अन्तरजातिय बिवाहले जन्माएको चलचित्र ‘नदेखिएको जात’

काठमाडौं । अन्तरजातिय बिवाह गरेकै कारण निलम सुनाम र बेदप्रसाद भुर्तेल परिवार र समाजले उनिहरुलाई गाउँबाट खेदेको पनि १५ वर्षभन्दा बढी भइसकेको छ । यो अवधिमा परिवारबाट अलग भएर समाज परिवर्तनको संघर्षमा निरन्तर लागिपरेका उनिहरुले भोगेका पीडादायक दिनहरु र संघर्षले सिकाएका विविध कष्टकर क्षणलाई समेटेर चलचित्र ‘नदेखिएको जात’ निर्माण भएको छ ।

झापा, अर्जुनधाराकी निलम सुनाम दर्जीसँग प्रेम विवाह गरेका बेद प्रसाद भुर्तेलको जीवन कथा कहाली लाग्दो भएको हो । अन्तरजातिय बिवाह सम्बन्धलाई समाजले अभैm स्वीकार्न सकिरहेको छैन । कानूनी रुपमा देशमा धर्मनिरप्रेक्ष र छुवाछुतको अन्त्य भएको यतिका वर्ष बितिसक्दा पनि यो कुसंस्कार हट्न सकेको छैन ।

बिवाह दर्ता गरेको केही महिनामा नै जिल्ला अदालत विराटनगरबाट सम्बन्ध विच्छेद भएको थियो । कानूनी रुपमा सम्बन्ध विच्छेद भए पनि निलम र भुर्तेलको सम्बन्ध चाहीँ कायमै थियो । उनिहरुको ५ वर्षका एक छोरा छन् जसको जन्म दर्ता समेत भईसकेको छ । घरपरिवारले अहिलेसम्म यो जोडीलाई घर भित्र्याएको भने छैनन् ।

हाम्रो समाज बाहिरबाट हेर्दा जति सरल जस्तो देखियता पनि भित्र कति जरजर र अन्धविश्वासमा बाचिरहेका छाँै भन्ने कुरा निलम सुनाम दर्जी र बेदप्रसाद भुर्तेलले प्रेम बिवाह गरेकै कारण यो ढोंगी समाजबाट भागीभागी हिँड्नु परेको बास्तविकताबाट प्रष्ट हुन्छ ।

यही बास्तविक घटनाक्रमलाई जस्ताको तस्तै पर्दामा हेर्न पाइने भएको छ चलचित्र ‘नदेखिएको जात’मा । उक्त चलचित्रमा बास्तविक जोडी बेदप्रसाद भुर्तेल, निलम दर्जी लगायत संजोग राणा, जाहान्वी वस्नेत, लय संग्रौला, बिशाल पहाडी, अनिता केसी, रुकु बिष्ट, किरण थापा, चन्द्रमान स्याङ्गतान, बिष्णु गिरी, विकास नेपाल, बिपिन्द्र थापा आदिको अभिनय रहेको छ ।

‘नदेखिएको जात’ चाडै नै दर्शकमाझ आउने र समाजमा संकुुचित भावनाबाट ग्रसितहरुको चेतना बृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास निर्माणपक्षको छ भने राज्यले यो चलचित्र शहरदेखि ग्रामिण वस्तिहरुसम्म प्रदर्शनमा विशेष पहल गर्नुपर्ने माग उनिहरुको छ ।

प्रतिक्रिया