बार्सिलोना अपराजित रहने लक्ष्यमा

लण्डन । क्याटलान क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूहको चौथो खेलमा डिनामो किएभको सामना गर्दैछ । बार्सिलोनाको प्रशिक्षक रोनाल्ड कोम्यानले खेलको पूर्वसन्ध्यामा च्याम्पियन्स लिगमा खासै दबाब नभएका कारण कप्तान लिओनेल मेस्सीलाई विश्राम दिने निर्णय सार्वजनिक गरेका थिए । उनले कप्तानसँगै मिडफिल्डर फ्रान्की डे जोङलाई पनि विश्राम दिएका छन् । डिफेन्डरद्वय सर्जी रोबर्टो र जेरार्ड पिके एटलेटिको विरुद्ध खेलमा घाइते भएका थिए । यी दुवै लामो समय मैदानबाहिर रहने छन् । मिडफिल्डर ओस्मान डेम्बेले भने काँधको चोटका बाबजुद टोलीमा समेटिएका छन् ।

‘ हामीसँग चोटका कारण केहि मुख्य खेलाडी बाहिर छन् । किएभविरुद्ध मेस्सी र डे जोङलाई विश्राम दिने निर्णय गरेका छौं । च्याम्पियन्स लिगमा हामीलाई केहि सहज अवस्था छ । ९ अंक जोडेकोले खासै चिन्ता लिनुपर्ने छैन । यी दुई खेलाडीले लगातार खेलिरहेकाले पनि विश्राम दिनुपर्ने छ ।’ प्रशिक्षक कोम्यानले १९ खेलाडी सम्मिलित टोली घोषणा गर्दै किएभविरुद्ध तयारी पूरा भएका जनाए । गोलरक्षक मार्क आन्देर टेर स्टेगन एटलेटिकोविरुद्ध खराब प्रदर्शनपछि टोलीमा समेटिएका छन् । यस्तै एन्टोइन ग्रिजमन र पेड्रीले टोलीको आक्रमण सम्हाल्ने अनुमान गरिएको छ । अन्सु फाती चोटकै कारण लामो समयका लागि विश्राममा छन् ।

किएभका लागि पहिलो रोजाइका नौ खेलाडी कोरोना संक्रमणका कारण अनुपस्थित रहने सम्भावना छ । यस्तै मिकिता बुर्दा, भोलोदिमिर कोस्तेभिच, ओल्क्जेन्दर तिम्सिक र नाजारी रुसिन पनि चोटका कारण बाहिर रहेका छन् । यसअघि भएको भिडन्तमा बार्सिलोनाले २(१ को जित दर्ता गरेको थियो । उक्र खेलमा गोल गरेका डिफेन्डर पिके र कप्तान मेस्सी दुवै बार्सिलोनासँग उपलब्ध छैनन् । बार्सिलोनाले हालसम्म किएभविरुद्ध खेलेको सबै खेलमा जित हासिल गरेको छ । सबै खेलमा कम्तिमा २ गोल गरेको रेकर्ड पनि बार्सिलोनासँग छ । यस सिजन सुरुवाती तीनै खेलमा जित हासिल गरेको बार्सिलोना सोहि लयलाई निरन्तरता दिने सुरमा हुनेछ । यस खेलमा जित हासिल गरे बार्सिलोना अर्को चरणमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया