लक डाउनमा ९५ सुत्केरीको मृत्यु

कमला गुरुङ

सरकारले कोरोना महामारी तथा लक डाउनमा सुत्केरीका लागि विशेष व्यवस्था गर्न नसक्दा नै मातृ मृत्युदर बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती भन्छिन्, ‘लक डाउनमा सरकारले विशेष किमिसको व्यवस्था गर्नुपथ्र्यो तर, त्यसो भएन ।’ लक डाउनमा मृत्यु भएका धेरैजसो सुत्केरीले समयमै उपचार सेवा पाए उनीहरूलाई बचाउन सकिने डा. उप्रेती बताउँछिन् ।

गत जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरीको मृत्यु भयो । शिशुलाई जन्म दिएको नौ दिनपछि उनले ज्यान गुमाउनु प¥यो । उनको मृत्युको कारण थियो, कोरोना भाइरसको संक्रमण । ती सुत्केरी नै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुने पहिलो व्यक्तिसमेत हुन् । डोल्पाको ठूलीभेरी नगरपालिका–६ दुरगाउँकी एक महिलाले समयमै उपचार नपाउँदा चैत ३० गते ज्यान गुमाइन् । यो बेला नेपालमा पहिलोपटक लक डाउन भएको २० दिन भएको थियो । शिशुको जन्मपछि अत्यधिक रक्तश्राव बढी भएर गम्भीर अवस्थामा पुगेकी उनले लक डाउनका कारण समयमै उपचार सेवा पाउन सकिनन् । त्यसको करिब डेढ महिनापछि संखुवासभा खाँदबारी नगरपालिका–६ की एक ३२ वर्षीया सुत्केरीले पनि समयमै उपचार नपाउँदा जेठ १० गते ज्यान गुमाइन् । संखुवासभाबाट हेलिकोप्टरमार्फत उद्दार गरी काठमाडौं ल्याइए पनि उनको ज्यान जोगिन सकेन । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटर खोज्दा खोज्दै उनको मृत्यु भएको थियो ।

नेपालमा माघ १० गते पहिलो कोरोना संक्रमित भेटिएको दुई महिनापछि चैत ११ गते लक डाउन गरिएको थियो । कोरोनाको नियन्त्रणका लागि भन्दै सरकारले लक डाउन त ग¥यो तर त्यसको प्रभाव सुत्केरी तथा गर्भवतीमा प¥यो । परिणास्वरूप साविकको भन्दा उक्त अवधिमा ज्यान गुमाउने सुत्केरीको संख्यामा वृद्धि भयो । डोल्पा र संखुवासभाका सुत्केरी पनि यसकै उदाहरण हुन् ।

गर्भास्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्युदर भनिन्छ । लक डाउनको समयमा बढेको मातृ मृत्युदुर चिन्ताजनक छ । उक्त अवधिमा भएको मातृ मृत्युदरको संख्या सामान्य छैन । करिब पाँच महिना भएको लक डाउनको अवधिमा ९५ जना सुत्केरीले ज्यान गुमाएका छन् । चैतदेखि साउन महिनाको अवधिमा ९५ जना सुत्केरीको मृत्यु भएको परिवार कल्याण महाशाखाको तथ्यांक छ । जबकी गत वर्षको यही समयमा ज्यान गुमाउने सुत्केरीको संख्या ७६ थियो । असार महिनामा ज्यान गुमाउने सुत्केरीको संख्या धेरै छ । असारमा मात्रै २७ जना सुत्केरीको मृत्यु भएको छ, जबकी यो संख्या अघिल्लो वर्षको करिब दुई गुणा बढी हो । गत वर्षको तुलनामा यस वर्ष मातृ मृत्युदर बढेको सरकारी तथ्यांकले नै पुष्टि गर्छ ।

कुन महिनामा कति सुत्केरीको मृत्यु

परिवार कल्याण महाशाखाको मातृ तथा नवजात शिशु शाखा प्रमुख डा. पुण्या पौडेलका अनुसार लक डाउनमा भएका सुत्केरीको मृत्युको प्रमुख कारण समयमै उपचार सेवा पाउन नसक्नु र अत्यधिक रक्तश्राव हो । यातायातको समस्या, समयमै स्वास्थ्य संस्था पुगे पनि सेवा पाउन नसक्दा सुत्केरीको मृत्यु भएको पाइएको उनले बताइन् । उनले भनिन्, ‘लक डाउनमा भएको मातृ मृत्युरको समीक्षा गर्दा अत्यधिक रक्तश्राव हुने र विभिन्न ढिलाइ कारण भएको देखिन्छ । उपचार सेवा पाउनमा ढिलाइ, निर्णय गर्नमा ढिलाइ अनि यातायात सेवाको समस्या र समयमै स्वास्थ्य संस्थामा पुगे पनि विभिन्न कारण सेवा पाउन नसक्नु देखिन्छ ।’

लक डाउनमा बढेको मातृ मृत्युदरपछि महाशाखाले एउटा एक्सन प्लानसमेत बनाएको थियो । उक्त प्लानअन्तर्गत तत्कालीन र दीर्घकालीन समयमा गर्नुपर्ने कामहरू उल्लेख भएको उनले बताइन् । धेरैजसो सुत्केरीको मृत्यु मेडिकल कलेजहरूमा हुने गरेको भन्दै जनकपुर प्रादेशिक अस्पताल, जनकपुर मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, कोसी अस्पताल, चितवन मेडिकल कलेज, सेती प्रादेशिक अस्पताल, कोहलपुर मेडिकल कलेज, भेरी अस्पतालमा अभिमुखीकरण तालिम दिएको महाशाखाले जनाएको छ । ती अस्पतालका स्वास्थ्यकर्मीहरूलाई उपचार सेवामा अस्पताल कहाँ चुके, अत्यधिक रक्तश्राव हुँदा के गर्ने लगायतका विषयमा अभिमुखीकरण गरिएको उनले बताइन् ।

सरकारले कोरोना महामारी तथा लक डाउनमा सुत्केरीका लागि विशेष व्यवस्था गर्न नसक्दा नै मातृ मृत्युदर बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती भन्छिन्, ‘लक डाउनमा सरकारले विशेष किमिसको व्यवस्था गर्नुपथ्र्यो, तर त्यसो भएन ।’ लक डाउनमा मृत्यु भएका धेरैजसो सुत्केरीले समयमै उपचार सेवा पाए उनीहरूलाई बचाउन सकिने डा. उप्रेती बताउँछिन् । लकडाउनजस्तो विषम परिस्थितिमा सरकारले सुत्केरी र प्रजनन् स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा उनी जोड दिन्छिन् । ‘धेरैले समयमै उपचार सेवा पाउन नसक्दा हुने जटिलताका कारण लक डाउनमा ज्यान गुमाएका छन् । सरकारले यस्तो विषयमा परिस्थितिमा सुत्केरी तथा गर्भवतीलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ’, उनले भनिन् ।

नेपालमा मातृ मृत्युदर घटाउने विभिन्न प्रयास भए पनि घट्न सकेको छैन । असुरक्षित गर्भपतन, बालविवाह, कलिलो उमेरमा हुने गर्भधारण, सुत्केरी जटिलता लक्ष्य प्राप्तिमा ठूलो चुनौती हो । कोरोना महामारीका कारण मातृ मृत्युदर घटाउने लक्ष्य सरकारको लागि चुनौतीको पहाड बनेको छ । सन् २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा प्रतिलाख २ सय ३९ सुत्केरीले ज्यान गुमाउने गरेका छन् । सन् १९९६ मा नेपालमा एक लाख जीवित शिशु जन्मँदा ५ सय ३९ जना सुत्केरीको मृत्यु हुन्थ्यो ।

दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा मातृ मृत्युदर प्रतिलाख ७० जनामा झार्ने लक्ष्य छ । बढ्दो मातृ मृत्युदर सरकारका लागि चिन्ता र चुनौती दुवैको विषय बनेको छ । मातृ मृत्युदर बढ्दै जानु भएको सरकारको लागि चुनौतीको विषय हो । हामी मातृ मृत्युदर कसरी घटाउने भनेर अघि बढिरहेका छौँ । यसरी मृत्युदर बढ्नु भनेको लक्ष्य प्राप्त गर्न गाह्रो देखिन्छ । मातृ मृत्युदर घटाउन सरकारले गरेको प्रयास र उपलब्धि गुम्ने खतरा बढेको छ ।

प्रतिक्रिया