प्राचीन रोमन नगरमा ज्यान गुमाएका मालिक र सेवकको अवशेष भेटियो

एजेन्सी । पुरातत्त्वविद्हरूले प्राचीन रोमन नगर पोम्पेईमा झन्डै २,००० वर्ष पहिले विस्फोटन भएको ज्वालामुखीका कारण ज्यान गुमाएका दुई मानिसको अवशेष फेला पारेका छन् । पोम्पेई पुरातात्त्विक पार्कका अधिकारीहरूका अनुसार तीमध्ये एकजना सम्भवतः धनाढ्य व्यक्ति र अर्का उनका सेवक हुन् ।

पार्कका निर्देशक मास्सिमो ओसान्नाले उनीहरू ज्वालामुखीबाट जोगिने उपाय खोज्दाखोज्दै प्रकोपमा परेको हुनसक्ने बताए । पोम्पेईमा सन् ७९ मा भेसुभिअस पर्वतबाट विस्फोटन भएको ज्वालामुखीका कारण प्रभावित भएको थियो ।

उक्त ज्वालामुखीका कारण पोम्पेई खरानीले पुरियो अनि पूरै नगर र नगरवासीलाई जमाइदियो । अहिले उक्त स्थान पुरातात्त्विक अध्ययनका लागि उपयुक्त देखिएको छ । पोम्पेई नगरको बाहिरी भागको एउटा ठूलो स्थानमा यो महिना गरिएको उत्खननका क्रममा पछिल्लो अन्वेषण भएको हो।

के भेटियो ?

अहिले अवशेष भेटिएकामध्ये धनाढ्य ठानिएका व्यक्तिको उमेर ३० देखि ४० वर्ष भएको अनुमान गरिएको छ। उनको गर्धन तल न्यानो खालको कपडाको निसान भेटिएको छ ।

अर्का व्यक्तिको उमेर १८ देखि २३ वर्षको रहेको बताइएको छ । पुरातात्त्विक अधिकारीहरूका अनुसार ती व्यक्तिको पिठिउँको करङले उनी सेवक भएको संकेत दिएको छ।

ज्वालामुखीबाट निस्किएको भस्म शरीरमा जम्दा बनेको संकेतका आधारमा ती दुईको शरीरको आकृति बनाइएको थियो । निर्देशक ओसान्नाले संवाददाताहरूलाई भने, ‘यो ऊष्ण तापका कारण भएको मृत्यु हो, कक्रक्क परेका हात र खुट्टाले त्यो संकेत गरेको छ ।’

उनले उक्त खोजलाई ज्वालामुखी विस्फोटन भएको बिहानको असाधारण र अविश्वनीय प्रमाणको रूपमा प्रस्तुत गरे । नेपल्सनजिकै अवस्थित उक्त पुरातात्विक क्षेत्रमा उत्खननको काम जारी छ । तर, उक्त स्थान कोरोना भाइरस महामारीका कारण पर्यटकहरूका लागि अझै बन्द छ । – बीबीसी

प्रतिक्रिया