति गर्नु हो । यसले हाम्रो प्रतिरक्षा प्रणालीमा आक्रमण गर्ने भाइरसको पहिचान गर्दै यसविरुद्ध लड्न सिकाउँछ । यो कैयौं तरिकाबाट गर्न सकिन्छ । फाइजर बायोएनटेक र मोडर्नाले जो विकसित गरेका छन्, त्यसलाई आरएनए खोप भनिन्छ । यो प्रयोगतात्मक दृष्टिकोण अपनाउँछ । यसमा भाइरसको अनुवांशिक कोडलाई मानिसको शरीरमा पठाइन्छ र यसका माध्यमबाछ प्रतिरक्षा प्रणालीलाई यसविरुद्ध लड्न तयार पारिन्छ ।

जोनसेनको खोपमा कोमन कोल्ड भाइसको उपयोग गरिएको छ । जसमा अनुवांशिक पसरवर्तन गरिएको छ । किनकी मानिसको शरीरमा कुनै नोक्सानी नहोस र मोलिक्यूलर स्तरमा यो कोरोना भाइरस जस्तै होस । यसबाट कोरोना भाइरसको पहिचान गर्न र त्यसविरुद्ध लड्न प्रतिरक्षा प्रणालीलाई सहज होस ।

यस्तै अक्सफोर्ड र रुसको खोपले पनि नोक्सानी नगर्ने भाइरस लिएका छन् । जसमा चिम्पान्जीहरु संक्रमित हुन्छन् र त्यसमा अनुवांशिक परिवर्तन गरेर त्यसलाई कोरोना भाइरस जस्तै बनाइएको छ, ताकि शरीरमा यसको प्रतिक्रिया हेर्न सकियोस । चीनमा बनिरहेको खोपमा वास्ताविक भाइरसको प्रयोग भइरहेको छ, तर त्यसको दुर्बलअवस्थाको प्रयोग गरिएको छ । किनकी यसबाट कोरोना भाइरस संक्रमण हुन सक्दैन ।

नेपालीले कहिले पाउछन् ?

कोरोना खोपको पहिलो विक्रि डिसेम्बरको पहिलो वा दोस्रो सातामा हुने अनुमान गरिएको छ । सबैभन्दा पहिला अमेरिकामा यो खोप आउने अपेक्षा गरिएको छ । एकैपटक धेरै संख्यामा खोप उत्पादन हुन नसक्ने भएकाले सबै मुलुकले पाउनेदेखिएको छैन ।

भारतले पनि कोरोना खोप फ्रेबुअरीको दोस्रो साता मात्रै आम नागरिकलाई उपलब्ध हुन सक्ने अनुमान गरेको छ । नेपालमा भने खोप कहिले आउछ भनेर एकिन भएको छैन । नेपालले अमेरिकी कम्पनी मोर्डनाको खोपलाई पछ््याईरहेको छ । भण्डारण गरेर राख्न अन्य खोप माइनस ७० डिग्रीसम्मको चिसोमा राख्नुपर्ने कम्पनीले बताएका छन् । स्वास्थ्य तथा जनंसख्या मन्त्रालयले भने मोर्डनाको खोप अलिक कम चिसोमा पनि राखे हुने भन्ने कुरा आएकाले सो खोपको प्रतिक्षामा रहेको जानकारी दिएको छ ।

स्वास्थ्य भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने बताएका छन् । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न दृढ भएर लागेको उल्लेख गर्दै त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताए । मन्त्रालयका अनुसार सन् २०२१ को पहिलो चौमासिक भित्र खोप आउन सक्ने अनुमान गरेका छन् ।

नेपालले अहिलेसम्म कुल जनसंख्याको ७२ प्रतिशतलाई सरकारले नै भ्याक्सिन दिने योजना बनाएको छ । यसका लागि ४८ अर्ब नेपाली रुपैयाँ लगात अनुमान गरिएको छ । एक भाइरल खोपलाई औसतमा १० डलरको मुल्य राखेर यो लागत अनुमान निकालेपनि कम्पनीले नै त्यो भन्दा मंहगो मुल्य हुन सक्ने जानकारी दिईसकेका छन् । सरकारले भने नेपाल सरकारकै स्रोत बाहेक राष्ट्रसंघीय निकाय र वैदेशिक संस्थाहरुसँग सहयता पनि लिने तयारी गरेको छ ।

प्रतिक्रिया