डिआरका तीन कृति विमोचित

ललितपुर । साहित्यकार डिआरद्वारा लिखित ‘सेन्टोसा’ (यात्रा संस्मरण), ‘समयको डोब’ (अनुभव एवं अनुभूति) र ‘भूइँचम्पा’ (गीति एल्बम) को सार्वजनिक गरिएको छ । कोरोनाका कारण सामाजिक दुरी कायम गर्दै पाटन मंगलबजारस्थित आफ्नै निवासमा शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीले ती कृतिको विमोचन गरे । शंकर लामिछाने प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रममा जोशीले यात्रालेखन अत्यन्त उत्तरदायीपूर्ण लेखन भएको विचार व्यक्त गरे । उनले कोरोना कहरका बीच पनि अन्य गतिविधिजस्तै नेपाली साहित्यका विविध कार्यक्रम भएकोमा खुसी व्यक्त गरे ।

जोशीले भने, ‘नेपाली साहित्यलाई अनुवादका माध्यमबाट विदेशमा पु¥याउनुपर्ने आवश्यकता छ । त्यसो भएमा मात्र नेपाली साहित्यका माध्यमबाट हामीले देशको पहिचानलाई विश्वव्यापी बनाउन सक्छौँ ।’ सो कार्यक्रममा विमोचित कृतिमाथि टिप्पणी गर्दै समालोचक प्रमोद प्रधानले साहित्यकार डिआरका कृतिहरूको समीक्षा गर्दै ‘सेन्टोसा’ विषयवस्तुको चयन, त्यसको प्रस्तुति र भाषा सबै दृष्टिकोणबाट महत्वपूर्ण रहेको जिकिर गरे । उनले अघिल्लो यात्रा निबन्धकृति कान्तिपुरदेखि सन्दकपुरसम्म भन्दा यो निकै फराकिलो, गहन र बोधगम्य रहेको भनाइ राखे । त्यस्तै, लेखको पेशागत संघर्षका विषयलाई ‘समयको डोब’ ले उजागर गरेको बताए । उनले सो कृतिमा फोटोग्राफी पेशामा संलग्न हुँदाका संघर्षलाई अभिलेखन गरिएको विचार राखे ।

शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले डिआरका कृतिले नेपाली साहित्य तथा सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिएको बताए । उनले संस्थाले अहिले नेपाली निबन्ध र यात्रालाई अंग्रेजीमा अनुवाद गर्ने कार्यलाई अघि बढाएको जनाए । उनले भने, ‘शंकर लामिछानेको एब्स्ट्रयाक्ट चिन्तन प्याजको अंग्रेजी अनुवाद प्रकाशनको क्रममा रहेको र नेपाली नियात्राको प्रतिनिधिमूलक अंग्रेजी अनुवादको काम अघि बढेको छ ।’

सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का वरिष्ठ उपाध्यक्ष साहित्यकार बाबा बस्नेत, कथाकार किशोर पहाडी, निबन्धकार युवराज नयाँघरे, संगीतकार तथा सञ्चारकर्मी सरोज कोइराला, पुष्पा खनाल र प्रकाशक बिएन पुस्तक संसारका सूर्य बिसीले विमोचित कृतिकाबारे धारणा राखेका थिए । स्रष्टा डिआरले आफूले अनुभव र संघर्षका विषयवस्तु समेटेर कृति प्रकाशनमा ल्याएका बताए । डिआरको सेन्टोसा दोस्रो यात्रा निबन्धकृति हो ।

समयको डोबमा भने उनको फोटोग्राफी यात्राको कथासँगै विभिन्न व्यक्तिको विचार समेटेका छन् । गीति एल्बम भूइँचम्पामा विभिन्न संगीतकारको संगीतमा विभिन्न गायक गायिकाले गाएका सातओटा गीत समोवश गरिएको छन् । गीतमा संगीतकार सन्तोष श्रेष्ठ, मनराजा नकर्मी, ज्योतिप्रकाश, महेश खड्का, कुवेर राई र सरोज कोइरालाको संगीत रहेको छ । गीतमा गायिका संगीता प्रधान, सञ्जीवनी, उदय सोताङ र मनिला सोताङ, अञ्जु पन्त र यम बराल, कुवेर राई, आनन्द कार्की र मेलिना राईको आवाज रहेको छ ।

सोही अवसरमा शताब्दी वाङ्मय पुरुष जोशीलाई विशेष सम्मान गरिएको थियो । त्यस्तै साहित्यकार प्रमोद प्रधान र सर्जक राईलाई समेत सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष लेकालीले जानकारी दिए ।

प्रतिक्रिया