नेकपा विवाद : केन्द्रबाट कार्यकर्तामा पुग्यो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को लामो समयदेखीको विवाद कार्यकर्तास्तरसम्म पुगेको छ । केन्द्रमा देखिएको खिचातानी र विवादको चुरो अब जिल्लास्तरका कार्यकर्ताबीच पुगेको हो । १० दिने युद्धविराम भईरहेका बेला शनिवार केन्द्रका नेता जिल्ला जिल्ला पुगेका थिए ।  नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे गृहजिल्ला चितवन पुगेका बेला नेकपाकै कार्यकर्ताले उनलाई अवरोध गरेका छन् । विकास निर्माणका आयोजनाका विषयमा कार्यक्रम गर्न पुगेका उनले पार्टी कै नेताविरुद्ध बोल्न थालेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली समर्थकले नाराबाजी गरेका हुन् । वरिष्ठ नेता माधवकुमार नेपाल समुहका पाण्डेलाई ओली समर्थक कार्यकर्ताले गुटको प्रचार गरेको र एकताविरोधी गतिविधी गरेको आरोप लगाएका छन् । पाण्डेले भने ओली पक्षीय नेता कार्यकर्ता र अर्को नगरपालिकाका मान्छे आएर विरोध गरेको जानकारी दिए ।

नेकपाको ८ महिना लामो यो विवाद कार्यकर्तामाझ पुगेको पहिलो पल्ट हो । अब नेकपाका नेताहरुले जिल्लामा जाँदा वा कार्यक्रम गर्दा पनि अर्को पक्षको अवरोधको सामना गर्नुपर्ने हो कि भन्ने देखिएको नेताहरु बताउछन् । विवाद विगतमा विभिन्न प्रतिष्ठान र संघका कार्यक्रमबाट पुगेपनि पहिलो पटक सार्वजनिक रुपमा देखिएको हो । कार्यकर्तातहमा विवाद पुगेपनि केन्द्रमा अझै सहमतिको सम्भावना कम देखिएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीमाथी आरोप लगाएपछि यो विवाद झनै बढेको छ । ओलीले दाहालको आरोपको जवाफ दिने भन्दै यसअघि नै स्पष्ट पारेकाले १३ मंसिरको सचिवालयपछि झनै बढ्ने देखिएको छ । तर, ओली पक्षका नेताहरुले दाहालले आरोपपत्र फिर्ता लिए सहमतिबाट अगाडी बढ्न सक्ने बताउदै आएका छन् । दाहाल पक्षका नेताले भने पत्र फिर्ता नलिने सार्वजनिक रुपमा भन्दै आएका छन् ।

ओली पक्षका नेता भनेर चिनिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दाहाललाई जवाफ दिएपछिमात्रै एकीकृत दस्तावेज बन्न सक्ने धारणा राख्दछन् । ‘प्रचण्डले बैठकमा आरोपपत्र प्रस्तुत गर्नुभएको हो । त्यसलाई दस्तावेज भन्न मिल्दैन । प्रतिवेदनमा एउटा अध्यक्षले अर्को अध्यक्षको हुर्मत लिने कुरा आउँछ र ?’, उनी भन्छन्, ‘सचिवालयमा प्रस्तुत हुने दस्तावेज, राजनीतिक प्रतिवेदन दुईजना अध्यक्षको सहमतिमा आउनुपर्छ । त्योभन्दा अगाडि पाँचौं स्थायी कमिटी बैठकमा दुईजना अध्यक्ष सहमत नभएकाले प्रतिवेदन नै आएन ।’

यद्यपी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रतिवेदन फिर्ता गराउने पक्षमा जुटेका छन् । दाहालसँग छुट्टा छुट्टै छलफल गरेका दुवै नेताले प्रतिवेदन फिर्ता लिन आग्रह गरेका छन् । यता, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने प्रतिवेदन फिर्ता गर्ने पक्षमा देखिएका छैनन् । उनिहरुले बैठकबाटै अगाडी बढ्ने नीति लिएको एक नेताले जानकारी दिएका छन् ।

नेकपाको सचिवालय बैठकमा सदैव निर्णायक भूमिकामा रहेका उपाध्यक्ष बामदेव गौतमले भने पार्टी फुट्न नदिने बताएका छन् । दाङमा शनिवार आयोजित कार्यक्रममा उनले आफू पार्टीको कुनै गुटमा नरहेको बताउदै पार्टी एकताको पक्षमा रहेको बताए । गौतमले अहिले पार्टीमा समस्या देखिएको भन्दै त्यो समस्या समाधान गर्न आफू निरन्तर लागिरहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया