कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–४ मा रहेको श्री नवज्योति आधारभूत विद्यालयमा ९ वर्षमा एक चोटी सार्वजनिक सुनुवाई गरिएको छ । स्थानिय अविभावक र विद्यार्थीहरुबाट चर्कोे आलोचना भएपछि स्थानियको मन शान्त पार्न सार्वजनिक सुनुवाई गरिएको हो । आर्थिक वर्ष २०६९–०७० देखि २०७६–०७७ को सोमबार एक कार्यक्रमको आयोजना गरि विद्यालयका गतिविधी र हालसम्म भएका कार्यहरुको कार्य विवरण प्रस्तुत गरिएको थियो ।
विद्यालयमा आउने खाजा भत्ता र अन्य तलवी रकममा भने ठूलो अनियमितता देखिएको छ । विद्यालयका प्रधानाध्यापक रामबहादुर बोगटीको नाममा मात्र हालसम्म ८ लाख ३२ हजार रुपैयाँ बेरुजु पाइएको छ । विद्यालयका कर्मचारीहरुको तलब आफूले दिन्छु भन्दै नक्कली भरपाई मिलाएर तलब नदिई स्वयम् प्रधानाध्यापकले नै हिनामिना गरेको शिक्षक र अविभावकले आरोप लगाएका छन् ।
प्रधानाध्यापक बोगटीले अबको १५ दिनमा सम्पूर्ण विल भरपाई खोजे हिसाव मिलाउने र यद्यपी आफ्नो व्यक्तिगत रकम भएपनि विद्यालयमा जम्मा गर्ने प्रतिवद्धता जनाएका छन् । साथै, खाँडाचक्र नगरपालिका–४ का वडाध्यक्ष धनसिंह कामीले पनि विद्यालयको रकमबाट ३ लाख २४ हजार ५ सय रुपैयाँ सापटी लिएको खुलेको छ । केही समयपछि वडाध्यक्ष कामीले १ लाख ६४ हजार ५ सय रुपैयाँ फिर्ता दिएका थिए ।
तर, १ लाख ६० हजार रुपैयाँको भने अहिलेसम्म अत्तोपत्तो छैन । वडाध्यक्ष धनसिंक कामीले भने, ‘मैले तिर्न एक लाख रुपैयाँ मात्र बाँकी छ, ६० हजार रुपैयाँको विलभरपाई दिएको थिएँ, तर विद्यालय प्रशासनले उक्त विल भरपाई कता फाले थाहा भएन ।’ अबको १५ दिनमा १ लाख ६० हजारको हिसाव विद्यालय प्रशासनलाई बुझाउने कामीले बताए ।
विद्यालयमा दरबन्दीको अभाव
नवज्योति आधारभूत विद्यालयमा ५ जनाको दरबन्दी भएपनि हाल एक जना मात्र दरबन्दीमा कार्यरत छन् । १ जनाको दरबन्दी हुँदा जे गर्दा पनि हुने भन्दै स्थानीय नागरिक आक्रोसित बनेका छन् । हाल ४ जना निजी श्रोतबाट, १ जना इसिडी शिक्षा र १ जना कार्यालय सहयोगी रहेका छन् ।
२ सय १६ जना विद्यार्थि रहको उक्त विद्यालयमा भौतिक पूर्वाधारको अवस्था जिर्ण छ । भवनको पनि राम्रो सुविधा छैन । विद्यार्थीहरु खुल्ला आकाशको मैदानमा बसेर अध्ययन गर्नुपर्ने बाद्यता छ । कक्षा १ देखि ५ सम्म अध्ययन हुने नवज्योतिमा सबै लथालिंग रहेको स्थानिय नागरिकहरुले बताएका छन् ।
सामाजिक अभियान्ता बाले विश्वकर्माले विद्यालयमा लेखा प्रर्णालीमा हेलचक्राई, पारदर्शीतामा अभाव, विद्यालय व्यवस्थापन कक्षा कमजोर रहेको र सिकाई उपलब्धी मापदण्ड अनुसार शून्य रहेको बताए । उनले भने, ‘विद्यालयमा सार्वजनिक सुनुवाई नहुनु, खाजा रकमलगाएत अन्य विकासी बजेट र कर्मचारीको तलबमा समेत अनियमितता हुनु भनेको विद्यालय क्षेत्र दिनप्रतिदिन गुज्रीदै जानु हो, समयमै सचेत भएर सबै नागरिक लागिनपरे विद्यालय हैन भष्ट्रचारको थलो हुने पक्का छ ।’
कर्मचारीको नियुक्ती पछि तलब अघि
उक्त विद्यालयमा कार्यरत एक कर्मचारीको नियुक्ती पछिल्लो महिना तर, तलब अघिल्लो महिनादेखि गएको छ । २०७४ साल मंसिर २५ गते निजी श्रोतबाट एक जना शिक्षक नियुक्तीमा विद्यालयले चरम लापरबाही गरेको छ ।
विद्यालयका शिक्षक हस्त विश्वकर्मालाई २०७४ मंसिर २५ गते नियुक्ती गरिएको थियो । तर, असोज महिनाबाट नक्कली भरपाई गरेर २५ हजार रुपैयाँ किर्ते कागज मिलाई रकम पचाएको देखिन्छ ।
शिक्षक विश्वकर्माले भने आफूले कुनै पनी रकम नलिएको, किर्ते हस्ताक्षर गरेर आफ्नो नाममा तलब लिइएको बताएका छन् । उनले विद्यालय व्यवस्थापनका अविभावक तथा विद्यार्थीहरुले खाजा रकममा समेत अनियमितता गरेको आरोप लगाएका छन् ।
कालिकाेट
प्रतिक्रिया